banner
banner

दौत्य कि देत्य सम्बन्ध ?

धर्मरत्न श्रेष्ठ -
नेपाल–भारतको सम्बन्ध गजब छ, भारतले गरेका अतिक्रमणमा विषयमा आवाज उठायो कि भारतले खोजेको विषयमा तार्किक बहस थाल्यो कि भारत रिसाउँछ, नेपालमाथि घोषित अघोषित नाकावन्दी लगाउँछ, अनेकन झण्झट र झमेला झिकिहाल्छ ।
दौत्य कि दैत्य सम्बन्ध हो यो ।
नेपाली राजनीतिक र प्रशासनिक नेतृत्व जहिले पनि शंकास्पद रहन्छन् । सुगौली सन्धि गर्दाको शंका अहिले पनि छ, प्रजातन्त्र आएपछिको महाकाली सन्धिदेखि अनेकन समझदारीहरु पनि शंकास्पद नै छ । अलिकति अप्ठेरो प¥यो कि राष्ट्रिय स्वार्थमा उभिन नसक्दा नेपालमाथि भारतीय दबदबा बढ्दै गएको छ । कारण परालखुट्टे नेतृत्व भएकाले । नेत्रलाल अभागीले खुब लेखेका छन्– वातावरण शान्त भएका बेलामा त नर्कट पनि उभिनसक्छ । आँधी हुरी आएका बेलामा सतिसाल भएर उभिन सक्नु पो सक्नु । यतिबेला नेपाली भूभाग भारतले खान नपाएर, नेपालले अतिक्रमित भूभाग सहितको नक्सा सार्वजनिक गरेकाले भारत रिसाएको छ र नेपालमा आँधी हुरी आएको छ । यतिबेला उभिनसक्ने, दिएन भने लिन्न, नाकावन्दी ग¥यो भने सहिन्छ, बाँचिन्छ भनेर उभिन सकिएन भने फेरि एकपटक नेपालको अस्तित्व संकटमा पर्नसक्छ । राजनीतिक र प्रशासनिक नेतृत्वले यति नै बेला नेत्रलाल अभागीको लेखोट पढ्नुपर्छ र आफूलाई सतिसाल बनाएर उभ्याउनु पर्छ । उभ्याउने बेला यही हो ।
प्रत्येक नेपाली सतिसाल भएर उभिने पक्षमा छन् । जस्तोसुकै संकट आए पनि खप्न र खेप्न तैयार छन् । ऐतिहासिक रुपमा नेपाली एकढिक्को भएका छन् । दौत्य सम्बन्धलाई दैत्य सम्बन्ध बनाउन खोज्ने भारतसँग नैतिक पराजय कुनै नेपालीको चाहना होइन । नेपाललाई वीरहरुको भूमिका रुपमा परिभाषित गर्न र नेपालको सार्वभौमसत्ता जोगाउने अवसर वर्तमान सरकारलाई प्राप्त छ । यतिबेला तेरो मेरो, तैले मैले जस लिने बेला होइन । यो एकतालाई देशको पक्षमा उपयोग गरेर दशकौंदेखि कायम रहेको विदेश प्रभाव शून्य पार्ने बेला हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper