देवी काफ्ले----
मकवानपुरको बाग्मती गाउँपालिकामा साढे तिन बर्षिया बालिका रुबिना पाख्रिनको बलात्कार पछि निर्मम् हत्या भयो । लगत्तै महोत्तरीको बर्दिवासमा छ बर्षिया गुलाव खातुनको पनि बलात्कार पछि हत्या भयो ।
बझाङमा सम्झना कामीको पनि बलात्कार पछि मन्दिर प्राङ्गणमा हत्या भयो । यी घटनाहरु प्रतिनिधि घटनाको रुपमा देखिए ।
किन यसरी श्रृङखलाबद्ध रुपमा घटना दोहोरीरहेका छन् त ?
सुरक्षाकर्मी र सरकार यति जघन्य बलात्कारकाण्ड रोक्न किन सक्दैन ?
कमजोरी कसको ?
माथिका घटनाका प्रकृया हेर्दा बालिकाहरु आफन्त वा आफ्नो नजिकका ब्यक्तिहरु नै अपराधी देखिएका छन् ।
बलात्कार हत्या अनि आन्दोलन ।
के यस प्रकृतिका अपराधको निर्मुल पार्ने कडी आन्दोलन मात्रै हो त ?
अबश्य पनि होईन भन्ने देखियो । जब कंचनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या भयो न्यायका लागि आन्दोलन गर्नुपर्यो । आन्दोलनकै क्रममा एक तेह्र बर्षिय बालक शनि खुनाले प्रहरीको गोली खानु पर्यो । आयोग गठन भए तर ठोस प्रतिवेदन पुगेन । तत्पश्चात घटना सेलाउंदै गयो । ठिक त्यसै प्रकृयाको घटना बर्दिवासमा पनि गुलाब खातुनको न्यायका लागि अपराधीको घरमा आगो लाउन पुगे स्थानियहरु । फेरि प्रहरीले आन्दोलनकारीलाई गोली हाने एक युवाले ज्यान गुमाए । बलात्कृत छोरीको न्यायका लागि कतिजनाले गोली खानुपर्ने हो जवाफ गर्भमै छ । न्याय मर्दै गएको छ ।
अब हामीले चेत्नु पर्ने कुरा के हो त ? समाजले उठाउनैपर्ने सवाल के हो ? सभ्यता किन यसरी पशु हुँदै गएको छ ? यही हो लोकतन्त्र ?
कहिले बाबुबाटै छोरी बलात्कार भयका छन् त कहिले दाजुबाट । आफन्तबाट पिडित त छँदैछन् । स्कुलमा शिक्षकसँग पनि छात्रा सुरक्षित छैनन् । माथिका प्रतिनिधि घटनाले हाम्रा आँखा खोलिनु पर्छ । नत्र ढिला भैसकेको हुनेछ ।
आज बालिकाहरु धमाधम बलात्कारको सिकार हुँदै मारिएका छन् । जति पनि बलात्कार भएका छन् त्यसमा सबैभन्दा धेरै आफन्त वा आफ्नै नजिकका मान्छेबाट भएका छन् । आन्दोलन त फेसन जस्तो भएको छ । आन्दोलनले बलात्कार रोकिन्न ।
अब आन्दोलनले मात्रै छोरीहरु सुरक्षित रहलान् भन्ने मानसिकता भन्दा पनि गाउँ गाउँमा गएर यस बिषयमा सुसुचित गराउनु जरुरी देखिन्छ । हामी नेपाली सहजै अरुको बिश्वासमा पर्छौं । आफन्त हुन्, छिमेकी हुन् उनिहरुबाट कसरी त्यो जघन्य अपराधको कल्पना गर्नु ? तर तिनै आफन्त तिनै छिमेकीबाट निर्मम अपराध हुन्छ । हामी कुनै अप्रिय घटनाको कल्पना गर्दैनौं र बच्ने सामान्य उपाय अवलम्वन गर्दैनौं फलतः अपराध स्वीकार्न बाध्य हुन्छौं । सबै गुमिसकेपछि पछुताउ मात्रै रहन्छ ।
सरकारको तथ्यांकले अब देशमा महिला साक्षरता ५९.७२ प्रतिशत देखाएको छ । बलात्कारका घटना दिनदिनै बढेको देखाएको छ । हाम्रा अधिकांश नानीहरु आमाकै काखमा हुन्छन्, आमाकै संरक्षणमा हुन्छन् । ग्रामिण क्षेत्रमा शिक्षित पढेलेखेका महिलाहरु कम छन् । यसकारण पनि भोलीका घटनाहरु उनिहरुले कल्पना सम्म गर्न सक्दैनन् र सहज विस्वास गर्छन् अनि यस्ता घृणित घटना हुन्छन् । यदि महिलाहरु पुर्णरुपमा साक्षर हैन कि शिक्षित हुन्थे भने केहि हदसम्म सचेत रहुन्थे फलतः घटना कम हुन्थ्यो । ग्रामिण भेकका अधिकांश पुरुषहरु रोजगारीका निम्ति बिदेशियका छन् । उनीहरु परिवारको संरक्षण गर्न असमर्थ छन् । त्यो उनिहरुको बाध्यता हो । पुरुष घरबाहिर भएको र महिलाहरुले मात्रै घरको सारा काम गर्नु पर्ने भयकाले उनिहरुु काममा बढि ब्यस्त हुन्छन् । छोराछोरी प्रति धेरै ध्यान दिन सक्दैनन् फलतः अपराधीले मौका छोप्छ । त्यसकारण बेरोजगारीका कारण पनि यस्ता घटना घटिरहन्छन् ।
लागू औषध तथा मध्यपानका कारण पनि यी घटना दोहोरिएका छन् । युवाहरु काम नभयपछि दुई पैसा साथमा हुनासाथ रमाइलो गर्ने या साथीहरुको बिग्रेको संगतले गर्दा आज नगन्य रुपमा मध्यपानमा फस्दै गएका छन् । अनि मध्यपान गरेको मान्छेले होस् गुमाएको भन्दै सानातिना घटनाहरुलाई हामी नजरअन्दाज गर्छौं । त्यसकारण पनि होस गुमेका बेला भन्दै बालिका सिकार गर्छन् । बलात्कार भइरहन्छ ।
आजसम्म घटेका घटनाहरुलाई अध्ययन गर्दा अधिकांश घटना अशिक्षित, गरिब, निमुखा र ग्रामिण क्षेत्रमा बढी घटेका छन् ।
त्यसैले अबको आन्दोलन भनेको ती अशिक्षित क्षेत्रमा यस्ता घटनाबाट बच्ने उपायहरुका बिषयमा छलफल गराईनु पर्छ । हरेक ठाउँमा आन्दोलनले सार्थकता पाउँदैन । त्यसकारण अब हाम्रा नानी बचाउन त्यस्ता शिविरहरुको, त्यस्ता स्कुलिङहरुको जरुरी छ जसले नानीहरु र उसका परिवारहरु सम्भावित घटनाबाट बलात्कार घटनाबाट नानीहरुलाई बचाउन आफू पनि होसियार हुनेछन् ।