राष्ट्रपति पदमै भएको बेलामा थाइलेण्डका राजदूतलाई गुहारेर धनुषामा चिहान बनाउने राष्ट्रपति डा.रामवरण यादवले पढेको यो स्कूल सरस्वती मावि जीर्णोद्धारको पर्खाइमा छ, कहिले पनि यादवले हेरेनन् ।
त्रेतायुगदेखि ज्ञानको केन्द्रका रूपमा रहेको जनकपुर तर प्रदेश दुईको राजधानी जनकपुरको देशका राष्ट्रपति भएका व्यक्ति उत्पादन गर्ने स्कूलको हालत यस्तो छ भने यहाँ शिक्षाको हालत र शिक्षकको स्थिति कस्तो होला ?
जनकपुरमा केही छ भने राजनीति छ । राजनीतिबाहिर कालोधन्दा छ, कूशासन छ । व्यापार छ, दलाली छ, बाँकी अव्यवस्थामात्र छ । जनकपुरमा विद्यार्थी छन्, शिक्षा छैन । स्कूल, कलेज छन्, अव्यवस्थित छन् । यहाँको रानजीतिक, सामाजिक स्थिति के कस्तो होला, त्यसको सामान्य झलक यही स्कूलको गति हेर्दा अनुमान गर्नसकिन्छ । जुन प्रकारले सबैभन्दा पुरानो स्कूल जीर्ण बनेको छ, जनकपुरको हालत पनि जीर्ण बन्दै गएको छ । सोच्ने कोही छैन ।
शिक्षकहरू बताउँछन्, कसैले पनि यो भवन जिर्णोदार गर्न सघाउँदैनन् । स्थानीय निकायहरूले पनि वास्ता गरेनन् । केन्द्रले पनि गरेन । जनकपुरका ठूला ठूला नेताहरूले पनि यसबारे सोचेनन् ।
एक शिक्षकले बताए– राणा शासनविरूद्धको आन्दोलन उत्तराद्र्धमा रहेको समयमा रामस्वरूप सागरले दिएको जग्गामा विसं २००४ सालमा स्थापना भएको स्कूल हो यो । प्रजातान्त्रिक आन्दोलनमा विद्यालयको उल्लेख्य योगदान रहेको थियो । यही विद्यालयले उत्कृष्ट चिकित्सक, शिक्षक उत्पादन गर्नुका साथै देशको राजनीतिक बागडोर सम्हालेका कतिपय राजनीतिज्ञ समेत विद्यालयमा अध्ययन गरेको इतिहास छ । यही विद्यालयले देशको राष्ट्रपतिसमेत उत्पादन ग¥यो, तर बुढो भएपछि यो स्कूललाई कसैले हेरेनन् ।
गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरू उत्पादन गर्ने स्कूल यही हो । यिनले आफ्नो उन्नति त देखे, स्कूललाई फर्केर हेरेनन् ।
जसले आफ्नो जग हेरे, आफूलाई बनाउने स्कूलको जग हेरेनन्, तिनले देशको जग हेर्लान् र ?
प्रधानाध्यापक सत्यनारायण मण्डल स्कूलको यो बेहालत देखेर चिन्ता गर्छन् । स्कूलमा पढ्ने पढाउने भौतिक पूर्वाधारको कमीबारेमा पनि बताउँछन् तर उनको आर्तनाद जनकपुरदेखि राजधानी कहिले पनि पुगेन ।
प्रधानाध्यापक मण्डल भन्छन्– पूर्व राष्ट्रपति डा. रामवरण यादवले अनुगमन गरेर एकपल्ट केही सहयोग जुटाइदिएका थिए, जसले केही सहयोग त भयो, त्यसपछि फर्केर पनि आएनन्, हेरेनन् ।
यति पुरानो स्कूलको सबैभन्दा ठूलो समस्या भनेको शौचालय हो । स्कूलमा शौचालयकै प्रवन्ध हुनसकेको छैन भने बाँकी शिक्षाको हालत कस्तो होला ?
प्रधानाध्यापक भन्छन्– प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छात्राहरूलाई साइकल वितरण गर्नु अतिरिक्त कुनै सहयोग गरेको छैन । प्रदेश सरकारबाट धेरै आशा राखेको हो, अहिलेसम्म निराश पा¥यो ।
प्रधानाध्यापकले गजबको कुरा बताए । उनका अनुसार सामाजिक विकास मन्त्रालयले महिलामैत्री शौचालय बनाइदिने भनेर गरेको प्रतिबद्धता दुई वर्ष बित्दा समेत कार्यान्वयनमा आउन सकेन । देशको मन्त्रालयले गरेको प्रतिवद्धता पूरा हुँदैनन् भने शासन प्रशासनको हालत के होला ? प्रदेश सरकारले पूर्वाधार बनाइदिने, शिक्षकको व्यवस्था गरिदिने भनेर गरेको प्रतिवद्धता पनि हरिहल्लै अवस्थामा छ ।
झण्डै हजार विद्यार्थी पढिरहेको ऐतिहासिक स्कूलको यो बेहाल देखेर शिक्षा प्रेमीहरूले चिन्ता गर्छन्, तर साधनस्रोत भएकाहरू यो स्कूललाई केही गरौं भन्ने भावना राख्दैनन् ।