banner
banner

यस्तो हुन्छ राष्ट्रिय प्राथमिकताको योजना

– धर्मरत्न श्रेष्ठ –
नेपालको राष्ट्रिय प्राथमिकताको आयोजना भनेको कि त मेलम्ची खानेपानीजस्तो छ, कि बबई सिंचाई आयोजनाजस्तो । कहिले पनि पूरा नहुने । यता तराई द्रुतमार्ग भनौं वा मध्य पहाडी मार्ग, यी पनि सपना आयोजना हुन्, सधैँ बनिरहन्छन्, कहिले पूरा हुँदैनन् ।
राष्ट्रिय प्राथमिकताका आयोजना भनेको सय वर्षसम्म राष्ट्रलाई लाभकारी हुने आयोजना होस् न । जनताको जीवनस्तर उकास्न सहयोगी हुने र देशको आर्थिक र रोजगारी बढाउने आयोजना होस्, त्यस्तो पो प्राथमिकताको आयोजना हुन्छ । नेपालमा जे जति प्राथमिकताका आयोजना छन्, कृषि सामग्री कम्पनीजस्ता छन्, जहिले पनि भ्रष्टाचारमात्र हुने र कहिले पनि लक्ष्य पूरा हुँदै नहुने ।
नेपालका प्राथमिकताका आयोजना भनेको त महाकाली सन्धिजस्तो हो । हरेक ठूला नदीनाला भारतका जिम्मामा दिएर आर्थिक लाभ र विकासको सपना देख्ने काममात्र गर्छँैं । ब्राजिलपछिको धनी जलस्रोतको मुलुक नेपाल १८ घण्टाको लोडसेडिङबाट बल्ल मुक्त भएको छ, त्यो पनि पानी भारततिर र भारतबाट बिजुली किनेर । विद्युत उत्पादनतिर आत्मनिर्भरताको पाइला त चालिएको छ, सुनजस्तो पानीको महत्व हामीले कहिले पनि बुझ्न सकेनौं । तेश्रो विश्वयुद्ध पानीकै कारणले हुन्छ भन्ने भविष्यवाणी भइरहेका बेलामा हामी पानी निशुल्क बगाइरहेछौं । हामी वीरका सन्तान, कहिलेसम्म यसरी मूर्ख बनिरहेन होला ? कसैमा चिन्ता छैन ।
चीनले सिन्जियाङमा एक हजार किलो मिटर सुरुङ बनाएर ब्रम्हपुत्रको पानी डाईभर्ट गर्ने, चीनलाई हराभरा पार्ने र भारतमा जलसंकट उत्पन्न हुने खतराको घण्टी बजाउनेजस्तो परियोजना सुरु गरेको छ । जहाँ कहीँ बादल ल्याउन सक्ने, वर्षा गराउन सक्ने, असम्भव योजना पूरा गरिसकेको चीनको ब्रम्हपुत्र नदी नै डाइभर्ट गराउने योजना सम्पन्न गर्नेमा कसैले पनि शंका नगरे हुन्छ ।
चीनले अब तिव्वतबाट भारत हुदै बग्ने बिशाल नदी ब्रम्हपुत्र र सिन्धु नदीलाई एक हजार किलो मिटर लामो सुरुङ मार्फत डाईभर्टको काम गरीरहेको अमेरीकी अखबार ईपोच टाईम्सले प्रकाशन गरेको छ । चीनमा ब्रम्हपुत्रलाई यार्लुङ जांगबोको नामले चिनिन्छ, यो प्राथमिकताको परियोजना मार्फत सिन्जियाङलाई अमेरीकाको क्यालिफोर्निया सरह विकास गर्ने चीनले रणनीति रहेको बताइन्छ ।
यस परियोजनाको लागि चीनले ११.७ अर्ब डलर खर्च गरेर सन् २०१७ बाट नै युनानबाट सुरुङ निर्माण भईरहेको भनिएको छ । लद्धाखमा चीन र भारतबीच तनाव बढीरहेका बेला अब पानी विवाद पनि नयाँ स्तरमा देखा पर्न थालेको अनुमान गरिएको छ । नेपालले पानी राजनीति र विकास बुझ्ने कहिले ? जबसम्म नेपालले हिमाल र पानीको महत्व बुझ्दैन, तवसम्म विकासशील मुलुक पनि बन्न सक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper