banner
banner

न जनता छन्, न राजावादी पार्टीहरु

राकेश कुमार शर्मा–
मुलुकमा जनताहरु भए पो ? पार्टी छन्, राजतन्त्रप्रति इमानदार पार्टी भए पो ? नाम मात्रको राजावादी पार्टीहरु छन् ! यहाँ इष्र्या र घमण्ड बाहेक एक आपसमा मेलमिलाप कसैको छैन ? सबैलाई ठूला ठूला पद र मान सम्मान चाहिएको छ । फर्केर हेरौं, वास्तवमा भन्ने हो राजावादी पार्टीहरुको कमी कमजोरीको कारण नै राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई नै जिम्मा लगाउने परिस्थिति आएको हो । कोठे क्रान्तिकारी कुरा सबैले गर्छन्, इमानका साथ, निष्ठाका साथ राजतन्त्र र हिन्दुराष्ट्रका लागि कोही अगाडि सर्र्दैनन् ।
राजावादीको नामबाट जति पनि राजावादी पार्टीहरु छन्, एकढिक्का नहुनुमा दोषीहरु को को ? के नाम मात्रको राजावादी पार्टी हुन्छ र ? राजावादीको नाममा संचालित जति पनि पार्टीहरु छन्, वास्तविक राजावादीहरु नै हुन् त भन्ने प्रश्न चिन्ह खडा भएको छ । राजालाई खोपीको देवता पनि भनिन्छ । राजालाई दरबार अर्थात निर्मल निवास भन्दा बाहिरको मुलुकको वास्तविकताहरु बारे नै अवगत हुन पाउँदैन भन्ने गुनासोहरु बेला मौकामा सुन्न पाइन्छ सत्य तथ्य के हो ?
पूर्वराजा ज्ञानेन्द्र शाहले यसखालका मुखले ठिक्क राजभक्तहरुले पुनः राजगद्दीमा ल्याएर राख्लान भन्ने भ्रममा नपर्नु होला भन्ने मेरो आग्रह छ । हाम्रो मुलुक नेपालमा वास्तविक जनताहरु नै छैनन् । राजनीतिक पार्टीका कार्यकर्ताहरु छन् । राजाले यसरी सजिलैसँग सत्ता छोडेको इतिहास कतै पनि छैन । मुलुकमा जनताहरु भएको भए पो राजाको महत्व र योगदानलाई कदर गर्थे ।
राजाको पालामा मालपोत तिर्नु पर्दैन थियो । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई एकीकृत सम्पत्ति कर तिर्नु पर्दैन थियोे । सांसदहरूको संख्या अधिकतम २०५ भन्दा बढी थिएन । अहिले संघीय संसद र प्रदेश संसद गरी ८८४ जना सांसदहरूको संख्या छ । मुलुकमा जनताहरु भए पो यी कुराहरू समझमा अर्थात दिमागमा आउँथ्यो । राजाको परिवारहरुले खाएको सहन भएन तर अहिले ८८४ जना राजारुपी सामन्त सांसदहरूले राज्यकोष ढुकुटी ब्रहम्लुट गरेको कसैले देख्दैनन् । मुलुकमा जनताहरु भए पो ?
राष्ट्रिय बजेटको अभावमा पनि राजाहरुसँग चेतना, दुरदृष्टि र दुरदर्शिता थियो । मुलुकमा पाँच विकास क्षेत्र, राष्ट्रियसभा गृह, प्रज्ञा प्रतिष्ठान, खुलामञ्च, टुंडिखेल, दशरथ रङ्गशाला, एयरपोर्ट, पूर्वपश्चिम जोडने राजमार्ग, चीन जोडने अरनिको राजमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग, विश्वविद्यालयको नाममा बल्खुको डाँडाको जग्गा छुट्टयाइएको, चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिघा जग्गा छुट्टयाइएको, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिंग अस्पताल, राष्ट्रिय नाचघर, प्राविधिक शिक्षालयहरु, प्रदर्शनी मार्ग, क्याम्पसहरू, ट्रलीबस, रोपवेहरु, औलो उन्मूलनदेखि पुनर्वाससम्मका विशाल योजनाहरु र आयात निर्यातमा सहज हुने गरी विराटनगर लगायतका औद्योगिक क्षेत्र, ठूला ठूला उद्योगधन्दाहरु आदि आदि जस्ता मुलुकमा भएका थुप्रै ठाउँहरु राजाहरुकै देन हो । मुलुकमा जनताहरु भए पो यी सबै कुराहरू बुझ्ने थिए ? मुलुकमा छोटो मानसिकता र अबुझहरुको झुण्ड छ । यही झुण्डलाई भ्रमित पारी पारी लुट्ने चङ्ख राजनीतिक व्यवसाय चलिरहेको छ ।
राजा ज्ञानेन्द्र शाहलाई मेरो सुझाव र सल्लाह हाम्रो मुलुकमा जनताहरु छन् र जनताहरुले राजगद्दीमा बसाली देलान् भन्ने भ्रममा पर्नु भयो भने सय वर्षमा पनि मुलुकमा राजसंस्था फर्कन सक्दैन, जुन असम्भव पनि छ किनभने नेपालमा वास्तविक जनताहरु नै छैनन् । जनतालाई पार्टीहरुले भुलभुलैयामा पारेका छन् ।
राजा ज्ञानेन्द्र शाहले राजदरबार छोडनु भन्दा पहिले पत्रकार सम्मेलन मार्फत दिएको सन्देशको दृश्य हेर्ने हो भने नियम, ऐन र कानुन बमोजिम विक्रम सम्वत २०४७ सालको संविधानको अन्त्य भएको छैन । यसकारण पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूका नेताहरूलाई जिम्मा दिएको नासो तत्काल जनताको नेतृत्व लिएर र कुटनीतिक प्रयास मार्फत फिर्ता लिने समय आइसकेको छ अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहले अब सत्ता खोसेर लिनुपर्ने समय आएको छ । यसका लागि ढाडमा हाड र देशको भार त बहन गर्नैपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper