banner
banner

आखा चिम्लेर ऐना, बुझ पचाएर प्रशंसा

स्वयम्भुनाथ कार्की---
आचार्य बिष्णु शर्माले उद्दण्ड राजकुमारलाई योग्य राजपुरुष बनाउने शिक्षा दिन रचना गरेको ग्रन्थ हो पञ्चतन्त्र । शिक्षा लिएको जस्तो नलागी नै सिक्न निमित्त रचना गरिएको यो तन्त्रको वास्तविक रचनाकाल कहिले हो भन्नेमै अनेकौ किंवदन्त छन । कोहीकोही चाणक्यको अर्को नाम बिष्णु शर्मा हो भन्दछन्, त्यसै पनि वर्तमानमा चाणक्य नीतिको लहर चलेको छ । विदुर नीति, शुक्र नीति, बृहस्पति नीति जस्ता दर्जनौ वेग्ला वेग्लै नीतिकारका नीतिलाई चाणक्य नीतिको रुपमा पस्कने गरिएको छ । त्यतिमात्र नभएर आफुलाई मन परेको कुनै पनि कुरालाई चाणक्यको तस्वीर टाँसेर उनैको नीति बनाउन पनि पछि परेका छैनन्, मोतिराम भट्टले भानुभक्तका भेटन नसकेका श्लोकहरु आपैmले रचे भैm ।
‘यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोति किम् । लोचनाभ्यां विहिनस्य दर्पणः किं करिस्यति ।।’ 
यो त्यही पञ्चतन्त्रबाट लिइएको श्लोक हो । यसले भन्छ यो प्राज्ञ होइन त्यसले शास्त्र के गर्छ, जसको दुई आखा नै छैन त्यसले ऐना के गर्छ । यहाँ बिष्णुशर्माले पढेलेखेर उपाधी प्राप्त, वर्तमानमा प्रमाणपत्र प्राप्त प्राज्ञ हैन भन्ने कथा पनि सामेल गरेकाले यो शव्दले शिक्षितमात्र भन्दैन । सहज बुद्धि, ज्ञानको प्रयोग कौशल अनि ज्ञानार्जन क्षमता यहाँ प्राज्ञ हो । प्राज्ञ शास्त्रको सही प्रयोग प्राज्ञले मात्र गर्न सक्छ, केवल शिक्षितले हैन भन्ने यसको आशय हो । आँखा नभएकालाई ऐना र गैर प्राज्ञलाई शास्त्र उस्तै हो, उपयोग हुन सक्दैन बरु दुरुपयोग भईदिन्छ ।
यही शिक्षित तर गैरप्राज्ञको हातमा शास्त्र परेको परिणाम सनातन समाजले लामो समयदेखि भोग्दै आएको छ । सतीप्रथालाई हिन्दुत्वको अंग मान्नेहरुले रामायणमा रामको बनवास पछि अयोध्यामा स्वागत गर्ने कौशल्या, केकयी र सुमित्रा दशरथको मृत्यु पछि किन थिए भन्ने जवाफ दिन सक्दैन । कतै कुनै स्त्रीले पति विगोगमा प्राण त्यागेको दुर्लभ घटनालाई आधार बनाएर सतीप्रथा चलाई अरु अंशियारले अंश एकलौटी बनाउन गरेको प्रयत्नमा शास्त्रको दुरुपयोग गर्ने गैर प्राज्ञ पण्डितहरु नै हुन् । अनि यस्तै व्याख्याहरुको आधारमा आफ्नो सनातनलाई गाली गर्नै प्रगतिशिल हुनेहरु त कसरी पो प्राज्ञ र ?
वर्तमान नेपालमा यस्ता प्राज्ञहरुको बाहुल्यता छ जो बुझ पचाएर आफुलाई प्रगतिशिल, अग्रगामी देखाउन तल्लिन छ । ऐनाको समुन्ने आँखा चिम्लेर अरुले आफ्नो मुहारको गरेको बर्णन पत्याउनु ठूलो विद्वता देख्छन् । जसले आफु सम्मोहित भएको देखाउन सक्यो त्यो नै ठूलो भएको मान्यता राख्नेहरुले ढाक्दै गएको छ । आज नेपाल यस्तो मुलुक भएको छ जहाँ विश्वमा नाम कमाएका शल्यचिकित्सकहरु अल्पशिक्षित नेताबाट शल्यक्रियाको प्रवचन सुनेर लाभान्वित हुन्छन् । अनि बाहिर निस्केर तिनै भन्छन नेता हुने योग्यता तोक्नु पर्दैन र ?
नामी अर्थशास्त्रीहरु लाभान्वित हुन अर्धशिक्षित मन्त्रीको प्रवचन सुन्न घण्टौ प्रतिक्षा गर्छन् अनि वाहिर आएर भन्छन्– अव चुनाव लड्न न्यूनतम योग्यता तोक्ने वेला भयो ।
आचार्य बिष्णु शर्माले त दुवै आँखा नभएकालाई ऐनाको के काम मात्र भनेका थिए । तर युगौ पछि यस्तो पनि मुलुक हुनेछ जहाँ ऐनाको सामुन्ने गएपछि मान्छेले आँखा चिम्लने छन् भन्ने के थाहा ?
प्राज्ञको परिभाषामा पर्न सक्नेहरु आ–आफ्नो आराध्यको अनुसार बुझ पचाएर आफ्नो सहज बुद्धिलाई छेउ लगाएर प्रशंसा र विरोध गर्छन् भन्ने के थाहा ?
निर्वाचनको मौसममा वफादारिता सावित गर्न पाउमा विछिएर जनता मुर्ख बनाउने अनि बाँकी दिन साखुल्ले भएर तिनै नेतालाई गाली गर्ने काम ऐनाको सामुन्ने आँखा चिम्लेको हैन र ? बुझ पचाएर प्रशंसा गरिएको हैन र ? 
आफ्नो योगदानले जितेको व्यक्तिले गरेको राम्रो काममा छँति फुलाएर घिरौला जत्रो नाक पार्ने अधिकार हो । त्यसै गरेर उसले गरेको हरेक नराम्रो कामको नैतिक दायित्व लिने काम पनि आफ्नै हो । गोप्य मतदानमा अरु कसैले नदेखेको होला तर आफ्नो आत्माले त देखेको छ । ‘माछा देख्दा दुला हात साँप देख्दा पाखा हात’ गर्नु बुझ पचाउनु हो ।
अन्तमा यस्ता बुझ पचाई देखाउने एक उदाहरण– संविधानसभाबाट संविधान निर्माण हुनु युगान्तकारी घटना हुन् । गणतन्त्र हामीले ल्याएका हौं, अव नयाँ नेपाल बन्छ । पञ्चहरुले भ्रष्टाचारमात्र गरेका थिए, अव हामी युग परिवर्तन गरेर देखाइदिन्छौं ।
पद्धति परिवर्तन युगान्तकारी घटना हो । आवधिक निर्वाचन त पहिले पनि हुन्थ्यो, अव पनि हुनेनै छ । तर आयो के, भयो के, पाइयो के ? देखियो के ?
समाजलाई सभ्य बनाउने एकजना युग पुरुष जन्म्यो यो वीचमा । जतिसुकै भुइँमा न भाँडा भए पनि भोग्ने नेपाली जनता नै हुन्, हामी नै हौं । के भोगिरहेका छौं, सभ्य समाज कि भ्रष्टाचारले थिलथिलो बनाएको कुशासन ?
तैपनि यी अग्रगमनकारीहरु भनिरहेका छन्– युग परिवर्तन गरियो ।
युग परिवर्तन भयो कि उनीहरु आफै परिवर्तन भए, आफ्ना नातागोतालाई परिवर्तन गराए । नेता भनेका सेवक हुन्, मालिक बनेका छन् त ? जनताका, समाजवादका, सर्वहाराका नेता हौं भन्नेहरुले आफै मालिक बन्ने परिवर्तन ल्याए, यो युग परिवर्तन हो ?
यही युग परिवर्तन हो भने जो जनप्रतिनिधि, नेता, शासक, प्रशासक बनेका छन्, तिनले आँखा चिम्लेर ऐना हेरिरहेका छन् । बुझ पचाएर आत्म प्रशंसा गराएर आत्मरती गरिरहेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper