banner
banner

सरकार पाल्न कर किन तिर्ने ?

देवी काफ्ले---
बांच्न कसले चाहँदैन ? गरिबीसंग लड्न कति गाह्रो हुन्छ त्यो त भोग्नेलाई थाहा हुन्छ ।
जमिनको भूभाग मात्रै राज्य होईन राज्य बन्न त जनता पनि चाहिन्छ । जनता नै छैनन् भने शासकले को माथि शासन गर्ने हो ?
विभिन्न भौगोलिक बिबिधता, बिकटता, आर्थिक  अवस्था कमजोर, सामाजिक परिवेश अचेत र सरकार नै स्वार्थी बने पछि जनता जनता नभएर रैती हुन पुग्दा रहेछन् ।
आजको हाम्रो अवस्था त्यस्तै देखिएको छ हामी रैती बनेको महसुस गर्न बाध्य छौं । आज राज्य जतिसुकै समुन्नत भए पनि बिकट नेपालका नागरिकले उहीँ पीडा भोग्न बाध्य छन् जो आर्थिक रुपमा बिपन्न वर्गको जीवन जिउन बाध्य छन् ।
भौगोलिक बिकटताका कारण सबै नेपालीले समान अधिकार पाएनन् भनेर नै लोकतन्त्र आइसके पछि संघीय राज्य निर्माण भयो । संघियता लागू त भयो तर गरिब निमुखा जन उहीँ बिवसतामा बांच्न बाध्य छन् । संघियता लागू गर्नु त सबै नागरिकलाई समान अधिकार प्रदान गर्नु भन्दा पनि राजनैतिक भर्ती केन्द्रको रुपमा प्रदर्शित गरिएको देखियो । गरिबका कथा ज्यूँका त्यूँ छन् । बजेट बिनियोजन हुन्छ लक्षित वर्गमा पुग्दैन सबै बिचौलियामा बांडफांड, भत्ता, अनावस्यक भ्रमण, पारिवारिक भर्ति आदिमै सकिन्छ ।केही बजेट बिकासका काममा लगाईन्छ तर पूरा लगाईंदैन भन्ने पुष्टि त पप्पु कन्स्ट्रक्सनबाट निर्मित पुलहरु र अन्य यस्तै कम गुणस्तरिय कामले देखाएका छन् । अर्थात् संघियताको औचित्य भ्रष्टाचारको लागि मात्रै होकि भन्ने यदि लक्षित वर्गमा बजेट पुगेको भए नेपालबाट परिवार पाल्नको लागि छिमेकि मुलुक भारतमा भारतियहरुको दुत्कार सहंदै कठोर परिश्रम गर्न जानू पर्ने थिएन । सबैभन्दा धेरै सुदुरपश्चिमका नागरिक भारत जान बाध्य छन् ।समस्या समाधान तर्फ न स्थानीय सरकार,न त प्रदेश सरकार न त केन्द्र सरकारले नै ध्यान दिएको छ ।
दैनिकी गुजारा गर्न कठिन भएका नागरिक समक्ष न त हिजोका सरकार र शासक पुगे न त आजका शासक पुग्न चाहान्छन् । गणतन्त्र राज्यका नागरिक आज पनि भारतीयको जुठोभांडा गर्न जानू पर्ने कस्तो बाध्यता?
आज देशमा दैनिक ज्यालादारी गरि बिहान कमाउदै बेलुकाको छाक टार्ने कति रहेछन् भन्ने यथार्थ त लकडाउन पछिको सडकमा देख्न पाईएको छ । घर छोडेर कोहि भारत त कोहि देशकै विभिन्न ठाउंमा ज्याला मजदुरी गर्न गएका मजदुरहरुलाई आजको  बिषम परिस्थितिले थप चुनौती दियो । काम गर्ने ठाउमा काम रोकियो, कमाएको पैसाले कति दिन पुग्ने ? काम गरिरहेकै ठाउँमा भोकै बस्नु भन्दा घर गयर परिवारसँग दुखसुख बस्ने भए खाने नभए भोकै बस्न तयार भएर गाडिको बिकल्प पैदल हिँडेर दशौं दिन लगायर घर जान हिडेका छन् । भोकभोकै अलपत्र हिडेका मजदुरको गन्तव्य कतिबेला कहाँ रोकिने हो थाहा छैन । दुनियाँले देखेको छ स्थानीय केही मनकारी मान्छेहरुले खाना खुवाउने खाजा खुवाउने गरि सहयोग गरेका छन् । तर सरकारले ती मजदुरलाई सडकमा देखेन ।यहाँ मजदुरका नेता बालुवाटारमा छन् त्यै भयर नै होला सरकारले सडकमा खाली खुट्टा हिडेका मजदुर नदेखेको ।
सरकारबाट फाइदा लिन सफल केही चाटुकारहरु सडकमा हिडेका मजदुरलाई आशुको व्यापार गरेको भनेर समेत भुक्न भ्याएका छन् । यही हो गणतन्त्र ?
संसारका राष्ट्रप्रमुखहरु दैनिक मिडियासामु उपस्थित भएर जनताका नाममा सम्बोधन गरेका छन् । कसरी नागरिक बचाउने भनेर दिनरात खटेका छन् हामीकहा खोइ ?
भारत र नेपालको सिमानामा पारीबाट सरकार बिरुद्ध नाराजुलुस गर्न किन बाध्य भए नेपाली ?
जनताद्वारा निर्वाचित जनताकै छोराछोरीबाट गरिएको शासनमा त शासक र नागरिक बिच धेरै दुरी नहुनु पर्ने हो तर आज नेपालमा जनप्रतिनिधि हरु हिजोका राजा भन्दा धेरै माथिका सुबिधाभोगी किन बने ? जनताबाट निर्वाचित राष्ट्रपतिको बग्गी सवारी गणतन्त्रले पाएपछि एउटा राजा हैन सयौं राजा जन्मे जनताका दुःख ठामका ठाम जिवित छ ।
जनताले धेरै आशा र भरोसाका साथ सरकारले तोकेको कर तिरेका छन् तर तिनै कर तिर्ने जनता आज आँसुको व्यापार गर्ने, सरकार असफल पार्ने तत्व कसरी भए ?
सरकार सरकारजस्तो हुनका लागि सरकारका प्राथमिकता के के हुन्, कुन कुन काम सरकारले गर्नुपर्छ, जनताप्रतिको दायित्व निर्वाह गर्नुपर्छ कि पर्दैन ? सरकार नै सरकारजस्तो काम गर्दैन भने त्यस्तो सरकार जनताका लागि चाहियो किन ?
आखिर गरिबले कहिले महसुस गर्ने हो सरकार भएको अन्योल भयो । सरकार अझै पनि सडकमा आँखा च्यातेर हेर हिजोका तिनै गरिब मजदुरले तिमिहरुलाई त्यो महलमा पुर्याएका हुन् । दरबारको खोपी भित्र बिराजमान भएर गरिबको चुलो नजलेको देख्न सकिन्न । गरिबले उपचार नपाएर तड्पीतड्पी मरेको देखिदैन सरकार बग्गीबाट ओर्ल । नवमहाराज बनेर फेरि उनै मजदुरको रगत नचुस । ती आशुको व्यापार गर्ने भोट भोलि करोड तिरेर पनि नपाउन सक्छौ । गन्तब्य भाषण मात्रै  हैन काम हो । दिन सधैं एकैनाश रहदैन त्यसैले आफ्ना नागरिकले कोरोनासंग भन्दा भोकसँग लडेको दृश्य अवलोकन गर ।सरकार भएको अनुभूति ती मजदुरले पाउन् जो आज घर पुग्न भोकभोकै अनगिन्ती पाईला रगडिरहेका छन् । सिमानामा रुन नपार ।
नागरिक उपचार नपाएर तड्पियर मरेका छन् । अस्पतालमा भेन्टिलेटर छैन । निजि अस्पतालको मनपरि छ । अन्य रोगले ग्रसित मान्छेलाई पनि पिसिआर टेष्ट  नगरेसम्म उपचार हुदैन ।कोरोना टेष्टको रिपोर्ट आउँदा सम्म बिरामी मरिसक्छ । मरे पछि टेष्टको के अर्थ । बिरामी मर्दाखेरी पनि खुशिको खबर कोरोना नेगेटिभ आयो भन्छन् निजी अस्पतालका डाक्टर । सरकारी अस्पतालमा ठाउँ छैन । टिचिङ अस्पतालका कर्मचारीले समेत बेड नपायर उपचार नभई मृत्युवरण गरेको घटना सर्वबिदितै छ । बिरामीलाई नौ दशवटा अस्पताल चाहार्दा पनि भर्ना नगरेका कारण बाटैमा कुकुर मराई मरिरहेका छन् । सरकारका मन्त्री  पिसिआर टेष्ट गर्न सरकारले सक्दैन आफै गर कोरोनाको उपचार आफ्नै खर्चमा गर भन्छन् । शुरु शुरुमा मन्त्री, प्रधानमन्त्रीले हामीलाई कोरोना लाग्दैन भनेर भाषण छाँट्न ब्यस्त भय आज जब नागरिक धमाधम मर्न थाले सिंहदरबार कहिले बालुवाटारभित्र थुतुनो गाडेर बस्दैछन् । सरकार कुर्सीरेसमा छ । खै कसले जित्छ थाहा छैन । मन्त्रीले बोलेका कुराको जवाफ माग्ने बेला आयको छ अब । जब सरकारले नागरिकको उपचार गर्न सक्दैन, पर्याप्त उपचारका लागि आवश्यक भेन्टिलेटरको ब्यावस्थापन गर्न सक्दैन, जनता कोरोनाको बहानामा कुकुर मराई मर्न पर्ने हो भने सरकार हामीले तिमीलाई पाल्नका लागि कर किन तिर्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper