banner
banner

यस्ता जनताबाट केही हुदैन

शाश्वत शर्मा---
दशैंको कडा सन्देशबाट चर्चाको केन्द्रमा पुग्नुभएका पूर्वराजाको सन्देश बिस्तारै सेलाउँदै जाँदो छ । केही निष्पक्ष बर्गलाई यो सनदेशले राजनीतिमा हलचल ल्याउँछ । नेताहरु त्रसित हुनेछन्, भ्रष्ट र राष्ट्रघाती नेहरुका विरुद्ध आम जनता सडकमा उत्रनेछन् भन्ने लागेको थियो । आआफ्ना बिगतका गल्तीहरुप्रति पश्चाताप गर्दै केही नेपालीहरु, जो बिगतमा तोडफोडमा उत्रिएर राजसंस्थालाई बलातमा बिस्थापित गर्न अघिसरेका थिए, तिनीहरु आआफ्ना नेतालाई सत्तोसराप गर्दै, राजा आउ देश बचाऊ भन्ने नारा घन्काउनछन् भन्ने पनि लागेको थियो । तर होइन, मूर्खहरु फेरि नेकपाभित्रको झगडा, नेकाभित्रको आन्तरिक कलह, जसपाको नयाँ अध्यक्ष डा.बाबुराम भट्टराई, आदितिर ध्यान दिन थालिसके । यी बाहेक, पर्सामा भएको नेकपाभित्रको भिडन्त अनि मारिएका मुकेश चौरसियाको खलबल, कर्णाली प्रदेशको राजनीतिक संकट, रअका प्रमुख सामन्त गोयलद्वारा नेपालका प्रम केपी ओलीसँगको गोप्य वार्ता, आउँदै गरेका भारतीय प्रधान सेनापति नरवणेको चर्चातिर पनि ध्यान भड्किसकेको देखिन्छ । पूर्वराजाले त्यत्रो कडा सन्देश दिए, अहँ, एकदुई दिनको रमाइलोबाहेक लामो असर देखिएन । पिँध नतातेपछि बिडमात्र तातेर के हुनसक्छ र ?
त्यसो त यसअघि पनि पूर्वराजाको सन्देशहरु कडा नै हुृने गरेको थियो । राजनीतिक दलहरुले आफूसित गरेको सहमति पालना नगरेको भन्ने देखि लिएर जनताका दैनिक समस्याहरुमा समेत त्यस्ता सन्देश, अन्तर्गार्ताहरु केन्द्रीयत हुने गर्दथे । तर त्यसबेला पनि एकदुई हललाखल्ला भयो । पछि सामसुम । अहिले त्यही हुँदैछ । पटक पटक भनिसकिएको छ कि अधिकांश नेपालीहरु बाध्यताले भए पनि कार्यकर्ता बनिसकेका छन् । यिनीहरु मनबाट निष्पक्ष भए पनि व्यवहारमा पार्टीका कार्यकर्ता भइसकेका छन् । कार्यकर्तामा विवेक देखिएन ।
नेपाली जनताले नै भौगनुपरेको पीडालाई संबोधन गरेर राजाले चिन्ता गरे पनि ध्यान आकृष्ट हुँदैन । यस्तै किसिमका बक्तव्य क.प्रचण्डले, प्रम ओली प्रति लक्षित गरेर दिएका भए यी कायृकताृहरु ओलीविरुद्ध नारा लगाउँदै तुरुन्तै सडकमा उत्रिन्थे । तर पूर्वराजाले देश र जनताकैपीडा देखेर साथ खोज्दा कोही सुर्रिएर सडकमा देखा परेनन् । गु र गोबर छुट्याउने विवेकसम्म देखिन्न । कोरोनाको उपचार पाउने अवस्था छैन, यस्तो अवस्थामा पनि ब्रम्हलूट मच्चाएको पनि थाहा छ तर जनता चुँइक्क बोल्दैनन् । जनतालाई आफ्नो सुरक्षा, उपचार आफै गर भनेर सरकारले हात उठाइसक्यो, त्यही सरकारलाई जनता समर्थन गरेर बसिरहेका छन् । यस्तो मुलुकमा सुशासन कसरी आउन सक्छ ?
यी पार्टीहरुले कार्यकर्ताहरुलाई पालेर राखेका छन् । यिनै नेताहरुले यी कार्यकर्तालाई संरक्षण गर्न सक्छन् । तर पूर्वराजासँग तत्काल कुनै आकर्षण गर्ने अवस्था देखिन्न । नेपाली जनता उनको भनाइ खुलेर किन लाग्ने ? नेपाली संचेतन बर्गलाई बलेको आगो ताप्ने बानी परिसकेको विश्लेषण भइरहेको छ ।
तत्काल पूर्वराजाबाट केही पाउने आशा छैन । खोजेको बेलामा दर्शनभेटसम्म पाउने अवस्था छैन । अनि नदेखिने आशीर्वाद दिन नसक्ने देउतालाई किन पूजा गर्ने । ०४६ सालदेखि व्यक्तिगत स्वार्थमा लिप्त हुन सिकेकाहरुले आफ्ना नेताहरुलाई बोहक गर्न किन पो सक्छन् र ? जनताले बुझेका छन्, तर किन बोल्ने ? भोलि वडादेखि सिंहदरवारसम्म काम पर्दा तिनै नेता र यिनै पार्टीको सहयोग चाहिन्छ । त्यसकारण नरवणे, सामन्त, महेन्द्र शाहीहरुको चर्चा गर्नु नै उत्तम ठान्छन् । किन पछि लाग्ने पूर्वराजाको ? देशको ठेक्का मैले मात्र लिएको छु र ? बरु नेताजीको चाकडीमा गयो भने आफ्नो व्यक्तिगत विकास हुन्छ । यस्तो भावना नेपालीहरुमा विकास भइसकेको छ । जबदेखि बुझ्नेहरु खाँटी कार्यकर्ता भए, तवदेखि राष्ट्र साइड लाग्यो । व्यक्तिगत, पार्टीगत स्वार्थलाई आत्मसात गरिसकेकाहरुले पूर्वराजाको राष्ट्रप्रतिको चिन्ता र चासोलाई किन पो ध्यान दिइरहन्छन् र ? ध्यान दिएर तत्काल पाउने लाभ नै के छ र ?
भन्नु नै पर्दा जनताको राष्ट्रप्रतिको बिमुखताकै कारणले पनि मुलुक डुबिसक्यो । लुटेर र डाँकामा बरु केही नैतिकता होला, यिनमा छैन । यति हुँदा पनि यिनीहरु सत्ताको शिखरमा छन् । किनभने विवेक लुकाउनेहरुले यिनलाई साथ दिइरहेका छन् । जोसँग भ्रष्टाचार र तानाशाही, विदेशपरस्त लम्पसारवाद र आफ्नै मुलुकमाथि गद्धारी, राष्ट्रघात छ, उनीहरु नै सत्तामा छन् । तैपनि नेपाली हाँसेरै बसेका छन् । अचम्मको लोकतान्त्रिक मुलुक बनेको छ नेपाल ।
त्यसकारण जति पनि यहाँ राष्ट्रभक्तहरु छन् तिनले, पूर्वराजाको सन्देश, वक्तव्यले सुनामी ल्याउँछ भनेर सोच्नु गलत हुनेछ । यहाँ राष्ट्रको चिन्ता कमैलाई छ । हिजो सबैका मनमा देशभक्ति हुन्थ्यो, अहिले त्यो अवस्था देखिदैन । जबदेखि परिवर्तनका नाममा भाँडतन्त्र आयो, तवदेखि जनता नै स्वार्थी भएर देखा परे । यस्ता जनताले चुनेर पठाउने र पठाएका नेता कस्ता होलान, अनुमान गरौं । यस्ता जनतासँग पूर्वराजाले पनि कति आशा राख्नु ? पुर्षाले निर्माण गरेको मुलुक धुस्नु भएर जाँदोछ । अव त्यसमाथि जनताले नै आँखा चिम्लिदिएर र सहिदिएर गलत प्रवृत्तिको समर्थन गरिदिएपछि यो मुलुक ढिलाचाँडो अस्तित्व नै नरहने दिशातिर गयो गयो । यो पक्का छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper