banner
banner

छोरीलाई सिकाउने नैतिक शिक्षा छोरालाई खोई ?

देवी काफ्ले–
मनुस्मृतिमा लेखिएको ‘जहाँ स्त्री खुशी हुन्छिन् त्यहाँ भगवान पनि खुशी हुन्छन्’ भन्ने वाक्यले अहिले पनि नारी पुजिएकै ठानिन्छ । जब स्त्री अधिकारका कुरा आउँछन् अनि भनिन्छ शास्त्रमा त स्त्रीको पुजन भएको छ, तिमी कसरी तुच्छ हुन्छ्यौ ?
    यता नारीको पूजा हुन्छ भनियो उता पुराणहरुमा स्त्री रजस्वला हुँदा अछुत हुन्छे, अनि त्यही स्त्री पुरुषभन्दा चोखो कहिल्यै हुन सक्दिन । संसारमा जतिपनि पाप हुन्छ त्यो सबैको जिम्मेवारी मात्रै नारीको हुन्छ । पहिलोपल्ट रजस्वला हुँदा सूर्य र पुरुष देख्नु हुँदैन, त्यहाँबाट शुरु हुन्छ पापको ठेकेदारीको ।
    स्त्री रजस्वला हुँदा अछुत हुन्छे पुरुषलाई छुनु हँुदैन तर त्यही रजस्वला भएकी स्त्रीलाई जबरजस्ती करणी गर्छ त्यो पुरुष पापी हुन्छ कि हुँदैन ? नेपालमा घटेका कैयौं घटनाहरु यस्ता छन् जो पापबाट मुक्त गर्न खोजिन्छ । स्त्रीलाई त्यही स्त्रीमाथि पुरुषले आफ्नो यौन ईच्छा पूरा गर्छ । पुरुष कहिल्यै पापी हुँदैन, यो कस्तो समता, कस्तो समाज हो ?
    हाम्रो संस्कृति, रितिरिवाज,परम्परा अनुसार आफ्नो रगतको नाता पर्नेसंँग यौन सम्बन्ध राख्नु महापाप हो । हाडनाता करणीको दण्ड नै छ तर आज दिनहुँं जसो आफ्नै रगतका नातेदारबाट सबैभन्दा बढी स्त्री यौनहिंसामा परेका छन् । यो कुरा लकडाउनका अवधिको यौनहिंसाको प्रहरी रिपोर्ट हेरे हुन्छ ।
    थुप्रै नारी आफन्तबाट नै अनुमति बिना यौन हिंसामा परेका छन् भने बाहिरीबाट कति परेका होलान् सहजै अनुमान लगाउन सकिन्छ ।
      यहाँ स्त्रीमाथि यौन हिंसा मात्रै हैन मानसिक हिंसा झन उग्र रुपमा गरेका छन्, केही खराब मानसिकता बोकेका पुरुषहरुले । परिवारदेखि समाजसम्म महिलामाथि हिंसा गर्नेको ताँती नै देखिन्छ, सुधार हुनसकेको छैन । स्वस्थ समाज र सम्पन्न मुलुकको सपना देखेर के गर्ने, कम्तिमा स्वस्थ दिमाग पहिले हुनुप¥यो । गिदी भरिने दिमागमा लिदी भरिएपछि कसरी सुधार आउँछ ?
आजको संचारको युगमा संचारका साधन प्रयोग बिना कोही पनि बस्न सक्दैन । त्यसै मध्येको अहिलेको सामाजिक सन्जाल । आज विश्वमा घटेका घटना, नयाँ आविष्कार, नयाँ सूचनाहरु सामाजिक सन्जालबाट प्राप्त गर्छौं । यसबाट देश परदेशमा रहेका आफन्तहरुसंग नजिक पनि बनाउँछ । तर यसैलाई गलत प्रयोग गर्न आजका केही युवा उद्धत भैरहेका छन् किन ?
किनकी उनीहरु स्त्रीलाई खेलौना ठान्छन् । यो एउटा गम्भीर आपत्तिको बिषय हो । पुरुषले जे गरे पनि हुन्छ स्त्री त यौनसन्तुष्टि गर्ने एउटा वस्तु हो भन्ने ठान्छन् । नारी खेलौना होइन, नारीको पनि अस्तित्व छ, नारीप्रति समान व्यवहार गर्नुपर्छ भन्ने भावनाको विकास भएकै छैन । साइबर अपराधमा केही व्यक्ति पक्राउ परे पनि तिनीहरुलाई राजनीतिक संरक्षणमा छुट दिइन्छ, दण्ड हुँदैन । अनि महिला हिंसा झन झन बढेर जानु स्वभाविक हो ।
   स्त्रीमाथि हुने हिंसा अर्को घरेलु हिंसा हो जुन अति जटिल भैरहेको छ । हालसालै हेटौडामा एउटी बुहारी घरपरिवारबाटै मारिईन् । उनका पति दुर्घटनामा मरे तर दोषी उनी भईन् । फलतः घरका सदस्यले बुहारीको निर्मम हत्या गरे । हिजो नारी अवला थिए, आज पनि नारी अवलाकै स्थितिमा छन् । नारीलाई सवलीकरण गर्नका लागि केही कानुन बने पनि, मानवाधिकारको ठूलै झ्याली पिटे पनि नारी सवल बनिसकेका छैनन् । नारीमाथिको अत्याचार आज पनि व्यापक छ ।
   नारीलाई बिहे गरेर पतिको घरमा गएपछि नयाँ परिवारजनले लच्छिन र अलच्छिनीको तराजुमा जोख्छन् र लच्छिनको तुलो हलुका भयो भने हिंसा सहेर र ज्यान दिएर वजन बराबर गर्नु पर्ने स्त्रीले नै हुन्छ । यो कुसंस्कारको जरो समाजमा गाडिएको छ, उखेल्ने प्रयास हुनसकेको छैन ।
    अर्को हिंसा दाईजोको लागि हुन्छ जहाँ दाइजोको चाहना र दाईजोको तराजुमा नारी नै हुन्छन् । दाइजो कम भयो भने पनि स्त्रीकै प्राणबाट तराजु बराबर गराईन्छ ।  जतिसुकै पीडा र हिंसा भए पनि स्त्रीले सहनै पर्छ। यही पुरुषीय मानसिकता हो । यही मानसिकताको खियाले समाजलाई खाइरहेको छ । र, यो पुरुष मानसिकतालाई अझ मलजल हामी आफै गरेर बढाईरहेका छौं । जुन काम छोरीले गर्नु हँुदैन भनेर सिकाउँछौं त्यो काम छोरालाई किन सिकाउंदैनौं ?
छोरीलाई परपुरुषको मुख हेर्नुहुँदैन भनेर सिकाउने हामी अभिभावकले छोरालाई पनि परस्त्रीको मुख नहेर्नु किन भन्दैनौ ? समाजका, छिमेकका पुरुषहरु तिम्रा दाजुभाई, सानाबा, ठूलाबा, मामा, काका हुन् भनेर चिनाउने हामीले छोरालाई पनि छिमेक र समाजका स्त्री तिम्रा दिदिबैनी, आमा, सानिमा, माइजू, काकी हुन् । उनीहरु सबैलाई सम्मानित नजरले हेर भनेर किन सिकाउंँदैनौं ? त्यही नैतिक शिक्षा छोरीलाई मात्रै नलादेर छोरालाई पनि लाद्न सकेको भए आज पुरुषबाट हुने अनेक महिला हिंसा कम हुन्थ्यो कि ?
   आज छोराहरुको बोल्ने शैली हेर्नुस्, कति गिरेको छ । आफु भन्दा बढी उमेरका हुन् या समकक्षी होउन सुड्डी, छम्मा जस्ता नकारा शब्दले उच्चारण गर्छन् । मानमर्यादाको भाषा नै छैन । उनीहरुका लागि त जुनसुकै उमेरका हुन् महिला भनेका खाली शारीरिक सम्बन्धका साधन मात्रै ठान्छन् । यो प्रवृति दुई कुराले अझै बढोत्तरी भएको छ । एउटा नैतिक शिक्षाको कमी, अर्को अपराधीलाई राजनैतिक संरक्षणले ।
       महिला हिंसा गर्ने जो कोही होस् राजनैतिक संरक्षण होइन, कानुनी दण्ड देउ सरकार । स्कुल तहदेखि नैतिक शिक्षा लागू गर । अनि हरेक अभिभावकले आफ्ना छोरालाई पनि छोरीलाई जस्तै नैतिक अधीनमा राखेर शिक्षा दिनुहोस् समाज सुध्रिन्छ कि ?
अन्यथा सस्ता फिल्मका गुण्डा संस्कारले युवाहरुलाई सुसंस्कृत बन्नमात्र प्रेरित गरिरहनेछ । एक त अविकसित छौं, त्यसमाथि मानसिकता झन अविकसित बनाउने खालका व्यवहारलाई प्रोत्साहन दिँदा देशको भविष्य उज्यालो हुनसक्दैन । नारीप्रतिको सम्मान र नारीप्रति हेर्ने दृष्टिकोणमा सभ्यता नआएसम्म देश विकासको सपना देखेर हुनेवाला केही छैन । वर्तमान पुस्ता भाँडिएर जाँदो छ, आउने पुस्ताले के सिक्लान्, भावी पुस्ताले के पाउलान् ? त्यसकारण नैतिक शिक्षा नेपालमा अपरिहार्य बनेर गएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper