banner
banner

तेजाव आतङ्कीलाई कडा दण्ड जरुरी भो

बरिष्ठ अधिवक्ता शिव सिग्देल
यी हामी छोरी, बहिनी, हुन् । चाहे जुनसुकै बहानामा होस्, तेजाव हानेर जीवन नष्ट गरिदिने छुट कसैलाई पनि छैन । पक्राउ परेपछि रक्सी भनेर छ्यापेको, तेजाव रहेछ भनेर प्रहरीलाई बयान दिनु पनि षडयन्त्र हो । यस्ता खाले कुनै पनि बहाना वा षडयन्त्र तेजाव आतङ्कीलाई बचाउने प्रयत्नमात्र हो, यस्तो आतङ्क पटक पटक भइरहेको छ, बारापर्सादेखि राजधानीमै दोहोरिने क्रम जारी छ ।
यी पवित्रा कार्की, जीवनको सुन्दर कालखण्ड देख्न पनि नपाउँदै एउटा आतङ्कीले मुखमै तेजावले हानिदियो र जीवन नै नष्ट गरिदियो ।
बुझ्नेका लागि पवित्रका आँसु आगो हो, उनको पीडा दावानल हो, पवित्रालाई बचाउने, उपचार गर्ने र आतङ्कीलाई कडा दण्ड दिने र भविष्यमा यस्ता घटना नदोहोरियोस् भनेर रोकथाम गर्ने जिम्मा पनि सरकारकै हो । यस्ता आतङ्कीलाई छुटाउन राजनीतिकरण हुनु, पैसाको लेनदेन गरिनु र छुट दिनु भनेको यस्ता अपराधलाई मलजल गर्नु हो । यस्ता अपराध नहोस् भन्ने सरकार चाहन्छ भने अपराधीमाथि कडाभन्दा कडा कारवाही हुनुपर्छ, यसको विकल्प छैन ।
र, आगामी दिनमा कुनै पनि महिलाले यस प्रकारका तेजावबाट जल्नु नपरोस् । जुनसुकै परिवारका सदस्य अपराधीको सिकार हुनसक्छन् । यसकारण न्याय प्रणालीमा आतङ्कीमाथि शून्य सहनशीलताका साथ दण्ड हुने व्यवस्था गर्न जररी देखिएको छ ।
तेजाव किन खुला रुपमा विक्री हुन्छ, तेजाव विक्रीमा नियमन किन हुनसक्दैन ? तेजाव आतङ्की मुद्दा फास्टट्य्राकबाट हेर्ने अदालती व्यवस्था तत्काल हुनुपर्छ । तेजाव आक्रमण गर्ने जो कोही हुन्, उसका लागि जन्मकैदको व्यवस्था हुनुपर्छ । र, सरकारले तेजाव आतङ्कमा परेकाको उपचार खर्च निशुल्क हुने व्यवस्था गर्नैपर्छ ।
र, यस्ता आततायी घटना बेहोरालाई जीवनभर सरकारले भरणपोषणको व्यवस्था गर्नुपर्छ । कतिपय कुरुपमात्र हुन्छन्, कतिपय अपाङ्ग हुन्छन्, कतिपय मानसिकता खलबलिन पुग्छन् । यस्तालाई राज्यले संरक्षण दिनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper