banner
banner

नेपालमा चुनाव कस्तो हुन्छ ?

देवी काफ्ले- - - 
हालको प्रदेश छ को रुपन्देही जिल्लाको क्षेत्र नं २ मा नेकपा माओवादीका उम्मेद्वार थिए डाक्टर बाबुराम भट्टराई । नेकपा एमालेबाट उम्मेद्वार थिए बिष्णु पौडेल । दुबैको कडा प्रतिष्प्रधा कडा थियो । जनता डाक्टर भट्टराईसंग धेरै नै आशाबादी थिए । जब जब भट्टराई गाउँ जाने कुरा गर्थे तब जनता अति उत्साहित हुन्थे । सबै उनलाई स्वागत गर्न आतुर हुन्थे । डाक्टर भट्टराईलाई माला लगाईदिन लाम लागेर बसेका हुन्थे । यतिसम्म कि उनिसँग आफुहरुका माग राख्न र दोहोरो कुरा गर्न पाए यसपाली पार्टी नहेरेर उनैलाई भोट दिन तम्तयार थिए । समग्रमा सबैको चाह थिए डाक्टर साब । उनका एजेण्डा, उनको दुरगामी योजना सुनेर सबै मक्ख थिए ।
चुनाव प्रचारप्रसार व्यापक थियो । सुरक्षाकर्मी सहित उनी स्कोरपियो गाडिमा हुईंकिन्थे । बाटोमा लाम लागेर बसेका जनता सौहार्दताले हात हल्लाईरहेका हुन्थे । तर गाडी रोकिदैनथ्यो । एकदिन उनी एउटा थारु गाउंमा पुगे । डेक्चीका डेक्ची भात अनि माछाको झोलपाकेर तयार थियो । त्यहाँ पनि उनलाई साक्षात्कार गर्न गएका सर्वसाधारण त्यहि भात र माछाको झोल खाएर दर्शन मात्रै पाएर फर्कन बाध्य थिए । भित्र साक्षात्कार त उनै अगुवाहरुकै थियो अरुले त मानौ तिरुपति बालाजीको दर्शन गर्न गएका थिए । सर्वसाधारणले भेट्ने, गुनासा राख्ने अवसर थिएन । रातारात डाक्टर साबको गाडिको दर्शन गरि प्रसाद रुपि माछाको झोलसँग चार गाँस भात ज्युनार गर्दै हिडे, उहाँलाई कतिबेर त्यहा राखे थाहा भएन ।
भोलीपल्ट राजमार्गबाट उत्तरतिरको सुकुम्बासी गाउँमा जाने निधो भएछ । बिहान १०–११बजेतिर गाडीहरु हुईंके सुकुम्बासी गाउंमा साक्षात्कार हुन । गाडी मोटरसाइकलको लावालश्कर थियो । नारा लाउदै सुकुम्बासी गाउँ पुगे । लोकल भोजनको तयारी रहेछ । भोजन पश्चात् फेरि नारा लाउदै जुलुस फर्क्यो जे होस् जनताले त्यहाँ पनि तिरुपति दर्शन त गरे तर वरदान माग्ने अवसर पाएनन् ।फेरि अर्को दिन राजमार्गबाट दक्षिणको थारु गाउँ जाने योजना बनेछ । सोही अनुसार १०–११ बजेकै समयमा लावालश्कर हिंड्यो ।त्यहां पनि नयाँ केही भयन उहाँलाई आसित गराईएको गाडिले फन्को मार्यो फर्क्यो । जनताले फेरि पनि तिरुपति बालाजीको दर्शन गरे तर वरदान माग्ने अवसरबाट बन्चित भय । एवं रितले सबै गाउंमा दर्शन गराइयो भुई्मान्छे हातमा माला लिएर बसे अँध्यारो अनुहार सहित लाचार बनेर माला च्याते । तर पनि कोणसभामा उनको भाषण सुन्न उपस्थित हुन्थे बबुराहरु । नहुन् पनि किन ? भुईंमान्छेले केही आशा र अपेक्षा राखेका थिए ।
पर्चा पम्पलेट  यथेष्ट छरिएका थिए,टांसिएका थिए ।खबर आउंथ्यो टांसिएका पम्पेलेट च्यातिएका ।अनि तत्काल टोली खटाएर त्यो क्षेत्रमा पठाईए ।त्यहाका अगुवाहरुलाई कसरी थामथुम पार्थे कुन्नी ? भोलीपल्ट फेरि एमालेले टाँसेका पम्पलेटहरु च्यातिएका खबर आउथ्यो । एवं रितले भब्य प्रचार प्रसार भए । पार्टीको चुनावी कार्यालयमा उनी आउँदा दलबलले घेरेका हुन्थे । 
चुनावी माहोल, खसी, रक्सी चाहियो त्यहाँ तुरुन्तै ब्यवस्था भयो । उनका दलबलका मुखियाहरुका गोजीमा रिचार्जकार्डका ठेली हुन्थे । डिजेल पेट्रोलका कुपन थिए । ती सबै मान्छे हेरि बितरण भए । जहाँ जहाँ बिरोधको आभास हुन्छ त्यहाँ त्यहाँका युवाहरुको जमातलाई बोलाएर नोटका गड्डी उडाइयो अरे । चुनावमा खर्च करोड नाघेको सुन्नमा आयो । पैसा यसरी छरिएको थियो नि जंगलमा सुकेका पत्ता सोहोरेर उडाए जसरी । घेरावालहरुका सानसौकत हेर्न लायक थियो । खै कुन्नी त्यहाँका के के एजेन्डा पुगे, भुइंमान्छेको आवाज उनीकहाँ पुग्नै पाएन ।
मान्छे जुटाउने प्रतिस्प्रधाले घरको काम गर्ने फुर्सद सायद कसैलाई थियो । कैले कुन पार्टीको कैले कुन पार्टीको आमसभा,कोणसभाले कानखायो तर हाम्रा मुल एजेन्डाले आज मात खायो । अन्ततः भोटिङ सकियो । मतगणना भयो डाक्टर बाबुरामले नराम्रो हार बेहोर्नु पर्यो । नेकपा एमाले उमेदवार बिष्णु पौडेलले भारी मतले जिते । जनताको त्यत्रो चाहना हुंदाहुंदै पनि बाबुरामले हार्नुको कारण के थियो त ? म बबुरीले अनुसन्धान त के गर्न सक्नु र ?
नेतृत्व वर्गबाट जनताले धेरै अपेक्षा राखेका हुन्छन् ।तर भुईंमान्छेले त नेतृत्वसंग साक्षात्कार गरि आफ्ना कठिन परिस्थिति र ठाउँको बिकासका लागि प्रत्यक्ष देखाउन चाहान्छन् । घरको छाक टार्न दुईपैसा र दुईमुठी अन्न होईन । दुखजिलो गरेर पनि सन्तुष्ट हुन्छन् तर बाटोघाटो, शिक्षा,स्वास्थ्य, गासबास,कपास सहज चाहने हुन् र श्रमको कदर होस् भन्ने चाहना राख्ने हुन् । उनीहरु न फट्याइँ,न धुर्त्याई न छलकपट चाहान्छन् । यस्ता जनतालाई नेतृत्वले साक्षात्कार गरि उनका दुख सुन्दैमा के जान्छ ? त्यही नगरेका कारण उनले हारे ।
उनले हार्नुमा उनको एकल दोष भने हुँदै होईन । सबैभन्दा बढि दोषि त तिनै झोले चम्चे मध्यस्थकर्ता बनेका टोले नेता हुन् । आफ्नो ब्यक्तिगत फाईदाका लागि नेतृत्वलाई गुमराहमा राख्ने तिनै दलाल हुन् जसले नेतालाई आफ्नो ईशारामा फनफनी घुमाए । तिनै दलालको मात्रै एकोहोरो दास बन्दा बाबुराम मात्रै हैन जुनसुकै नेताले पनि जित्ने सपना नदेखे हुन्छ । नेतृत्व लिने मान्छे , असल नेता हुन चाहान्छ भने ती भुईंमान्छेसंग मुखाकृति मिलाउन सक्नुपर्छ । हुन त अहिले यो सन्दर्भ निकाल्ने उचित समय होईन तर पनि सरकारले गरेको संसद बिघटन र चुनावी मिति तय भयकोले कुरा उठाउन मन लाग्यो । जनता अझै पनि फेरि उनै मासुबेच्नेहरुको बिश्वासमा नरहुन् । जाली दलालहरुबाट सचेत रहुन् ।
यहाँ बाबुराम त एउटा प्रतिनिधी पात्र हुन् । हरेक चुनावमा जनतालाई यस्तै भ्रममा राखिन्छ । सबैभन्दा सचेत तपाईं हामी जनता नै हुनुपर्छ ।
हिजो कार्यकर्ताबाट लेवि उठाएर चुनाव मा खर्च गराउनेहरु नेतालाई लोप्पा ख्वाएर बिलासी जीवन बिताउदैछन् । तिम्रा नजिकका चाटुकारहरु मात्रै जनता हैनन् नेताहरु जनतामाझ जाने कष्ट गर नत्र जनतामाझ नजाउ । गाडिमा खलासी गर्ने, ढुंगा गिट्टी कुटेर खानेहरुसंग लेवि उठाएर मासु र भातमा खर्च गराउने आफ्नध दुनो सोझिए पछि गिद्धले सिनो छोडेझै गर्ने चम्चाहरुबाट टाढा रहेर ती भुईंमान्छेका आंखामा हेर । तिनका सुखदुखका साथी बन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper