banner
banner

बालदिवस अर्थपूर्ण हुनुपर्छ

देवी काफ्ले--
२०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस वीचमा रोकिएर २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो  । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण  गरी भारतबाट फर्केपछि  आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ  । ४ भाद्रका दिनलाई राष्ट्रिय बालदिवसको रूपमा देशले ४२ वटा बालदिवस मनायो । दिवस त धेरै मनायो तर बालबालिकाको अवस्था उहीँ छ । खासै परिवर्तन भएको पाईएको छैन । बालअधिकार र कर्तब्य पनि सिकाउने र सम्झाउने बेला हो । ताकी देशको भबिष्य उज्ज्वल बनोस् । जबसम्म बालबालिका शिक्षित र स्वस्थ्य हुन सक्दैनन् तबसम्म एउटा सफल र सम्बृद्ध देशको कल्पना पनि गर्न सकिँदैन ।
 लोकतन्त्रको स्थापनापश्चात  लोकतन्त्रले बालदिवसका मितिलाई पनि परिवर्तन गर्यो । वास्तवमा बिसं २०४६ सालको प्रजातन्त्रको पुनस्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसङ्घ बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले भाद्र २९ गते यो दिवसलाई देशव्यापी रूपमा मनाउने गरिएको हो । आजसम्म जुन ढङ्गबाट बालदिवस मनाइएको थियो । त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढङ्गबाट अधिकारमुखी समानुपातिक ढङ्गबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रूपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ  ।
२०६३ साल अघीसम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरी बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्रसङ्घ बालअधिकार सम्बन्धी महासन्धि १०८९ र २० नोवेम्बरलाई सन् १९९० र १४ सेप्टेम्बर २९ भाद्रमा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रूपमा मनाउने निर्णय गरिएको हो । २९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रूपमा मनाउने कार्यको थालनी भएको छ । यसले पहिलो बालदिवस मनाउने कामको थालनी गरेको मान्न सकिन्छ । यद्यापि २९ भाद्रमा राष्ट्रिय बालदिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ तर मूल कुरा बाल दिवस कुन दिन मनाइन्छ भन्ने मात्र होइन  । यस्ता दिवसहरूलाई वास्तविक रूपमा तमाम बालबालिकाको प्रत्याभूत गराउन सकिएन भने खासै अन्तर हुने छैन विगत र वर्तमानको बालदिवसमा । बालदिवस कस्तो हुनुपर्दछ त वा भनौं बालदिवस कसरी मनाउनुपर्दछ त यो आम रूपमा उठिरहेको विषय हो  । तर पनि हामीले बालदिवसलाई  औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं कि खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । झण्डै आधाआधी जनसंख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रूपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । नयाँ नेपालको दृष्टिकोणकमा त्यसलाई पुनर्परिभाषित गरिनुपर्दछ । व्यापक बहसको जरुरी छ । नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको सार्थकतालाई बुझाउन सक्नुपर्दछ । त्यसको साथै बालअधिकारको विषयमा के कस्ता राम्रा काम गर्यौं कति उपलब्धी प्राप्त गर्यौं कति चुनौतीहरू आए प्रतिबद्धता पूरा भए कि भएनन् जस्ता कुराहरूको समीक्षा हुनु पनि जरुरी छ । अहिलेको सन्दर्भमा बालसहभागिताको कुरा गरिराखेको छौं । ती कुराहरू सहज र सरल भाषामा उनीहरूबीच अन्तरक्रिया गर्ने काम गर्नुपर्दछ । बाल सहभागिताकै दृष्टिकोणबाट कुरा गर्ने हो भने त्यस्ता कार्यक्रम तर्जुमा गर्दा उनीहरूको साथमा बसेर कार्यक्रमको उद्देश्य के हो प्रक्रिया के हो र उनीहरूलाई त्यो त्यसमा कसरी समावेश गर्ने भन्ने सोच्नु अनिवार्य रहेको छ । जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन यसको सार्थकता त्यति हुन सक्दैन  । यसका लागि केन्द्र देखी स्थानिय तह सम्मका यस क्षेत्रमा क्रियाशिल बालअधिकारकर्मी गैरसरकारी संस्थाहरू सरकारका विभिन्न निकायहरू मन्त्रालय केन्द्रीय बाल कल्याण समिति लगायतका निकायहरू बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जरुरी छ ।
अबको जिम्मेवारी स्थानीय सरकारको हो । आजसम्मको अवस्था जस्तो थियो चल्यो तर अब धेरै सुधार गर्नु पर्ने अवस्था छ । शिक्षा र स्वास्थ्य बालबालिकाका लागि अपरिहार्य कुरा हुन् । सहज पहुंच गराईदिनु पर्छ ।
शहर र तराईमा जति बालबालिकाले आफ्ना अधिकार प्रत्याभुत गर्न पाएका छन् त्यसको तुलनामा बिकटका जिल्लाका बालबालिकाले त्यो अबसर पाएका छैनन् । जसको कारण हो भौगोलिक बिकटता अनि अत्याधिक गरिबी तथा अशिक्षा प्रमुख हुन् । जसका कारण न त राज्यले दिएको सुबिधाका बिषयमा जानकार छन् न त उनिहरुका अधिकारका बिषयमा नै जानकार छन् । गरिबीले घरमा एकछाक पेटभर खान नपाउने एउटा टालो लाउन नपुगेका बालबालिका मनग्गे हृदयबिदारक कथा छन् । अनि तिनै कथा ब्यथा बोकेर भारतको शिमलासम्म पुगेर खच्चर र घोडामा यात्री ओसार्दै एक निबाला जोहो गर्न बाध्य छन् । आज पनि यी बालबालिकाका कथामा केही परिवर्तन आएको छैन । कारण हो सरकारी तथा गैर सरकारी संस्थाहरुको कमण्डलु भांचिने डर । आज संघिय सरकारको शासन शुरु हुँदा पनि सरकार ती बालबालिका सम्म पुग्न नसक्ने किन त ? अनि गाउँघरमा गरिबीका कारण शिक्षा र स्वास्थ्यबाट बन्चित बालबालिकाका लागि स्थानीय निकायले कस्ता योजना ल्याउनु पर्ने हो ल्याईयो कि ल्याईएन छलफलको बिषय हो ।
पहाडी जिल्लाका ती गरिब बालबालिका आज पनि ईट्टाभट्ठा, यातायातका साधन, होटल रेष्टुरेन्ट, ग्यारेज, फर्निचर उद्योगमा श्रम बेच्न बाध्य छन् तर स्थानीय सरकार काम गर्दै छौं भन्छन् बजेट बिनियोजन गर्छन् अनि बजेट कहाँ जान्छ थाहा छैन  ।
बर्सेनि बालदिवस मनाउने बालबालिकाका अधिकारका बिषयमा यस बर्ष पनि भब्य कार्यक्रम होलान्, मन्त्रीहरुले दुईचारको अभिभावकत्व ग्रहण गर्नुहोला तर ती गरिब बालमजदुरको अवस्था उस्तै रहने होला । समस्या पहिचान गरि देशका सबल नागरिक तयार गर्ने वातावरण सृजना गरि बालदिवसको सार्थकता दिलाउन पहल होस् । शुभकामना ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper