banner
banner

चीनको मिसन २०२८,नेपाल मिसन पतन !!

धर्मरत्न श्रेष्ठ- - - 
  बेलायतको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चले सन २०२८ मा चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हुने अनुसन्धान रिपोर्ट सार्वजनिक गरेको छ । यो रिपोर्टका अनुसार अवको ८ वर्षमा अमेरिकालाई उछिनेर चीन पहिलो अर्थशक्ति बन्नेछ ।
यो रिपोर्ट अनुसार कोभिड १९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो भएको छ । भारतको अर्थतन्त्र भने सन् २०३० मा विश्वकै तेस्रो ठूलो अर्थात अमेरिकापछिको हुने उल्लेख छ ।
भारतले सन् २०१९ मा यूकेको अर्थतन्त्रलाई विश्वको पाँचौँ स्थानबाट विस्थापित गरेको भए पनि कोभिड १९ का कारण भारत फेरि पछाडि पर्न पुगेको हो । भारतले सन् २०२४ मा बेलायतलाई, सन् २०२७ मा जर्मनीलाई र सन् २०३० मा जापानलाई पछाडि पार्नसक्छ । यदि यही रफ्तारमा आर्थिक विकास गर्दै गयो भने । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारत गरीबीका कारणले आर्थिक विकासमा पछि पर्दै आएको छ । व्यवस्थापन मुस्किल छ भारतलाई ।
यो बेलायती अनुसन्धान सेन्टरले हरेक वर्ष डिसेम्बर २६ मा विश्वको आर्थिक अवस्थाको प्रक्षेपण गर्ने गर्छ । कोभिड १९ चीनबाटै देखा परेको भए पनि नियन्त्रण गर्न चीनले तदारुकता देखाएकाले आर्थिक बृद्धि गर्न चीनलाई सफलता प्राप्त भयो । अरु मुलुकहरु अहिले पनि कोरोनाको महामारी झेल्दैछन् ।
विश्वका हरेक मुलुक कोभिड १९ कारकारणले आर्थिक मन्दी झेलिरहेका छन् तर चीनमा मात्र २ प्रतिशतको आर्थिक बृद्धि देखिनुले चीनलाई नम्बर एक आर्थिक शक्ति बन्न सघाएको हो । भाइरसले सबैभन्दा बढी प्रभाव अमेरिकामा परेका छ । अनि भारतमा । अमेरिका र भारतमा कोभिडले मर्ने र संक्रमितको संख्या घटेको छैन, नियन्त्रण बाहिर नै छ । हुन त खोप सुरु गरिएको छ, खोपको कारणले अमेरिका कोभिडको कहरबाट बाहिर निस्कन अझै केही समय लाग्नेछ भने भारतमा पनि खोपको विकास भएको छ, सुरु भइसकेको अवस्था छैन ।
नेपाल भारत र चीनको बीचमा छ । भारतको कोभिड कहरमा पिल्सिएको नेपालले चीनको कोभिड नियन्त्रण गरेजस्तो अक्किल लगाउन सकेको छैन । हरेक दिन नेपाल आयातमा निर्भर मुलुक बन्न पुगेको छ । खोप कहाँबाट कहिले आउने कुनै निश्चित छैन । हरेक दिन नेताहरु जनता र देशको स्थितिभन्दा सत्ता झगडामा अल्झिएका छन् । कुनै पनि नेता अनियमितता र भ्रष्टाचारबाट अछुत देखिदैनन् । जसरी पनि सत्तामा पुग्नु र आर्थिक आर्जन गर्नु नै हरेकको एकमात्र उद्देश्य देखिन्छ । यो अवस्थामा भारत, अमेरिकाको रणनीतिक मैदान नेपाल भएको छ भने चीनले पनि सरोकार देखाएर बाक्लै आवत जावत गरिरहेको छ । नेपालले सवल कूटनीति अपनाउन सकेन भने पतनमार्गतिर प्रस्थान गर्न बेरछैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper