banner
banner

अदालतले फैसला गर्ने कि न्याय ?

अधिवक्ता गंगा दाहाल---
आफ्नै श्रीमती गीता ढकालको घाँटी थिचेर बिभत्स हत्या गर्ने पूर्व डिआइजी रन्जन कोइरालाले सर्बस्व सहित जन्म कैदको सजाय भएको थियो । न्यायाधीशको ‘कमलो चित्त’ दुःखेकाले ती हत्याराले ८ बर्ष ६ महिनामा उन्मुक्ति पाएका छन् । कलिला बालबालिका बलात्कार गरी हत्या गर्ने हत्यारालाई सम्झन्छु, दाइजो नल्याएको भनी बुहारी र श्रीमती जलाएर वा कुटेर मार्नेलाइ सम्झ्न्छु, आफैले जन्माएकी छोरी बलात्कार गर्ने बाबुलाई सम्झन्छु, यस्ता अपराधीहरुले यसरी नै  कैद भुक्तान छुट पाउँदै जाने हो भने अपराध र अपराधीको मनोबल गिर्ने होइन बढ्ने पो देखियो । फितलो कानुनमा टेकेर अपराध बढ्दै जाने हो कि ? पावर र पैसा हाबी भएर...। महिला बचाओ बचाओ चिच्याइरहिन्, कसैले बचाएनन् ।
रञ्जन कोइराला रिहा भएपछि प्रश्न उठेको छ– अदालतले फैसला मात्र गर्छ कि न्याय दिन्छ ? स्वविवेकले फैसलामात्र गर्दा आस्था घट्दै गएको पक्का हो ।
दोष संसदको हो । कानुन कार्यान्वयन गर्ने न्यायाधीशलाई स्वविवेक प्रयोग गर्ने अधिकार किन दिएको ? न्यायाधीश पनि मान्छे हो, मान्छेको विवेक कहिले कहिले अनेक कारणले चिप्लिन्छ । न्यायाधीश चिप्लिदा कानुन उत्तानो पर्छ । प¥यो ।
न्यायाधीशको ‘चित्तमा लागेको’ फैसलाले देशैभरि आक्रोशको लाभा देखियो । सर्वोच्च अदालतका फैसला गर्ने न्यायाधीश विरुद्ध सडकमा जनताको तीब्र बिरोध भइरहेको छ । यस्ता न्यायाधीशमाथि महाभियोग लगाउनु पर्ने माँग उठेको छ । संसदमा बहस होला, न्यायाधीशले हत्याराको आँसुका नाममा सेटिङ र सम्पत्ति हेरेको आरोप पनि लागेको छ । न्यायको अन्धो आँखा नोटले खुलेको आरोप छ । न्यायाधीश नियुक्तीदेखि फैसलाहरुसमेत पुनरावलोकन गर्न जरुरी देखियो ।
गैंडा मार्नेलाई १५ वर्ष कैद, गोरु काट्नेलाई १२ वर्ष कैद, मान्छे मार्नेलाई ८ वर्ष ? मान्छे होइन, स्वास्नी मारेको हो भने श्रीमती मान्छे नै होइनन् त ?
अदालती बन्दोबस्तीको दफा १८८ र फौजदारी कशूर तथा सजाय ऐनको दफा १७ (क) ले न्यायाधीशलाई स्वबिबेकको अधिकार दिइयो किन ?
अपहरण गर्नेहरुलाई सरकारले छुँदै नछने, ज्यानमारा जड्याहलाई धरौटीमा छाड्ने, भ्रष्टाचारी, हत्याराछाड्ने आदेश दिने अदालत, उनीहरु चक्रवर्ती महाराजले लडाइ जिते जसरी बिजयी मुद्रामा पो निस्कन थाले । के हो यो आश्चर्य ? अदालतको मान सडकमा पानी पोखिएजसरी पोखियो, लोकतन्त्रको दुर्भाग्य हो यो । पूर्वराजाले समेत बोल्न बाध्य भएका छन्– जब न्यायालयप्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य संकटमा पर्छ । यथार्थ हो यो ।
पक्का छ, युवतीको मुहारमा एसिड फाल्नेले रक्सी भनेर हानेको एसिड परेछ भनेर बयान दिएको छ । यो बयान आफैमा बचाउन सिकाएको बयान हो । न्यायाधीशको चित्त पग्लन्छ, यस्ता अपराधीले उन्मुक्ति पाउँनेछन् । सर्वोच्चले अराजकता निम्त्याएको छ, जनप्रतिनिधिमाथि दबाब सिर्जना भएको छ ।
महिलालाई न्याय छ भने कहाँ छ ? देशमा प्रधानन्यायाधीश, सभामुख पनि महिला बनेकै हुन्, महिला हिंसा घटेन । राष्ट्रपति महिला नै हुनुहुन्छ, महिला हिंसा झन बढेर गएको छ । अव त श्रीमती हत्या गरेर जन्मकैद ठहर गर्ने अदालतले नै चित्ता दुख्या भनेर रिहा गर्न थालेको छ । यो देशमा के भइरहेको हो यो ?
कानुन छ भने कहाँ छ ? न्याय छ भने कहाँ छ ? जनताले अनुभूत गर्न पाउनुपर्छ कि पर्दैन ? पर्छ भने यो जनताले सडकमा प्रदर्शन गरेर बिरोध गर्नुपर्ने यो कस्तो फैसला हो ? कुन प्रकृतिको न्याय सम्पादन हो ? संविधान खराव कि शासक, कानुन खराव कि व्यवस्थापन ? दोष खुट्याउने र दोष मेट्ने कहिले ?
किनकि श्रीमती मारेर जेल गएको प्रहरी अदालतकै हत्या गर्न सफल भयो ।
लोकतन्त्र कहाँ छ भनेर खोज्नुपर्ने दिन आयो । लोकतन्त्र भनेकै बिधिको शासन हो । बिधि जब यसरी लड्खडाउँछ र नेकपाको दुई तिहाइको बहुमत भिजेको परालखुट्टे देखिन्छ, लोकतन्त्र टाक्सिएर जान्छ । हामी लोकतन्त्र मान्छौं कि मान्दैनौं, यो पद्धतिको विकासका पक्षमा हामी छौं कि छैनौंं, छौं भने बिधिको शासनलाई मजबुत पार्न अदालतलाई मन्दिर बनाउनतिर लाग्न जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper