banner

एउटा पराई हस्तक्षेप अर्को आफ्नैअतिवाद

– धर्मरत्न श्रेष्ठ –
१. पराइ अतिवाद ः
भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरामा लामो समयदेखि भारत बस्दै र चलाउँदै आएको छ, त्यसैले त्यसबारेमा वार्ता हुनसक्दैन भनिरहेको छ ।
नक्सामा देखाउने, नक्साअनुसारको भूमि फिर्ता लिनेतिर एक कदम नै नसार्ने सरकारले त्यही भारतसँग वार्तामा बस्न लागेको छ । भारतीय प्रवक्ता भनिरहेका छन्, पटक पटक भनिरहेका छन्– ती भूमि भारतकै हुन् । भारतीय भूमिका विषयमा वार्ता हुनसक्दैन । नेपाली भूमिमा भारतीय सेना राखेर त्यही भारतसँग वार्तामा बस्नु भनेको नैतिकरुपमा भारतको दावी मानेको ठहरिदैन र ? नेपालले खोई भन्नसकेको– अतिक्रमित भूमि नै वार्ताको प्रमुख एजेण्डा हुनेछ । भारतीय सेना फिर्ता लैजाउ ।
नक्सा जारी गरेपछि सरकारले आफ्नो काम सकिएको जस्तो चुपचाप छ । नक्सा अध्यावधिक भएर हुन्छ, भूमि पनि नेपालको हकाधिकारमा आउनुपर्छ । सम्पूर्ण नेपाली एक भएर साथ दिएका छन्, सरकार सत्तालिप्सामा हराइरहेको छ ।
यो समय नेपाली एकताको बलले नेपाली भूमि फिर्ता ल्याउने समय हो । तर सत्तारुढ नेकपा शक्ति बाँडफाँडमा व्यस्त छ । नागरिक कोरोना र भारतीय कहरबाट प्रताडित भइरहेका छन्, सरकार यसतिर गम्भीर नै छैन । कतै नेपाल सरकार नेपाली भूमि भारतलाई हिल्ला लगाउन भारतवादी भएको त होइन ? त्यसै पनि नापीका कर्मचारीहरुले भारतले तैयार गरेका स्ट्रिप नक्सामा सही गरेर थुप्रै नेपाली भूमि भारतलाई दिइसकेको रहस्य खुल्यो, सरकार सच्याइन्छ भन्छ । सरकार कर्मचारीको गल्ती सच्याउँछ कि अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउँछ ?
आफैभित्रको अतिवादः
वानेश्वरको मिलनचोक, शनिवारदेखि हामी अतिवादी भएको टोल बन्यो ।
सिभिल अस्पतालका डाक्टर र नर्सलगायतका स्वास्थ्यकर्मी बस्ने होस्टल बानेश्वरवासीले घेराउ गरेछन् । डाक्टर र नर्स टोलमा बस्दा कोरोना फैलिन्छ भनेर स्थानीयले स्वास्थ्यकर्मीमाथि हुलहुज्जत नै गरेका छन् । स्वास्थ्यकर्मीमाथि संखुवासभा, विराटनगर, वीरगञ्ज, चितवन, जाजरकोटतिर पनि दुव्र्यवहार भएको छ ।
हामी कोभिड– १९, कोरोना भाइरससँग जुद्धै छौं कि स्वास्थ्यकर्मीसँग ।
स्वास्थ्यकर्मीहरु अस्पतालहरुमा ज्यानको जोखिम उठाएर उपचार गरिरहेका छन् र हुनसक्नेजति सबै सावधानी अपनाइरहेका छन् । बानेश्वरका उदण्डहरु स्वास्थ्यकर्मीलाई टोलमै बस्न नदिने भन्छन् र यसैगरी दुव्र्यवहार गरिरहन्छन् भने बिरामीहरुको उपचार कसले कहाँ कसरी गर्नसक्छन् ? अनि स्वास्थ्यकर्मीमाथि हूल हुज्जत भइरहदा निषेधाज्ञा पालना गराउन सडक सडकम खटिएका सुरक्षाकर्मीहरु यस्ता उदण्डहरुको तमासाचाहिँ किन हेरिरहेको होला ?
मुख्य सवाल भनेको कोरोना कसैको मामा वा दाजु होइन । असावधानीले जो जसलाई पनि लाग्न सक्छ । के वानेश्वरबासी अमृत पिएर अमर भएका त होइनन् होला, उनीहरु पनि बिरामी हुनसक्छन् । त्यसो भए वानेश्वरवासी कुनै पनि अस्पताल, स्वास्थ्यकर्मीकोमा कहिले पनि आउन्नौं भनेर लेखेर दिनसक्छन् ?
स्वास्थ्यकर्मीहरु कोरोना सार्नका लागि होस्टलमा बसेका त पक्कै होइनन् । उनीहरु समुदायमा घुलमिल हुन पनि गएका छैनन् । टोलमा बस्दैमा, पूर्ण सावधानीका साथ बस्दैमा कसरी वल्लोपल्लो घर, टोलमा कोरोना सर्नसक्छ ? के कोरोना हावाबाट सर्ने रोग त हुँदै होइन । फेरि स्वास्थ्यकर्मीभन्दा सावधान अरु को होला ?
हामी पराईको अतिक्रमण भोगिरहेका छौं । आफै अतिवादी पनि बनिरहेका छौं, यो हाम्रो कमजोरीमा सुधार भएन भने हामी वल्लो किनार न पल्लो तीर हुनेछौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper