banner
banner

नवतानाशाहको जगजगी

स्वयम्भुनाथ कार्की---
जनतालाई अधिकार सम्पन्न बनाउने नाममा जनताको व्यक्तिगत स्वतन्त्रताको क्रमशः हरण हुनु आज मुलुकको नियति बनेको छ । विस्तारै विस्तारै एक एक गरेर व्यक्तिगत स्वतन्त्रताको हरण हुँदैछ । जनताको तन, मन र धनको मालिक वा हर्ताकर्ता बन्ने क्रममा राजनीतिक दलहरु छन । निर्वाचित संयन्त्रको हातमा सम्पूर्ण शक्ति रहनु सरसरी हेर्दा जनताको हातमा सम्पूर्ण शक्ति रहे भैm देखिन्छ । दलले दिएका उम्मेदवारहरु मध्येबाट आफ्नो भाग्य विधाता वा सर्वेसर्वाको चयन गर्नु जनताको बाध्यता हो । 
दलका उम्मेदवारहरुको प्रथम जवाफदेही आङ्खनै दलप्रति हुन्छ भन्ने कुरा मुलुकको अहिलेसम्मको राजनीतिक अभ्यासले प्रष्ट पारिसकेको छ । बहुदलीय संसदीय व्यबस्था प्रारम्भ भएदेखि नै जननिर्वाचित सदस्यहरुको पहिलो जवाफदेही आफ्नो माउ दल प्रति देखिएको छ । दलको ह्विप विपरीत जानको निमित्त कि त उनीहरुले आफ्नो सदस्यता गुमाउनु पर्दछ नत्र भने दल नै विभाजन गर्नु पर्दछ । आफुलाई मत दिने जनता सवैलाई आजसम्म सबै दलहरुले आफ्ना कार्यकर्ता नै ठानेका छन् अनि दलको हरेक निर्णयको आँखा चिम्लेर सम्मान गर्नु सर्बसाधारण जनताको एउटै मात्र कर्तव्य भएको छ ।
बर्षौ सँगै काम गरेका नेता वा कार्यकर्ताहरु विच पनि सामन्जस्य नरहेर दल फुटनु पर्ने स्थिति आउँछ भने चार या पाँच बर्षमा एक चोटी दिएको मतका कारण दलका नेताहरुको मर्जिलाई नै मन माने पनि वा नमाने पनि सर्बसाधारण जनताले शिरोधार्य नै गर्नु पर्ने बाध्यतालाई जनताको स्वतन्त्रताको नाम दिने हो भने त कुनै प्रश्न नै नउठला । तर, दलका नेता वा कार्यकर्ताहरु भने आफ्नो मर्जि अनुसार गर्न स्वतन्त्र हुने जनताले भने एक पटक मत दिएकै कारणले त्यो समयावधि भरी आफ्नो धारणा वा विचारमा परिवर्तन गर्न नपाउने अबस्थालाई जनता सार्वभौम भएको र आफ्नो ईच्छाको मालिक भएको भन्न कसको हिम्मत होला त ? 
वंशानुगत वा जनताको अभिमत चाहे जुन पृष्टभूमिबाट आएका शासकहरु हुन यदि मनोमानी गर्ने छुट पाउने र त्यसलाई सन्तुलन गर्ने पद्धति नहुने हो भने कुख्यात तानाशाह हुन्छन् भन्ने कुरा ईतिहासले नै सावित गरिसकेको छ । विश्व ईतिहासले क्रुर तानाशाह भनेका सबैजसो शासकहरु जनमतबाटै आएका छन् । पुरानो ब्यबस्थाको खोईरो खनाई विरोधले नयाँ व्यबस्था तानाशाही हुने खतरामा बृद्धि गर्दछ । उचित वा अनुचित जस्ता कदम भए पनि पुरानो ब्यबस्था फर्किने डर देखाएर समर्थन गर्न बाध्य परिनु नै नयाँ तानाशाहको आधारभूमि हो ।
कसैको व्यक्तिगत स्वतन्त्रता कुनै पनि वहानामा खोसिनु कहिल्यै पनि क्षम्य थिएन, न भविष्यमा नै हुनेछ । यो शाश्वत सत्य हो, शुतुरमुर्गले बालुवामा टाउको घुसारेर आफुलाई कसैले देखेको छैन, सुरक्षित छु भन्ने भ्रम पाले भैm भ्रम पाल्ने बित्तिकै सबैथोक ठिक भै हाल्छ भन्ने सोचले जर्मनीको समाजवादी दल नाजी वा इटलीको फासिष्ट दललाई भैm कुनै पनि दललाई गालीको पर्यायबाची बनाउँछ । उदाहरणको निमित्त मध्ययुगीन नेपालमा स्वर्णयुग भनिएको लिच्क्षवीकालको पद महासामन्त अहिले गाली गर्ने शव्द भएको छ । अंशुवर्मा स्वयं महासामन्त पदमा आसिन थिए जसलाई मुलुकमा अध्यावधि राष्ट्रिय विभूति भनिदैछ । 
त्यसै गरेर उतिखेरको जमिनको व्यबस्थामा प्रमुख भुमिका रहेका जमिन्दारलाई आज हेय दृष्टिले हेरिन्छ । अंशुवर्मा जस्ता आसिन भएको पद सामन्त पछिका सामन्तहरुको तानाशाहीले नै आज गालीको रुपमा स्थापित हुनपुगेको हो । यसै गरेर आज हालीमुहाली गर्ने दल, पद वा पद्धतिको नाम भोली गाली गर्ने शव्द नबनोस् भन्ने चेत आउन आबश्यक छ । किनकि यो पद्धति जनताको आँखामा कसिंगर हुनथालिसकेको छ । यो सत्य आत्मवोध नगर्ने हो भने भोलिका दिनमा बरदान भनेको सराप बन्न सक्छ ।
यदि एक पटकको समर्थन युगौंयुग रहने भएको भए जंगबहादुरले पाएको समर्थन र त्यसबाट प्रतिपादित एकसय चार बर्षे राणा शासन नेपालको कालो युग भनेर भनिने थिएन । २०१५ मा करिव एकलौटी बनाएको नेपालबाट नेपाली कांग्रेस सत्ताच्यूत हुने थिएन । क्रान्ति गरेर पुरानो व्यबस्था फालेका जनताले आपैmले अगाध समर्थन दिएर पठाएको कांग्रेसको सत्ता पतन हुँदा केवल बन्दुक वा सेनाको डरले चुप्पलागे भन्नु भनेको जनताको ठाडो अपमान हो । यस्तै स्थिति वर्तमान नेकपाको सरकारले भोलिका दिनमा भोग्नुपर्ने हुनसक्छ ।
जनताको व्यक्तिगत स्वतन्त्रता माथि हमला शासन तानाशाह जन्माउने प्रसवको तैयारी गर्दैछ भन्ने लक्षण हो । दम्भले चुर भएका शासकहरुले जनताको मुख थुन्न गरेका प्रयत्नहरु संविधान विपरित छन् । पञ्चायतकालमा मुख थुनिएको उदाहरण दिए पनि त्यो वेला संविधान तथा कानुलले नै केही कुरामा बन्देज गरेको थियो । कानुनले बन्देज नगरेको कुरा गर्न व्यवधान थिएन भन्दा अहिलेको त्यो काललाई कालरात्रि मात्र सुनेर हुर्केका पुस्तालाई आश्चर्य लाग्न सक्छ । तर आज यस्तो त पञ्चायतमा पनि थिएन भनेर भनिएका कुरा पञ्चायतमा हुन सम्भव नै थिएन । यहीकारणले चेत्ने इतिहासबाट शिक्षा लिएर हो, सोच्ने भावी दिनको अर्जुृनदृष्टि राखेर हो । जुन कुरा वर्तमान शासनकर्ताहरुको विवेकमै देखिदैन । जब गिदी भरिने दिमागमा लिदी भरिन्छ, उसका लागि लोकतन्त्र यस्तै निरंकूशतन्त्र हुनसक्छ । बिर्सनै नहुने सत्य के हो भने निरंकूशता कहिले पनि सर्वकालीक र स्वीकार्य हुनसक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper