banner
banner

पूर्वराजाको गम्भीर चिन्ता र चासो

नेपाली दिदीबहिनी तथा दाजुभाइहरू
नेपाल बहुजातीय, बहुभाषिक र बहुविध भौगोलिक विशेषता रहेको मुलुक हो । परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता हो । त्यसैले अहिले देशमा पन्पिँदै गएको जातीयता, वर्गीयता र क्षेत्रीयताका सङ्कीर्ण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन ।
अहिले नेपाल पनि विश्वव्यापी कोरना महामारीबाट आक्रान्त छ । यो अकल्पनीय व्याधीबाट जीवन गुमाएका र पीडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनाका साथ संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दछु । संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्नुपरेको गाँस, बास र कपासलगायतका विविध समस्या समाधान गरियोस् भन्ने आग्रह पनि गर्दछु । साथै यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवम् आर्थिक बेतिथिप्रति म गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु ।
विविध बाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरू स्वदेश फर्कने क्रममा रहेका छन् । चुनौतीपछि आएको यो समय–सन्दर्भ एक असर पनि र अवसर पनि हो । फर्कने सबैको श्रम, शिप र सामर्थको सदुपयोग गरी आफ्नै देशभित्र इलम, उद्यम र काम–धन्दाको व्यवस्था मिलाइनु पनि नितान्त जरुरी रहेको छ ।
बदलिँदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रीति, संस्कृति र पवृत्तितिर फर्कनु जरुरी देखिन्छ । यसबाट
 नै हाम्रो स्वाभिमान र स्वावलम्बनको परिपाटी फेरि कायम हुन्छ । केही दशक अघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि उँचो पार्न परेको छ ।
हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवम् स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जीविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धि–सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दाबल्दा र दुःखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ? भ्रष्टाचार, लापर्वाही, पक्षपात र भेदभावका कुरा किन दिनहुँ उठिरहन्छ ? यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरू, तमाम देशभक्त स्वतन्त्र नागरिकहरू सडक सङ्घर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ ? यी सब सोचनीय विषय तथा विचारणीय कुराहरूको प्रश्न उब्जिरहेको छ ।
आजको यो कालखण्डमा परस्पर आरोप–प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि हुँदैन । नेपाल राष्ट्रको एकीकरण, नेपालको स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आम हेक्काको विषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नु पर्दछ । राष्ट्रियता नै हाम्रो मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतीतबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।
राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेको छु । साथै यतिखेर मेरा भावनाप्रति श्रद्धा, शुभेक्षा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई धैर्य, दृढता र साहसका साथ अघि बढ्न आव्हान गर्दछु ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।
असार १०, २०७७

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper