banner
banner

महिलालाई कालोमोसो दलेर घुमाइयो

अधिवक्ता गंगा दाहाल--
महिला बचाओ बचाओ भनेर चिच्याइरहिन्, कसैले बचाएनन् ।
चरित्रहीन, बोक्सी भनेर अर्धनग्न पारियो, अनुहारमा कालोमोसो दलियो र गाउँ घुमाइयो । पीडित महिला भन्छिन्– कसैले लठ्ठीले, कसैले मुक्का हाने । कसैले कपाल काटिदिए, कसैले ढुङ्गाले पनि हाने । कसैले हात समातेर घिसारे, मलाई बचाउने कोही भएनन् । प्रहरीलाई यस्तै बयान दिएकी छिन् यी एकल महिलाले । आज देशमा कोही बढी पीडित छन् भने एकल महिला छन् । लोग्ने मर्नासाथ तिनीहरुमाथि चरित्रहीन र बोक्सीको आरोप लगाइन्छ ।
पेटिकोटसमेत च्यातेर गाउँ घुमाउनु, योभन्दा अत्याचार के हुन्छ ? भनिन्छ, महिला आधा आकाश हुन्, आधा आकाश यसरी पीडामा छन् । उमादेवी ठाकुरलाई न्याय दिन, उनीजस्ता अन्य महिला हिंसा रोक्न कानुनका रक्षकहरु सवल छैनन् ।
कानुन छ, स्थानीय निकाय बलिया छन् तर महिला हिंसा बढेका छन् ।
यो घटना पर्सा छिपहरमाई गाउँपालिका ३ जयमंगलापुर गाउँमा गत बिहीवार घटेको हो ।
४८ वर्षकी यी एकल महिलामाथि परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाइयो र यिनैलाई बोक्सी, डायन पनि भनियो ।
 उमादेवीलाई घरबाट लघार्नकै लागि उनका देवर राजदेव शर्मा, गाउँपालिका सदस्य सुवास साह, सञ्जय गिरी, मुन्नीलाल परदेशी र राजदेव शर्मासहितका ७ जनाले उनकी दुई देउरानीसँग मिलेर यो अत्याचार गरेका हुन् । महिलामाथि यति गम्भीर दोष, हदैसम्मको यातना । यो यातना कानुनमाथिको मजाक हो । स्थानीय निकायको गैरजिम्मेवारीका कारण घटेको हो । सिंहदरवार गाउँ गाउँसम्म पुगेको छ, सिंहदरवारले न्याय दिन सकेको देखिन्न । महिलाहरु यसरी घरेलु हिंसाबाट समाजमा बहिष्कृत हुनेसम्मको जोखिममा छन् । यो प्रतिनिधि घटनामात्र हुन्, पहाडदेखि तराईसम्म यस्ता घटना दिनहुँ घटिरहेका छन् ।
प्रहरी छ, प्रहरी आयो, महिलामाथि हुनसम्मको अत्याचार भएपछि आयो र छानबिन भइरहेको जनायो । महिलालाई बचाएको दावी प्रहरीको छ । तर प्रहरीले यति गम्भीर घटनामा दोषीमाथि कडा कारवाही गरेको छैन, तमासे बनेको छ ।
एउटी अवलामाथि हदैसम्मको अपमान हुनु भनेको कानुनको अपमान हो । हामी लोकतन्त्रवादीहरुको अपमान हो । महिलाको संरक्षण गर्न नसक्ने स्थानीय निकायको अपमान हो । ५ सन्तानकी आमामाथि यति ठूलो अन्याय, संसददेखि शीतलनिवाससम्मले यो घटनामा चासो राख्नुपर्छ र देशका कुनै पनि भागमा यस्ता घटना नघटुन भनेर सुरक्षाकर्मीमाथि कडा निर्देशन दिनुपर्छ ।
यी अवला न्याय माँगिरहेकी छिन्, तमाम लोकतन्त्रवादीले यिनलाई न्याय पाउने अवस्था सिर्जना गरिदिनुपर्छ । कानुन छ भने देखिनुपर्छ । प्रहरी भन्छ– ती महिलामाथि जे भयो, निन्दनीय घटना भयो । अनुसन्धान भइरहेको छ । अनुसन्धान हुने र पीडकलाई कारवाही नहुने हो भने पीडितमाथि थप अन्याय हुन्छ । पीडकहरुका हौसला बढ्छ । समाज स्वस्थ र समुन्नत हुनसक्दैन । फौजदारी संहिताको १६८ ले अमानवीय व्यवहार गर्नेमाथि ५ वर्षको कैदको व्यवस्था छ । प्रहरीले समाजमा क्यान्सर जसरी फैलिएको महिला उत्पीडनमाथि दण्ड दिलाउन सक्छ ?
साना साना विषयमा हल्लीखल्ली गर्ने संचेतन बर्ग र सरकारी निकायहरु महिला भविपष्यका विषयमा मुख खोलिरहेका छैनन्, यो अर्को आश्चर्य हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper