banner
banner

बहुदल अभ्यासको तीन दशक

स्वयम्भुनाथ कार्की- - - 
राणाकाल पछिका दश बर्ष नेपालको राजनीति बहुदलमा आधारित रह्यो । लामो अन्तरिम व्यवस्था पछि २०१५ सालमा आएको संविधानले वालिग मताधिकारको आधारमा आम निर्वाचन ग¥यो । त्यस आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमतको सरकार बनाएको थियो । जव राजा महेन्द्रले २०१७ सालमा त्यो सरकार भंग गरेर दलमा प्रतिवन्ध लगाए बहुदलीय व्यवस्था भंग भयो । आगामी उन्नाइस बर्ष दलमाथि कडा प्रतिबन्ध लाग्यो । २०३६ सालको जनमत संग्रह पछि नामको अगाडी प्रतिवन्धित वा प्र. राखेर दलहरु पुन राजनैतिक अभ्यासमा लागे । कानूनतः दल प्रतिवन्धित भए पनि नामको सामुन्ने प्र. जोडेर गरिने गतिविधि करिव निर्वाध नै रह्यो ।
त्यसपछिका झण्डै एघार बर्ष दलहरुले कानूनत प्रतिवन्धित र व्यवहारत अपेक्षकृत खुल्ला अभ्यास गरे । त्यसपछि पञ्चायत ढल्यो र दलहरु फुकुवा भए । त्यसपछिका बर्तमान करिव तीन दशक दलहरुले निर्वाध अभ्यास गरेका छन् । विचमा राजाले प्रत्यक्ष शासन चलाएका महिनाहरुमा पनि दलहरु प्रतिवन्धित भएनन । यसरी राणा पछिका करिव सात दशकमा दुई दशक दलहरु प्रतिवन्धित रहे । एक दशक अर्धप्रतिवन्धित रहे । पहिलेको एक र पछिल्लो तीन गरेर चार दशक नेपाली जनताले बहुदलको अनुभव गरिसकेका छन् । त्यसमा थप अर्ध प्रतिवन्धित एक दशक जोडिने हो भने करिव पचासवर्ष दलहरु राष्ट्रको मूलधारमा छन् । 
पहिला दुई दशक क्रमभंग भएको कारणले बहुदलीय संस्कृति विकास हुन नसकेको मान्दा पनि पछिल्ला निर्वाध तीन दशक कुनै प्रणाली स्थापना गरेर संस्थागत गर्न प्रयाप्त समय हो । वर्तमानमा वहुदलिय व्यवस्थालाई कसैले पनि चुनौति दिएको छैन । तर त्यही विचबाट बहुदल कि बहुलवाद भन्ने वहस शुरु गर्ने प्रयत्न भने भएका थियो । त्यो सबै कुरालाई नेपालको संविधान २०७२ ले टुङ्गो लगाई सकेको छ । अरु कुरामा विभिन्न मत सामुन्ने आए पनि बहुदलको अपरिहार्यताको वारेमा कसैले कुनै पनि कुनाबाट प्रश्न उठाएको छैन । त्यसैले अव नेपालमा बहुदलीय व्यवस्था अभ्यासको प्रारम्भिक चरणमा छ भन्नु उपयुक्त हुँदैन ।
राणा शासनबाट मुक्त भएको करिव सत्तरी बर्षमा कुनै न कुनै रुपमा मुलुक भित्र नै पचास बर्ष अस्तित्व कायम गर्न सकेको बहुदलीय प्रजातन्त्र कुनै पनि कोणबाट कमजोर हुन्न । यदि कसैले यसलाई अभैm कमजोर भन्दछ भने त्यसमा कुनै न कुनै निहित स्वाथ्र्य कायम रहेको मान्न सकिन्छ । बीचको एक कालखण्डमा आएको पञ्चायतलाई दोषारोपण गरेर आफुलाई उजिल्याउन पाउने समय अब समाप्त भई सकेको छ । इतिहासको पानामा सिमित भएको पञ्चायतको वेलाका कुराहरुको प्रतिरक्षा गर्ने वा व्याख्या गर्ने कोही छैन । यो अवस्थाको लाभ लिएर सम्पूर्ण दोष त्यसैलाई बोकाउने प्रवृति कुनै वेलामा असरदार थियो ।
झण्डै पञ्चायतले भोग गरेको कालखण्ड बरावर बहुदलले भोग गर्दा पनि आफ्नो अक्षमताको कारण त्यहाँ देखाउँदा धेरैमा वितृष्णा आइसकेको छ । युवा अब के पञ्चायत भनिए जस्तै कालरात्री थियो त भनेर खोज्न थालेका छन् । हिजोसम्म नाम लिंदा पनि कुल्ला गर्नुपर्ने जस्तो व्यवहार गरिएका राजा महेन्द्रलाई राष्ट्रवादको नायक भन्ने युवाहरु नै छन् । मुलुकले वर्तमानमा भोग्नु परेको कष्टको कारण नेताहरु पञ्चायतलाई दिदैछन् । पञ्चायत कालमा मुलुकमा विभिन्न सरकारी जिम्मेवारीमा रहेर बहुदल स्थापना गर्न भूमिका खेलेका व्यक्तिहरु जीवित नै छन । ती मध्ये धेरै कोही निडर भएर औपचारिक रुपमै र कोही अनौपचारिक रुपमा आफुले अहिले भन्दा पञ्चायतकालमा स्वतन्त्र भएर काम गर्न पाएको अनुभव सुुनाउछन । जति पञ्चायतको वारेमा नकारात्मक कुरा उठाउने गरिन्छ त्यति नै युवाहरुले त्यसमा सकारात्मकता पनि भेट्दै गएको पाईन्छ । यो कुरा युवा अभिव्यक्तिको सशक्त माध्यम भएका सामाजिक सञ्जालहरुमा छताछुल्ल हुन थालेका छन । कुनै कुरा अव लुकाएर लुक्न सक्दैन, सबै पारदर्शी छन् ।
आजका युवालाई ट्राली बसको अभाव खड्केको छ, सिटामोल र जीवनजल उत्पादन गरेर जनजिव्रोमा बसाउन सफल शाही औषधि लिमिटेड हराएकोमा दुख छ । बाँसवारी छाला जुत्ता, कृषिऔजार कारखाना, भृकुटी कागज कारखाना, हेटौंडा कपडा कारखाना, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना धुईपत्ताल गरेर खोज्दैछन् । यस्ता धेरै कुरा आजका युवाले भेटेका छन् जो नेपालमा दन्त्य कथामा भैm उपस्थित थिए । समाजमा त्यस्ता चिजवस्तुहरुको उपस्थिति सुखकर थियो भन्ने बुढापाकाबाट सुनेका छन् ।
आफु पञ्चायत इतर भएर पनि मन्त्री लगायत महत्वपूर्ण पदमा आफ्नै बलमा पुग्न सकेको किंवदन्ति सुनाउने बुढापाकाका कुरा सुन्न आजको युवा लालयित छ । आकर्षित छ ।
अव सत्तरी बर्षमा झण्डै पचास बर्ष नेपालमा अस्तित्वमा रहेको बहुदलीय प्रजातन्त्रले आफुलाई शिशु भनेको सुहाउन्न । आजको नेपाली जनता भाषण र आश्वाशन हैन परिणाम खोज्छ । हिजो के गरियो त भन्ने ओठे जवाफले जनतालाई उग्र वनाउँछ, किनभने हिजोले गरेन भनेर त्यसलाई सजाय दिई सकियो । त्यो हटाई सकियो । यदि अहिले पनि हिजोलाई नै गाली गर्ने हो भने त्यो अक्षमता हो । यसै गर्ने हो भने हिजोलाई दिएको सजाय आजले पनि भोग्न तैयार हुनुपर्दछ । आजको समय सजाय भोग्न होइन, केही नयाँ गर्नका लागि हो, पुरानालाई गाली गरेर धर पाइन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper