banner
banner

महिलाका लागि न्याय अझै सहज छैन

देवी काफ्ले--
महिला हिंसाका रुप अनेक छन्  । लैंगिक, जातिय, वर्गिय अनि सामाजिक हिंसा । आजको शताब्दीमा पनि हिंसा बढ्दो छ तर न्याय पिडितको पहुँच भन्दा बाहिर छ आखिर किन त ? यही हो बिधिको शासन ?
समाजमा नारीलाई दुई प्रकारले हेरिन्छ । विभेदका प्रकार–
– पुरुषको समकक्षी 
– पुरुषभन्दा निम्न दर्जाको ।
पहिलो नजरले हेर्नेले नारी पुरुष समान हुन् समान अधिकार प्राप्त हुनुपर्छ भन्ने तर्क गर्छन् भने दोस्रो नजरले हेर्नेले नारी पुरुष ब्याहित जात हुन् । पुरुषको अधीनभन्दा माथि जानु हुँदैन, नारी घरपरिवारको जिम्मेवारी सम्हाल्ने, लोग्नेको सेवा गर्ने मात्र हो भनेर तर्क गर्छन्  । तर केही समय यता महिलाप्रति हामी सबैको सोच र दृष्टिकोणमा गजबको सकारात्मक परिवर्तन आएको छ । तर यसको मतलव यो होईन कि महिला र पुरुष बराबर समानतामा पुगेका छन् । केही मात्रामा मात्रै भएको सुधारात्मक भयको सोंच हो । व्यवहार बाँकी छ । समानताको यो लडाईं अझै लामो समय सम्म चल्नुपर्छ ।
दुनियाँको धेरै देशहरुमा आज पनि महिलाहरु आफ्नो हक र अधिकारका लागि लडिरहेका छन् । यस मध्ये हाम्रो देश नेपाल पनि एक हो । महिला अधिकारका लागि दस कदम अगाडि पुगेको दिन्छ तर हाम्रो देशका अधिकांश महिलाहरुलाई आफ्नो हक अधिकारको बिषयमा सहि ज्ञान नै छैन । आफ्नो हक अधिकारको बिषयमा पुर्ण जानकारी हुनुपर्नेमा केही अंश पनि थाहा छैन । यस्तो अवस्थामा कसरी हिंसाको प्रतिकार गर्न सक्छन् महिलाहरु ?
हो, अहिले देशका कतिपय उच्च तहमा केही महिलाहरु पुगेका छन् भने केहीलाई पुर्याईएको छ । उनै उच्च तहमा पुगेका केही प्रतिशत महिलाहरुलाई हेरेर यहाँ अधिकार प्रत्याभूत भयको परिभाषा गरिन्छ । भौगोलिक परिवेश, परम्परागत प्रचलन, अशिक्षा, गरिबीका कारण ती अवसर नपाएका महिलालाई पनि अधिकार पाएर अधिकारको प्रयोग गर्न नजानेका वा बढी अधिकार पायर सम्हाल्न नसकेका भनेर आक्षेप पनि लगाउँछन् ।
समाजमा अनेकथरी महिला हिंसाका घटना हुन्छन् र तिनको प्रतिकार गर्न महिलाले सक्दैनन् । नसक्नुको एउटा मुख्य कारण हो आफ्नो अधिकारको बिषयमा जानकारी नहुनु । अर्को कारण हो समाजमा महिलालाई ईज्जतको ठेकेदार बनाईनु र अर्को मुख्य कारण यहाँ पीडितले न्याय पाउन ढिलासुस्ती र कानूनी प्रकृयाको असहजता ।
हाम्रो देशका अधिकांश महिला अशिक्षित छन् । सरकारले प्रौढ शिक्षाको माध्यामबाट महिला साक्षरताको प्रतिशत बढाए तापनि सहज पुस्तक पढ्न सक्ने महिला  ग्रामिण तथा बिकट भुगोलमा धेरै छन् । जसले हस्ताक्षर गर्न जानेता पनि पढ्न र अर्थ बुझ्न सक्दैनन् र उनीहरुलाई दैनिकी गुजारा चलाउने जिम्मेवारी भएकोले पढ्न भ्याउदैनन् । अझ सम्बिधानका किताब पढ्नु बुझ्नु त धेरै परको कुरा हो । यो अवस्थामा महिला हिंसापीडित बन्नु र हिंसा व्यहोर्नुको विकल्प छैन । अनि उनीहरु आफ्नो अधिकारको प्रयोग गर्न सक्दैनन्  ।
हाम्रो समाजमा महिला र पुरुषसँग सम्बन्धित घटना घट्नासाथ ईज्जतको टीका थोपरिन्छ महिलाको निधारमा । बलात्कार, बलात्कारको प्रयास, घरेलु हिंसा, सामाजिक हिंसा जुनसुकै हिंसामा पनि इज्जत गुम्ने डर र समाजले हेर्ने फरक दृष्टिकोणका कारण खुलेर न्याय माँग्न कठिन छ महिलालाई । पुरुषको इज्जत जाँदैन, जस्तोसुकै अपराध गरेता पनि । यसकारण यो पितृसत्तात्मक सोच बदल्न जरुरी छ, अन्यथा महिलाले निरन्तर हिंसा बेहोरिरहनु पर्नेछ ।
यदि पिडित महिलाले न्यायको लागि कानुन या पुलिसको दैलामा पुग्छन भने उनलाई अझ बढि बेईज्जत र पटकपटक थप हिंसा गरिन्छ । यानी कि त्यहाँ सबुत प्रमाण भन्दै पिडित महिलासँग पटकपटक शाब्दिक हिंसा गरिन्छ । बलात्कार भएकी महिला छिन् भने पुलिसलाई जवाफ दिनुपर्छ कि कहाँ, कतिबेला, कसरी, किन, कति जनाबाट, कुन अवस्थामा कसरी कसरी बलात्कार गरे ? अनि बिरोध किन गरिनस् ? अब यी प्रश्नको जवाफ दिंदा दिँदा महिला पटक पटक बलात्कारमा पर्छिन् । महिलाको सम्मानलाई धुजा धुजा पारेर च्यातिन्छ । अनि अपराध पुष्टि भैहाल्यो भने पनि पिडकसँग पैसाको कारोबार गरी फेरि मिलोमतो, मिलापत्रमा बलात्कार गरिन्छ । यसमा सुरक्षा निकायदेखि सरकारी निकायसम्म सामेल हुन्छन् । न्याय निष्पक्ष हँुदैन त्यसैले पनि महिलाहरु हिंसा भय पनि सहेर बस्ने तर झमेला नबेहोर्ने तिर लाग्छन् । अनि हिंसा घट्नुको सट्टा बढ्दै जान्छ । भुसको आगोझैं महिला हिंसा बढ्नुको कारण अन्यायपूर्ण सोच पनि हो ।
कमसेकम पनि हरेक महिलालाई महिलाका मौलिक हक अधिकारको बिषयमा जानकारी हुनुपर्छ आजको समयमा । जो हिंसामा परेका हुन्छन्, उसलाई कानूनी उपचार लिन सहज अवस्था किन छैन ?
महिलाको हक धारा ३८ मा उल्लेख छ भनेर परिभाषित गरेको कुरा या सम्बिधानको कुन धारा, कति दफामा उल्लेख छ भन्ने कुरासम्मको जानकारी भए पनि गाउँका महिलालाई कानूनी उपचार लिन कठिनाई कम हुन्थ्यो कि ? यसका लागि स्थानीय निकायको भूमिका अहम् रहन्छ । सबै हिंसा पिडित महिलाले न्याय पाउनका लागि गाउँ गाउँमा जनचेतना जगाउनु जरुरी छ । आज पनि महिला समाज, जात, लिंगका आधारमा हिंसामा जलिरहेका छन् । हिंसा पिडितलाई न्याय कसरी दिलाउने, न्याय सहज पार्ने, यक्ष प्रश्न हो यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper