banner
banner

सबै चोखिए, जग्गा दलालीका दोषीहरु

– धर्मरत्न श्रेष्ठ –
प्रधानमन्त्री निवास अर्थात ललितानिवास जग्गा प्रकरणमा शीर्ष नेताहरु सबै पोलिए, सबै दोषी देखिए । छानबिन भयो र थप छानबिन सरकारले गर्छ भनेर प्रधानमन्त्रीले फाइल नै दमपच पारिदिए । अख्तियार प्रमुख थिए नविन घिमिरे, उनले चुँइक्कै बोलेनन् । सर्वोच्च अदालतले समेत ठाडै कारवाही गर्नसक्थ्यो । सरकारका अन्य विभागहरु पनि छन्, कोही पनि जवाफदेहीतामा निम्छरो देखिए । यो त काले काले मिलेर खाउँ भाले तन्त्र हुनगयो । अव लोकतन्त्रमा नियन्त्रण र सन्तुलन छ भन्न सकिदैन । निरंकूशता भनेको यही हो ।
यतिमात्र होइन, सत्तारुढ दलका महासचिवका छोराका नाममा रहेको ८ आना जग्गा फिर्ता गर्छु भन्ने कागज गराएर मुद्दा नै तामेलीमा राखिदिए । अख्तियारजस्तो संवैधानिक निकाय सरकारको हनुमान बनेको दृश्यले लोकतन्त्र भ्रष्टाचारतन्त्रमा परिवर्तन भइसकेको दृष्टान्त देखायो । यतिमात्र होइन, नयाँ नेपाल बनाउने, स्वच्छ प्रशासन दिने ठूला ठूला नेताहरु जग्गा दलाली काण्डमा फसे तर सरकारले नचाहेपछि यी सबैलाई पञ्चखत माफी भएको छ । कानुन भनेको त कमजोरका लागि रहेछ, सानालाई ऐन, ठूलालाई चैन भयो । लोकतन्त्र नाङ्गेझार भएको दृश्य हो यो । नैतिकहीनताको पराकाष्ठा । जुन देशमा यसरी नैतिकताको स्खलन हुन्छ, सत्ताधारी र प्रभावशालीले जतिसुकै राज्य अपराध गरे पनि छुट पाइन्छ, त्यो देशमा गणतन्त्र होइन, गन–तन्त्र हुन्छ । नेपालमा अहिले चलिरहेको व्यवस्था गन–तन्त्र हो । यो व्यवस्थामा बाहुबलीले जतिसुकै अपराध गरे पनि बाह्रमज्जा छ । यहाँ कसैले कराएर कानुनले सुन्दैन, कानुनी कारवाही हुँदैन । नेपाल बिस्तारै जंगलतन्त्रतिर लाग्योभन्दा हुन्छ । आमनागरिक भन्छन्– लोकको अपमान पनि लोकतन्त्र हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper