banner

भ्रष्टलाई पनि तक्मा ?

अधिवक्ता गंगा दहाल– 
डा.सन्दुक रुइतले तक्मा पाएकोमा सबैले प्रशंसा गरेको सुनियो ।
राष्ट्रले दिने तक्मा सत्पात्रले पायो भनेर जनताले प्रशंसा गरुन् न, तव न तक्मा, मानपदवी, पुरस्कारको ओजन बढेर जान्छ । गतवर्षहरुमा भ्रष्ट, नक्कली सर्टिफिकटधारी र गलत पात्रहरुले तक्मा पाएका थिए । यसपाली सबैभन्दा बढी आलोचित व्यक्तिहरुले पनि तक्मा पाएछन् ।
हालै अवकाश पाएका नवीनकुमार घिमिरेले प्रशिद्ध प्रबल जनपद श्री तक्मा नै पाएछन् । के काम गरेर पाए ? ठूला ठूला भ्रष्टाचारका मुद्दालाई तामेलीमा राखे बापत पाएको आरोप पनि लाग्यो । एक हजार घूस खायो भन्ने आरोपमा एकजना कर्मचारीले आत्महत्या नै गर्नुप¥यो, विशेष अदालतले उनलाई सफाइ दियो, उनकी श्रीमती रोएर भनिन्– इज्जत गयो, आत्महत्या भयो, एउटा परिवारको अन्त गरियो, अव सफाइ पाएर कहाँ राखुँ ?
३८ क्विन्टल सुनदेखि ४ अर्व ३५ करोड वाइडबडी काण्ड, ३३ किलो सुनदेखि ललिता निवासको जग्गा प्रकरणसम्मका मुद्दाहरुमा अख्तियार प्रमुख भएर सरकार र नेकपाको चाकरी गरेबापत यति ठूलो तक्मा पाएको हो ? हो भने यो देशको दुर्भाग्य हो । तक्माको अपमान हो । सही काम गरेर पाएका हुन् भने सरकारले प्रष्टिकरण दिनुपर्छ । यसरी जनतलो तिरेको करको रकमबाट बनेको र राष्ट्रले दिने सम्मानको दुरुपयोग हुनु नेकपाको सरकारकै गलत निर्णय हो ।
संविधान दिवसका दिने तक्माको महत्व गिराउने काम नगरौं । पञ्चायतकालमा चन्दा दिएवापत तक्मा दिइन्थ्यो । अहिले नेता रिझाएवापत तक्मा पाइन्छ । दुबै गलत परम्परा हो ।
संविधान दिवसका दिन खुलामञ्चमा टपरी थापेर खाना खाने गरीवहरुको भीड प्रधानमन्त्रीले किन देखेनन् र हेलिकोप्टरबाट फुल बर्षाएर संविधान दिवस मनाइयो । फूल वर्षाउन हुने लाखौं खर्चले कोरोना पीडित र ती भोका भुइँमान्छेहरुलाई खानाको व्यवस्था गर्न सकेको भए, नेकपा नेतृत्वको सरकारको जयजयकार नै हुन्थ्यो । आज भोकाहरु, रोगीहरु सरकारलाई सरापी रहेका छन् । लोकतान्त्रिक सरकार यस्तै हुन्छ ?
हुन त संविधानको जन्म अस्वभाविक रुपमा भएको हो । पहिलो संविधानसभाले सकेन, दोस्रो संविधानसभाले पनि बल्ल बल्ल फास्ट ट्या्रक अपनाएर जारी गरेको हो ।
जारी हुने पूर्वसन्ध्यामा गोली चलेको थियो । मानिस मरेका थिए । नागरिक मरेको जुठो लागेको बेलामा जारी भएकोले पनि हो कि यो संविाधन न पूर्ण छ, न लोकहितकारी । न पवित्र ग्रन्थ बन्यो, न सर्वग्राह्य । यो संविधानबाट गणतन्त्रको गण निकाल्ने हो भने तन्त्रमात्र बाँकी रहन्छ । यथार्थमा यो संविाधन तन्त्रमात्र हो । तन्त्रको अगाडि भ्रष्टाचार जोडे पनि भयो, अनैतिकता जोडे पनि भयो । असक्षम जोडे पनि भयो ।
अचम्म त के पनि छ भने संविधान मान्दैनौं भन्ने पनि छन्, कालो दिन कालो संविधान भन्ने पनि छन् । त्यही संविधानको शपथ खाएर मन्त्री हुने पनि छन् । यो संविधानको सफलता भनेको अवसरवादीका लागि ताक परे संविधान नत्र सडक गान हो ।
यस हिसावले हेर्ने हो भने यो संविधान सफल संविधान हो । जतिसुकै अपराध गरे पनि छाती फुकाएर, जयजयकार गराएर हिड्न पाइने गजबको संविधान हो यो । वर्तमान नेपालमा यही लोकतन्त्र छ, यही गणतन्त्र छ । यसर्थ सफल छ ।
गजब छ यो संविधान । जनताले चुनाव हराउँछन्, चुनाव जितेकाले तिनैलाई सांसद बनाउँछन् । अव मन्त्री प्रधानमन्त्री पनि बनाउलान् । सक्नेले जतिसुकै र जे गरे पनि हुने रबरजस्तो छ संविधान । जति तन्काए पनि नछिन्ने । संविधानको यही सफलताका कारण आज अपराधीलाई जतिसुकै अपराध गर्न छुट छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper