देवी काफ्ले----
भएको घरको खेत बेचेर बाआमाका सपना साकार पार्न र केही पैसा कमाएर सुखसुबिधा सहितको जीन्दगी बिताउन बिदेशिएका युवाहरु जब काठका बाकसमा प्याकिङ् भएर आउँछन्, सारा गाउँकै सपना छरपष्ट हुन्छ । पढेका नपढेका तर आफ्नो पसिना र रगत बेच्न खाडी पुग्छन् । खाडी मात्रै हैन छिमेकी राष्ट्र भारत लगायत खाडी र युरोप अमेरिकामा होमिएका छन् । उनीहरुका आआफ्ना सपना छन् । आ आफ्ना बाध्यता छन् ।
किन भासिए युवाहरु बैदेशिक रोजगारमा ? कारण के हो ?
एस एल सी पास ग¥यो । उच्च शिक्षा पढ्न पैसा भएन । बाआमा भएको एक टुक्रा खेतमा उब्जेको अन्नले घर चलाउने । अब परिवारमा बिरामी परे उपचार गर्न सक्ने हैसियत रहेन उसले उपाय बैदेशिक रोजगार रोज्यो । पढ्न पैसा, स्वास्थ्य उपचार नपाएर अकालमा मृत्यु, एउटा हावाहुरी घामपानी छेक्ने चिटिक्कको घर, बनिबुतो गरिखाने एक पाटो खेतको टुक्रा, बिरामीमा उपचार गर्न सक्ने हैसियत,छोराछोरीलाई सहज शिक्षा र एउटा सुन्दर र सुखी परिवारको सपना लिएर मुग्लान पस्छ ।
तिनै मुग्लान पसेका युवाले पठाएको रेमिट्यान्सले सरकार चलाउँछ देश ।
नेताहरु भाषणमा के भन्छन् ?
अब हामी हाम्रा युवालाई बैदेशिक रोजगारमा जानबाट रोक्छौं । रोजगारी सृजना गर्छौं । देश बनाउने युवाले हो उनिहरुलाई रोक्नै पछ, हामी रोक्छौं ।
तर के गर्छ सरकार ?
बैदेशिक रोजगारका लागि विभिन्न देशहरुसँग सम्झौता गर्छन् । कहिले मलेशिया कहिले दुबई त कहिले अन्य राष्ट्रहरुसँग श्रम सम्झौता गर्छ ।
यसको मतलव यता भाषण मिठा गर्यो उता युवा लखेट्ने कालापानामा हस्ताक्षर ग¥यो आखिर रेमिट्यान्स नभए कसरी सरकार चलाउने युवालाई ललिपप खुवाउँछन् ।
खाडीबाट आएका युवाका लाशहरुले खासै फरक पर्दैन फरक पर्छ त रेमिट्यान्स रोकिन्छ ।
जब चुनाव आउँछ तिनै युवाले खाडीबाट उठाएर पठाएको रकमले अर्का युवा परिचालन गरि चुनाव जितिन्छ अनि फेरि युवालाई स्वदेशमै रोजगारको ब्यवस्था गरिन्छ भन्ने भाषण गरिन्छ तर वास्तविकतामा फेरि पासपोर्टका लाइनमा हुन्छन् ती देश बनाउने युवा । फेरि मिठा सपना बोकेर जान्छन् कट्ठा खेत बेचेर गएका युवाले धुर खरिद गर्न सक्दैनन् । किनकी नेतृत्व नै दलाल भुमाफिया छ । जब चुनाव आउँछ हजार सपना देखाउँछन्, कतिपय युवा बाकसमा फर्किन्छन् । तिनको परिवारको भविष्य तहसनहस भयो । केही युवा मरिमरि कमाउँछन् यता परिवारबाट रकम हिनामिना पारेर उसका सपना भताभुंग पारिदिन्छन् ।
हामीले मनन गर्नु पर्ने कुरा के हो भने जुन सपना बोकेर युवा बिदेशिन्छन् त्यहाँ सबैका सपना साकार भएका छन् त ? उनीहरुले सहज परिस्थितिमा काम गरेका छन् त ? उनका सपना पूरा हुन्छन् ?
आफ्नो घरमा सिन्को नभाँचेका युवा, बाबुआमाको एक गाली नसुनेका युवा, एक दिन भोको पेट नबसेका युवालाई बैदेशिक रोजगार वास्तवमा फलामको चिउरा चपाउनु सरह छ । सक्दासम्म त काम ग¥यो, बिरामी भएर समेत छुट्टी लिन नपाएका, साहुले समयमा तलब नदिएका, बुटले कुटेका आदि अत्याचार सहेर पनि सपना साँध्न बाध्य छन् ।
यस्तो रहर र बाध्यात्मक परिस्थिति बोकेका युवाहरुलाई देशले रोक्न चाहेन या उनीहरु रोकिन चाहेनन् ?
आज हाम्रा युवाहरुको गन्तव्य भनेको छिमेकी मुलुक भार लगायत खाडी मुलुकहरु परेका छन् । सुदुरका नेपालीहरु भारतका विभिन्न शहरमा आफ्ना सपना, रहर र बाध्यता बोकेर हजारौंका संख्यामा बोर्डर पार गरिरहेका छन् । भारतमा आफ्ना सपना र रहर अनि बाध्यतासँग आफ्नो रगत पसिना साटिरहेका छन् । खाडी मुलुकमा बेचिइरहेका छन् ।
मिठा सपना बोकेर युरोपियन देशमा छिरेका छन् । आफ्नो सुन्दर भविष्य खोज्न बिदेशिनु पर्ने बाध्यता हो वा रहर उनीहरु आफै अन्योलमा छन् । त्यहि सुन्दर भविष्यको सपना सार्थक बनाउन उनीहरु अर्काको देश बनाईरहेका छन् । अधिकांश मुलुकहरुमा बिकासका काम गर्न मेहेनत गर्ने नेपाली नै रहेछन् । सुखको काममा पुग्न नसके पनि कडा परिश्रम गर्न पर्ने ठाउँमा नेपाली युवा नै छन् । युवाशक्ति सहि ढंगले परिचालन गर्न नसक्दा हाम्रो मुलुकको बिकासमा कांडेतार लाग्यो । उनीहरुमा भएको क्षमता, सीप र शक्तिलाई पहिचान गरि देशमा रोजगारी र सुरक्षित भविष्य निर्माण गर्ने एउटा आधार तय गरिदिए देखि बिदेशमा कष्ट बेहोरेर आएका युवाले यहीँ केही गर्छु बिदेश जान्न भनेर बस्थ्यो । देशमा रोजगारी त छैन छैन केही गरौ भनेर कृषि पेशा अपनाएर बसेका युवाहरुको उत्पादन कहिले सडकमा पोख्नु पर्छ त, कहिले खेतका जरामै जोत्नु पर्छ । अनि कुनै कार्य सफल नभए पछि र सरकारबाट पनि कुनै ठोस कदम नचालिदा खाडीका मुल्लाको बुटको कुटाई बिर्सेर छिमेकी भाईलाई पनि भविष्यको गन्तव्य परदेश नै हो भनेर सुझाउँदै बिदेशिन्छ ।
कोही होटल ब्यावसायबाट घरखेत सकिएका, कोही पशुपालनबाट सिरिखुरिएका यस्तै कुनै न कुनै समस्याले ग्रसित युवाहरुले गन्तव्य बनाए । जब मैले बिदेशिएका ती युवा भाईहरुसँग सोधें– किन यसरी बिदेशिन्छौ भाई हो ?
जवाफ थियो– हामी हार खाएर आएका हौं । अझै पनि हामी गरिबीबाट उठ्न सक्छौं ? अनि हामी स्वदेश फर्क्यौं भने हामीलाई काम गर्ने वातावरण छ ?
म ती युवालाई के जवाफ दिऊं सरकार ? म निरुत्तर छु ।
कि त युवाले नेताको चाकरी गर्नुप¥यो, कि त बेईमान हुनुप¥यो । ईमानदारीताको कदर कैले हुने हो ?
सरकार दुनियाँका देश बनाउने युवालाई यहीँ रोक, देश बन्छ ।