banner
banner

हस्तिनापुरको रजाइ कि चपरीमुनीको बास

स्वयम्भुनाथ कार्की---
सत्ता र शक्ति हुँदाका पक्षधरहरु आफु पक्षधर भएको ढ्यांग्रो पिटछन् । तर परिआएको वेला काम नदिन सक्छन । सत्ताशक्ति बाहिर भएवेला शुभचिन्तक सुसुप्त हुन्छन्, आफुलाई प्रकट गर्न चहान्नन् । तर परिआए वेला पूर्ण समर्पणले साथ दिन्छन् । हुनत करुक्षेत्रमा पाण्डवका ८ र कौरवका १० अक्षहोणी सैनिक  थिए , तर चलाखी गरेर हात पारेको श्रीकृष्णका सैनिक र नकुल सहदेवका मामा शल्य उनीहरुले चाहेको पक्षमा लाग्न पाएका भए पाण्डव पक्ष नै धेरै हुने थिए । अनि पाण्डवले आफ्नो हक प्रारव्धको भरोसमा छोडेको भए त्यसको निमित्त संघर्ष नगरेको भए सबै शुभचिन्तकहरु निराश भएर साथ छोड्नु पर्ने अवस्थामा हुनेथिए । 
द्वापर युगमा जुवामा हारेको राज्य द्रौपदीको न्यायिक तर्कसंग नतमस्तक भएर सशर्त फर्काईएको थियो । शर्त थियो १२ बर्ष बनवास पछि १ बर्षको गुप्तवास यदि गुुप्तवास भंग भएमा फेरी त्यही १२ जोड १ को चक्र । कौरवको सोचमा १२ बर्षको बनवास पछि पाण्डवहरुले शुभचिन्तकहरु गुमाईसकेका हुनेछन् । थप १ बर्षको गुप्तवास भंग गर्न सकिएमा पाण्डव कहिल्यै बनबाट फिर्ता नै हुन्नन । तर बनबासको वेलामा पनि पाण्डवहरुको कार्यकलाप काम आदिको प्रचार रोकिएन त्यसैले शुभचिन्तकहरुले भुलेनन् । गुप्तवास सकेर शर्तअनुसार राज्यफिर्ता दिन कौरवले अस्विकार गरे सहमतीको उलंघन गरे । पाण्डवहरुको बलिया शुभचिन्तक नै छैनन् भन्ने सोचमा सुईको टुप्पो जति पनि राज्य दिन्न भने ।
आफुसँग २ अक्षहोणी सेना कम हुँदा पनि, अनि धुरन्धर महारथीहरुको कौरवको तुलनामा नागन्य हुँदा पनि पाण्डव निराश भएनन् । त्यही भनाई हो यो ‘हस्तिनापुरको रजाई कि चपरी मुनीको बास’ । १४ बर्ष पहिलेको भए पनि राजकुमार रामलाई जान्नेहरु अयोध्यामा थिए, राम कस्ता हुन भन्ने कुराको निमित्त बुढापाकालाई सोध्नुपर्ने अवस्था थिएन । त्यस्तै १२ जोड १ बर्ष पछि पनि युधिष्टिरको कमजोरी जुवालाई आधार बनाएर गरिएको अन्याय अरुबाट सुनेर हैन आपैmले देखेर जान्ने छूदै थिए । त्यसैले अरुले इतिहास नै नभने पनि पाण्डवलाई साथ दिन तैयार भए । यही कुरा २० बर्ष पछि या ३० बर्ष पछि भएको भए निश्चित नै धेरै निराश भई सकेका हुने थिए ।
त्रेतायुगमा मर्यादा पुरुषोत्तम रामलाई १४ बर्षको वनवास दिईएको थियो । कैकयीको त्यसवेलाको बुद्धि अनुसार अयोध्यावाशीले त्यो समयसम्ममा राम भुल्नेछन् भन्ने नै थियो । आफ्नो छोरा भरतले १४ बर्षको राजमा गरेको काम जस्तो भएपनि विकल्पको रुपमा राम खोज्ने छैनन भन्ठानेकी थिईन । भरतले रामको खराउ गद्धिमा नराखेर आपैm बसेका हुन्थे भने रामको फिर्ति त्यति भव्य हुने थिएन । किनभने भरतले पनि रामराज्य नै नभने पनि त्यसै सरह राजकाज चलाएका थिए । 
‘राजा’ महेन्द्रको कार्यकालको केही स्मरण हुनेहरु ६० नाघेका छन् अनि करिव त्यही उमेर ३६ सालको जनमत संग्रहमा मतदान गर्नेहरुको पनि भएको छ । केही बर्ष पछि यी पनि गनगने बुढाबुढीमा रुपान्तरण हुनेछन् । त्यसपछि महेन्द्रको कुरा किंवदन्ती हुने छ, त्यसैपनि नराम्रो वा राम्रो किंवदन्तीहरु प्रचलनमा आउन थालीसकेका छन् । कुनै उनको राष्ट्रप्रेमलाई अतिरञ्जित गरेर भने, कुनै उनलाई सत्तालोलुप बनाएर । राजा कुना लगाएर जबरजस्ती गणतन्त्र लादेको समयको नेपालमा जन्मेको बालक पनि अव किशोर भएको छ । उसको निमित्त त राजा तथा राजतन्त्र दन्त्य कथा नै हुनसक्छ । होला, कोही राजा भएको वेलाको प्रशासक होला, कोही आलोचक । त्यो पिँढी अहिले भोग्दै गरेको शासन प्रणालीसँग असंतुष्ट होला तर विकल्पमा उसले के सोच्ला ? राजसंस्था वा राजतन्त्र राम्रो थियो भन्ने माने पनि वा नराम्रो माने पनि आफ्नो भोगाई सहज बनाउन के उसले राजसंस्था विकल्प मान्ला ? नयाँ पुस्ताले राजतन्त्रलाई पहिलो र अन्तिम बिकल्प मान्ला कि नमान्ला ? लोकतन्त्र भोगिरहेको वर्तमान पुस्ताका लागि राजतन्त्र रामराज्य हो कि कथामात्र ? यो नै यक्षप्रश्न हो, अहिलेको निमित्त ।
हो वर्तमानमा ४० कटेकामा विकल्प राजसंस्था सोच्नेहरु छन् । तर त्यो मुनीकाले त महशुस गर्न पाउनु प¥यो । यसका लागि राजसंस्थाले देखिने, भोगिने गरी सार्वजनिक हुनुप¥यो । मात्र पर्व पर्वका वक्तव्यवाजी पढ्नका लागि चित्ताकर्षक होला, पढेर मात्र नदेखिएको, नभोगिएको राजतन्त्रप्रति नयाँ पुस्ताले कसरी मनस्थिति निर्माण गर्ला र ? 
वर्तमान कालखण्डमा समयले खडा गरेको धारिलो यक्ष प्रश्न के पनि हो भने जतिजति आफुलाई राजसंस्थाले जनताबाट ओझेल पार्दै लान्छ त्यति त्यति सम्झनाका लागि मात्र उसको प्रशंसा त होला तर जीवनपद्धतिमा विकल्प हुने दावी हार्दै जान्छ ।
सत्यलाई स्वीकार गर्नुपर्छ । हत्केलाले सूर्यलाई छेकेर सूर्य छेकिन्न । अर्थात सत्यलाई जतिसुकै तोडमोड गरे पनि सत्य सत्य नै हुन्छ । गहना बन्नका लागि सुनले पनि आगोमा पोलिनैपर्छ, हम्मरले पिटिनै पर्छ । राजसंस्था सून हो, यसमा शंका छैन तर जनजीवनको आगोमा पोलिन र खरीमा घोटिन डर मानेर कुना बसिरहने हो भने फेरि पनि प्रश्न उही उठ्छ– जतिजति आफुलाई राजसंस्थाले जनताबाट ओझेल पार्दै लान्छ त्यति त्यति सम्झनाका लागि मात्र उसको प्रशंसा होला तर राष्ट्रिय जीवनपद्धतिमा विकल्प हुने दावी हार्दै जान्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper