banner
banner

यो दोहोरी गाउने समय हो ?

गंगा दहाल – सत्तारुढ पार्टीभित्र आरोप प्रत्यारोप, हाजिरीजवाफ चलिरहेको छ । के यो समय दोहोरी गीत गाउन समय हो ? नेकपा भनेको इन्द्रेणी कार्यक्रम त होइन होला नि ? इन्द्रेणी कार्यक्रममा त विश्वभरिबाट सहयोगी हातहरु जुटाएर अन्ध अपाङ्ग, अभरमा परेका, बेसहारा भएका, उपचार गर्न वा दुई छाक खान नपाएकाहरुलाई आर्थिक सहयोग दिने काम भइरहेको छ । दुई तिहाइको सरकार चलाउने पार्टीले गर्ने झगडामात्र हो ?
हुन त लोकोक्ति छ– एक म्यानमा दुई तरवार, एक जंगलमा दुई सिंह बस्न सक्दैनन् । नेकपाको जहाज हाँक्ने दुई पाइलट भएर दुर्घटनाको खतरा भएको हो ? हो भने यसको निकास तत्काल निकाल्नुपर्छ, बहस संवादबाट निकाल्नुपर्छ, दुबै अध्यक्षको अस्त्रशस्त्रबारे चिन्तन मनन गरेर उपचार खोजिनुपर्छ ।
प्रचण्डले भ्रष्टाचारी अहंकारी भनेर आरोप लगाएछन्, ओलीले सरकार ढलाउन लागेको आरोपदेखि जनयुद्धकालीन विषयलाई हेगसम्मको चर्चा गर्न भ्याएछन् । जनताले काम गर्न पठाएका हुन्, गालीगलौजमा समय खेर फाल्न होइन । चेतना रहोस्, दुबै अध्यक्ष एकै ठाउँमा बसेर सहमति र सहकार्य हुनुप¥यो । घ्यू बेचुवा र तरवार बेचुवाको राजनीति हेर्ने, सुन्ने समय छैन जनतालाई ।
किनकि जनता रोग, भोक, शोक र कोरोनाको कहरमा छ ।
जनता सडकमा निस्किन थाले । जनताले परिवर्तनको माँग गर्न थाले । निश्चित रुपमा सत्तामा हुने र प्रतिपक्षमा रहेकाहरुले जनअपेक्षा अनुसारको काम गर्न नसकेको प्रतिकार हो त्यो । प्रतिध्वनी हो त्यो । अझै जनमतको कदर गरेर जनअपेक्षा परिपूर्ति गर्नतिर नलाग्ने हो भने जनताले विकल्प खोज्नसक्छ । जनता अन्तिम सत्य हुन् । लोकतन्त्रको गरिमा र महिमामा हामी कहाँ छौं, कति इमान्दार भएर लागेका छौं, तमाम नकेपा पंक्तिले सोच्ने र मूल्यांकन गर्ने बेला हो यो ।
दुबै नेतातिर लागेकाहरुले एकदोस्राप्रति उक्साउने काम भइरहेका छन् । उक्साउनेले उक्साएपछि दुबै नेता आमने सामने भएका हुन् । एउटै पार्टीभित्र अल्पमत र बहुमतको दन्तबजान भइरहेको हो । यो दन्तबजानले नेकपाको पाइतालादेखि शिरसम्मको कल्याण गर्दैन । यति कुरा नेतृत्वमा रहेका सबैले सोच्नु र बुझ्नुपर्छ । बुझ्न जति ढिला हुन्छ, उति नेकपा खोक्रिदै जानेछ । नटुक्रिएला, कमजोर हुनेछ । कमजोर हुनु भनेको जनमतप्रतिको अपमान नै हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper