banner
banner

मोटो दुब्लाउन्जेल दुब्लो मरिसक्छ

प्रा.डा. जनार्दन सुवेदी

कोरोना नामको एउटा सूक्ष्म भाइरसले सारा संसारलाई तबाह गरिरहेको छ । भाइरससँग जुधिरहेको आजको अवस्थाभन्दा पनि यसको प्रभावले भविष्यमा सिर्जना गर्ने संकटबाट विश्वलाई ठुलो क्षति हुने छ । कोरोना भाइरसपछिको विश्वको शक्ति सन्तुलनमै फेरबदल आउन सक्ने अनुमान गर्न थालिएको छ । सूचना प्रविधिको क्षेत्रमा भएका पछिल्ला चमत्कारहरु पनि यस भाइरसका सामुन्ने निरीह भइरहेका छन् । कोरोना भाइरसले आज त विश्वमा जनधनको क्षति गरेको छ नै, त्यसबाहेक यसको समाधानपछि पनि यसले पार्ने असरको अनुमानित आँकडाले साँच्चिकै डरलाग्दो चित्र सार्वजनिक भइरहेको छ । भाइरसले दिएर जाने पीडा भुल्न यो समाजलाई निकै समय लाग्ने छ, जसरी सदस्य गुमाएको परिवारले त्यो पीडा बिर्सन समय लिन्छ । 

जुन समाज भाइरसभन्दा छिटो दौडिरहेको छ, त्यो समाज कमसेकम छेकबार लगाउँदै सहज परिस्थितिमा अवतरण गर्न सफल भइरहेको छ । तर जुन समाज भाइरसको पछिपछि लागिरहेको छ, त्यो समाजले ठुलो नोक्सानी व्यहोरिरहेको छ । शक्ति सम्पन्न र विकसित भनिएका मुलुकले समेत संकटको सामना गरिरहेका बेला हाम्रो देश चाहिँ के गरिरहेको छ रु हाम्रो चासोको विषय त्यही हो । हाम्रो देश भाइरस रोक्न त्यसअघि दौडिएर रणनीति बनाइरहेको छ कि भाइरसको पछिपछि घिस्रिएर दुःख पाइरहेको छ रु अहिलेसम्मको सरकारी तयारी र चालढाल हेर्दा यो भन्न कुनै हिच्किचावट मान्नुपर्ने अवस्था छैन कि– हामी भाइरसको पछिपछि हिँडिरहेका छौं । 

भाइरसले आफ्नो क्रिया गर्छ, त्यसपछि हामी प्रतिक्रिया दिनेबाहेक केही गरिरहेका छैनौँ । झन् हामीलाई त भाइरस रोकथाम गर्ने मात्रै होइन, उसको प्रवेशपछि पनि त्यसको अघि दौडिएर ठाउँठाउँमा छेकबार लाउन सक्ने प्रशस्त समय उपलब्ध थियो । प्राप्त भएको अवसर र उपलब्ध भएको समय दुवैको उपयोग गर्न नसकेका हामी आज मृत्युको संख्या गणना गर्ने अवस्थामा आइपुगेका छौँ । हामीले आज भोगिरहेको अवस्था यति भयानक छ कि हाम्रो समाजले यसको कल्पना समेत गरेको छैन । हुन त यस्तो अत्यासलाग्दो विषयको उजागर गरी समाजलाई आतंकित बनाउने मेरो उद्देश्य पक्कै पनि होइन । तर भाइरसको रोकथामका लागि अग्रमोर्चामा खटिएको सरकारको रबैयाले हामी चनाखो हुनुको कुनै विकल्प छैन । देशभर १–२ जनाको मृत्युको खबर सुन्दा केही होइन भनी लापरबाह भएका हामी दिनको ५–१० हुँदै दिनकै २० जनाको मृत्युसम्म आइपुगेका छौँ । यो त सरकारी तथ्यांक मात्रै हो । हाम्रो भौगोलिक बनावट, सामाजिक परम्परा र संस्कार समेतलाई मध्यनजर गर्दा यो संख्या पक्कै पनि धेरै हुने सजिलै अनुमान गर्न सकिन्छ । 

बहुसंख्यक हिन्दू संस्कार र रीतिरिवाज अपनाउने नेपाली समाजमा मृत्यु हुनेबित्तिकै अन्तिम संस्कार गर्ने प्रचलन छ । दुर्गम हिमाली र पहाडी बस्तीहरुले भरिएको हाम्रो देशमा मानिस बिरामी हुनेबित्तिकै उसको चिकित्सकीय अनुसन्धान भएको होला भनेर पत्याउन सकिने आधार छैन । साविकका गाविस र वर्तमानका वडा कार्यालयमा रहेका स्वास्थ्य चौकीहरु चौकीदारको भरमा खुल्ने र बन्द हुने गरेको यथार्थ आज पनि कसैले लुकाएर लुक्ने अवस्था छैन । काठमाडौँ या सहरी क्षेत्रबाट सोच्दा वडा भन्नेबित्तिकै केही मिनेटको यात्रा बुझिए पनि अधिकांश भूभागमा चाहिँ वडा कार्यालय भनेको कम्तीमा ४ घण्टाको पैदल यात्रापछि मात्रै पुगिने ठाउँ हो भनेर बुझ्नुपर्ने हुन्छ ।

त्यस्तो भौगोलिक बनावट र अविकास रहेको हाम्रो समाजका दूरदराजमा यस भाइरसले पारिरहेको अवस्थाको कल्पना गर्दा पनि मलाई अत्यास लागेर आइरहेको छ । यो भयाभह अवस्था रोक्नका लागि सरकारको उपस्थिति निम्छरो छ । सरकारले हामीलाई विगत ६ महिनादेखि घरमै बन्द गरेर आफू कोभिडविरुद्ध लडिरहेको बताइरहेको छ । तर यथार्थमा हामीलाई घरभित्रै बन्दी बनाएर सरकार र सत्तारुढ दल आफ्नो सत्ताका लागि लडिरहेको लोकले प्रष्ट देखेकै छ । 

देशले महासंकट भोगिरहेका बेला मानिसको जीवन बचाउन खरिद गरिएका औषधिजन्य सामग्रीमा समेत ¥याल काढ्ने नेपालको जस्तो सरकार सायद संसारको कुनै पनि देशमा छैन होला । बिरामी भएर जनताको जीवन बचाउन आवश्यक समय दिन नसकेको भन्दै पदबाट बिदा लिएका सिन्जो आबेलाई देखिरहेको नेपाली समाज देशको भन्दा आफ्नो स्वास्थ्यका लागि बढी समय दिनुपर्ने बिरामी प्रधानमन्त्रीलाई बोक्दा कस्तो महसुस गर्दो होला रु यी सबै कारणले बर्तमानमा कोरोना भाइरसले नेपाली समाजलाई उद्वेलित बनाएकै छ । कामना गरौँ, नेपाली समाजले योभन्दा बढी मृत्युको संख्या गणना गर्नु नपरोस् । तर हामीले कामना गरेर मात्रै पनि पुकारा सुनिने छाँटकाँट देखिएको छैन । भाइरसको संक्रमण डढेलोझैँ फैलिरहेको छ भने मृत्यु संख्या पनि दिनानुदिन बढेको बढयै छ ।

कोरोना कालमा हामीले भोग्नुपर्ने दुःख यतिमै सकिएलान् भनेर ढुक्क हुने अवस्था छैन । त्यसैले कम्तीमा सचेत नेपाली नागरिकको यो कर्तव्य बन्न जान्छ कि, उनीहरु विश्व स्वास्थ्य संगठनले आधिकारिक रुपमा अघि सारेका पूर्व सचेतनाका मापदण्ड पूरा गरून् र बाँकी समाजलाई पनि त्यो गर्न सहयोग गरून । यतिमात्रै होइन कोरोना संकटले निम्त्याएको लामो समयको बन्दाबन्दीले कतिको चुह्लो बल्न छोडेको होला । सरकारको क्षमता र कार्यशैली हेरी हरनागरिकले आफ्नो समाज जोगाउन भूमिका खेल्ने बेला पनि हो यो । हाम्रो नेपाली समाज सदियौँदेखि सुखदुःखमा मिलेर बसेको समाज हो । हामी एकलाई दुःख पर्दा अर्को सहयोगको हातसहित अघि सर्छौं । यस्तो बेला पनि हुने खानेहरुले हुँदा खानेहरुलाई हृदयदेखि नै सहयोग गर्नुप¥यो । सरकारको मात्रै भर परियो भने हामीले निकै दुर्दिनहरु भोग्नुपर्ला भन्ने भयले मैले यो समाजसँग यसरी आग्रह गरिरहेको छु । 

वर्तमानमा हामीले पाइरहेको पीडा मात्रै होइन, सिंगो देश र समाजले कोरोनापछि पनि निकै समस्या भोग्ने मैले अनुमान गरिरहेको छु । सायद सरकार चलाउने र चलाउन सहयोग सल्लाह दिनेहरु वास्तवमै हामी सर्वसाधारणभन्दा अद्भूत क्षमता भएकाहरु होलान् । उनीहरुले पनि सम्भावित संकटको तयारी गरेकै होलान् । तर सरकारमा बस्नेहरुले कोरोना कहरसँग जुध्न सकिरहेको छैन भन्दा उनीहरुबाट एउटा गज्जबको धारणा सुन्ने गरिरहेको छु आजभोलि मैले । उनीहरु भनिरहेका छन्, ठुलठुला देशले पनि सकिरहेका छैनन्, अमेरिकामा के भइरहेको छ , इटालीमा के भइरहेको छ आदि । हो नयाँ भाइरसले ती देशहरु जहाँको सबै व्यवस्था चुस्त दुरुस्त थियो, त्यहाँ पनि तबाही मच्चायो । तर वर्तमान तबाही उनीहरुको कोरोना कहर रोकिने बित्तिकै बिर्सिन सक्छन् । किनकि उनीहरु बलिया छन्, मोटा छन् । मतलब उनीहरु आर्थिक रुपमा सबल छन्, बलिया छन्, मोटा छन् । उनीहरु सहयोग लिनका लागि होइन, लामो समयदेखि सहयोग दिनका लागि हात अघि बढाइरहेका छन् । उनीहरुसँग सबै कुरा छ । कोरोना कहर रोकिनेबित्तिकै पीडामा मल्हम लगाउन उनीहरुसँग अतिकति कमजोरै भए पनि अर्थतन्त्र बाँचेकै हुने छ । त्यसको व्यवस्थान गर्नका लागि छरितो र जनउत्तरदयी सरकार पनि हुने छ । 

हामीले किन त्यस्ता देशहरुसँग तुलना गरिरहका छौँ, मैले बुझिरहेको छैन । एकपटक सोचौँ त हामीसंँग के छ । सियोदेखि जहाजसम्म आयात गर्छौं हामी । अर्थतन्त्रको मुख्य हिस्साको रुपमा रहेको रेमिट्यान्स ठप्प भएको महिनौँ भइसक्यो र आउने कैयौं समयसम्म यो यस्तै रहने पक्कापक्की नै छ । भर्खरै बामे सर्न थालेको पर्यटन उद्योग धुजाधुजा भएको छ । अरु त वास्तवमा भन्ने हो भने हामीसँग उद्योग नै छैन । भएका तिनै सेवामूलक उद्योगका रुपमा रहेका बैंकिड र वित्तीय संस्थारु हुन्, जसले अर्थतन्त्रमा यसअघि नै त्यस्तो सहयोग गरेका थिएनन् । रेमिट्यान्सको रोकावटले हाम्रो समाजको क्रयशक्ति क्षीण हुने छ भने मानिसहरुले दैनिक जीवन चलाउन पनि धौधौ पर्ने निश्चित जस्तै छ ।

एउटा आशाको रुपमा रहेको कृषिको हविगत पनि नेपालबाट प्रकाशित भएका ताजा तस्बिरहरुले देखाइरहेका छन् । माक्र्सवादको व्याख्या गर्न सक्ने दर्शनशास्त्रीको परिचय बनाएका नेता घनश्याम भुसालले समालेको कृषि मन्त्रायबाट पाउनुपर्ने मल नपाएर किसानहरु छटपटाइरहेका तस्बिरले मन अमिलो मात्रै बनाएको छैन, आगामी भयको मात्रालाई झन बढाइदिएको छ । कोरोना महामारीको समेत पर्वाह नगरी मल पाउने आशामा कैयौँ किलोमिटर लाइन लागेका तस्बिरले कृषिबाट पनि आशातीत योगदान होला भनेर विश्वास गर्ने अवस्था छैन । त्यसो हुँदा हामीले तथ्यहरुको अध्ययन र धरातलको पहिचान नै नगरी अन्य देशसँग तुलना गरिरहेका छौँ । त्यो निकै दुःखदायी कुरा हो । नेपाली शासकहरुलाई हेक्का होस्, मोटो दुब्लाउन्जेलसम्म दुब्लो मरिसक्छ भन्ने तीतो यथार्थ । उनीहरुले तुलना गरिरहेका देशहरु मोटा छन्, उनीहरुलाई कोरोना कहरले दुब्लोसम्म बनाउला, मारिहाल्दैन । तर नेपाल त अहिले नै दुब्लो छ । अनि ती मोटा देशहरु दुब्लो हुन्जेल हाम्रो देश मरिसक्ला भन्ने किन हेक्का नराखेको रु त्यसैले अन्य देशले पनि सकिरहेका छैनन्, त्यसैले हामीले मात्रै हो र भनेर उम्किने छुट हामीलाई कहाँ छ र रु त्यो वास्तविकतालाई मध्यनजर गर्दै ओली जी र उनका सारथीहरु देश र जनताप्रति संवेदनशील होऊन् भन्ने मेरो कामना छ ।


साभार लेख

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper