banner
banner

लिपुलेक नेपालको भूमि हो, फिर्ता हुनुपर्छ

देव गुरुङ–
हालै भारतीय मिडियाहरुले चीनको स्वशासित प्रदेश तिब्बतको धार्मिक तथा पर्यटकीय स्थल मानसरोवर जोड्नका लागि भारतको तावाघाटदेखि लिपुलेक नाकासम्म ९५ कि.मि. सडकको निर्माण सन् १९९९ मा सुरु भएर सन् २०२० मा सम्पन्न भएर उद्घाटन भएको समाचार प्रचारप्रसार गरेको छ । लिपुलेक नेपालको भूमि हो, भारतले अतिक्रमण गरेको छ, नेपाली भूमि फिर्ता हुनु पर्दछ भनी चौतर्फी आवाज उठिरहेको बेलामा भारतीय शासकहरुले जसरी जवर्जस्त सडक निर्माण गरेको छ, त्यसबाट भारतीय शासकहरुको विस्तारवादी नीतिको फेरि पनि नाङ्गो रुपमा उजागर भएको छ ।
सीमा अतिक्रमणकारी शृङ्खला
नेपाल भारतबीच १८५० कि.मि.सीमा जोडिएको छ । त्यसमध्ये ६०६ कि.मि.सिमानामा विवाद रहेको छ । नेपालको २७ जिल्ला सीमा जोडिएको, २४ जिल्लाको ७१ स्थानमा सीमा विवाद रहेको छ । कुल ६०६२७ हे.जमिन अतिक्रमित भएको छ । त्यसमध्ये सबैभन्दा धेरै दार्चुलाको कालापानी क्षेत्रमा ३७००० हे.(३७२वर्ग कि.मि.) र परासीको सुस्ता क्षेत्रमा १४६७० हे. (१४७ वर्ग कि.मि.) अतिक्रमित भएको छ ।
भारतले नेपालसँगको सीमा सुरक्षाको लागि भनी ४५ हजार सीमा सुरक्षा बल राखेको छ । ५५१ सीमा अवलोकन चौकी बनाएर राखेको छ । प्रति किलोमीटर २४ जना जवानका दरले राखेको छ ।
नेपालको सिमाना लिपुलेक र कालापानीसम्म ६२ बर्ग कि.मि. र लिम्पियाधुरासम्म ३१० बर्ग कि.मि. गरी जम्मा ३७२ बर्ग कि.मि. अतिक्रमित भएको छ ।
ऐतिहासिक तथ्यहरु
सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार नेपालको पश्चिमी सीमा काली नदी रहेको । सन् १८२७ मा इष्ट इण्डिया कम्पनीले प्रकाशन गरेको नक्सा, सन् १८४६ मा कुमाउ र गडवालबारे बृटिसले प्रकाशन गरेको नक्सा, सन् १८५१ मा हिमालयन माउन्टेन रिभर्सले प्रकाशन गरेको नक्सा, सन् १८५६ मा बृटिस सर्भे अफ इण्डियाले प्रकाशन गरेको नक्सा, सन् १८५७ मा नेपाल, सिक्किम, भुटान र तिब्बतबारे प्रकाशन गरिएको नक्सा, सन् १८५९ को नक्सा र सन् १८६७ मा बृटेनले प्रकाशन गरेको नक्सा आदि सबैमा काली नदीको मुहान लिम्पियाधुरा देखाइएको छ । जसअनुसार कुटी, नाभी र गुन्जी गाउँहरु नेपालको देखिन्छ । सन् १८७९ मा सर्भे अफ इण्डियाले प्रकाशन गरेको नक्सामा लिपु खोलालाई काली नदी भनी सीमा अतिक्रमण गर्न थालेको । सन् १९६२ देखि लिपुखोलाको वारि पारि किनारामा ७ वटा सैन्य क्याम्पहरु राखियो । लिपुलेक पूर्वको व्यास ऋषि पहाड अर्थात् ओम पहाडलाई सिमाना भनी अतिक्रमण गरियो । पहाडको फेदीबाट झरेको तुरतुरे धारालाई काली नदीको मुहान भन थप अतिक्रमित गरियो ।
वि.सं.१९९७ साल पूर्व त्यस क्षेत्रका नागरिकहरुले नेपालतर्फ जमिनको तिरो तिरेको देखिन्छ । ऐतिहासिक कालदेखि बर्तमान दार्चुला जिल्ला लेकम, दुहु, मर्मा र व्यास गरी चार गर्खामा विभाजित थियो ।
वि.सं.१९९७ मा बैतडी माल अड्डामा रहेको तिरो सम्बन्धी कागÞजÞपत्रका अनुसार व्यास गर्खा अन्तर्गत निम्न गाउँहरु रहेको र ती गाउँहरुको तिरो निम्न मोहीहरुले संकलन गरी नेपाल सरकारलाई बुझाउँथ्यो । दार्चुला जिल्ला मालपोत कार्यालयमा रहेको लगत विवरणमा निम्न अनुसार रहेको देखिन्छ ।
–छाँगरु गाउँका मोही बोक्सु बुढाको जिम्मा छाँगरु गाँउको तिरो रु.३४र–७५ रहेको ।
–टिंकर गाउँको मोही कुन्जु बुढ़ाको जिÞम्मा सोही गाउँको तिरो रु. ५६र५० रहेको ।
– बुदी गाँउको मोही खली बुढ़ाको जिÞम्मा सोही गाउँको तिरो रु.१७–०० रहेको ।
–गर्व्याँग गाउँको मोही परम सिंग बुढ़ाको जिम्मा सोही गाउँको तिरो रु.३४–५० रहेको ।
–कुटी गाउँको मोही जस्मल बुढ़ाको जिम्मा सोही गाउँको तिरो रु.१९–२५ रहेको ।
–नपलचु गाउँको मोही ऐ जस्मल बुढ़ाको जिम्मा सोही गाउँको तिरो रु.१८–०० रहेको देखिन्छ ।
ती गाउँहरुमध्ये हाल नेपालतर्फ छाँगरु र टिंकर गाउँ मात्र रहेको छ ।
वि.सं.२०१८ साल पूर्व नेपाल ३५ जिल्ला थियो । त्यसबेला दार्चुला र बैतडी एउटै जिल्ला थियो र सदरमुकाम बैतडी थियो ।
वि.सं.२०१८ सालमा नेपाल सरकारको तर्फबाट कुटी, नाभी र गुन्जी लगायतका गाउँहरुमा पुगेर जनगणना गरेको भनी तात्कालिक नेपाल सरकारको कर्मचारी तथा साहित्यकार भैरव रिसालले बताउनु भएको छ ।
शुरुमा चिनियाँ पक्षको स्वीकारोक्ति
नेपाल चीन सीमा सन्धि वि.सं.२०१८ असोज ११ मा भएको थियो । उक्त संन्धिको दफÞा १ उप दफÞा १ मा चीनसँगको पश्चिमी सीमा रेखा काली नदी र टिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ भनिएको छ । यसबाट महाकालीको उद्गम लिम्पियाधुरा रहेको पश्चिमी सीमालाई चीनले पनि स्वीकार गरेको देखिन्छ ।
गे वाँग्दीको घटना
सन् १९७४ अर्थात वि.सं.२०३१ भदौ २४ गते खम्पा विद्रोहका नायक गे वाँग्दीमाथि त्यही लिपुलेकमा जमदार दानबहादुर चन्दको नेपाली सैन्य कमाण्डको नेतृत्वले कार्यवाही गर्न सफल भएको थियो । गे वाँग्दीसहित अरु ६ जना खम्पा विद्रोहीहरु त्यही फÞौजी कार्वाहीमा परी मृत्यु भयो । अरु केही विद्रोहीहरु घाइते भएका थिए । ती घाइतेहरुलाई भारतीय सेनाले हेलीबाट भारत लगेको थियो । गे वाँग्दी अमेरिकाको कोलोराडोको तिबतियन हाउस र भारतको डेहरादुन चक्रतारामा सैन्य तालिम लिएर नेपालको भैरहवा नाका हुँदै मुस्ताग पुगेर खम्पा विद्रोहको सुरु गरेका थिए । नेपाली सेना र चिनियाँ सेनाको संयुक्त कार्यवाहीबाट छल्दै चीन र नेपालबीचको सीमावर्ती क्षेत्रबाट भाग्दै भारततर्फ जाने क्रममा नेपाली सेनाले लिपुलेक, टिंकर, काला मल्ला र छाँग्रुमा घेराबन्दी गरी कार्यवाही गरेको थियो ।
दलाई लामाले निर्वासन पश्चात तिव्बत विद्रोहका लागि द्ध च्ष्खभच बलम ट mयगलतबष्ल चबलनभ चभष्निष्यल उचयतभअतष्यल बचmथ गठन गरेको थियो ।
चीनलाई विवादमा तान्ने भारतीय प्रयास ः सन् २००० अर्थात वि.सं. २०५६ भदौ १७ गते नेपालस्थित चिनियाँ राजदूत गेँग जुँगले रिपोर्टर्स क्लवमा दिएको मन्तव्य अनुसार त्यस क्षेत्रमा भारत र चीनबीचको सिमानाबारे एकिन नभइसकेकाले त्रिदेशीय सहमति अनुरुप गर्नुपर्ने भनेका थिए । सन् २००५ अप्रिल ११ मा चिनियाँ प्र.म.वेनजियाओको भारत भ्रमणको क्रममा भएको सम्झौतापत्रको खण्ड ५, दफÞा द्य मा भारत चीनबीचको सीमा मिलनविन्दु भनी उक्त भूभागको उल्लेख गरिएको छ । त्यसबारे प्रश्न उठ्दा नेपालस्थित चिनियाँ राजदुतले उक्त भूभागबारे चीनको कुनै चासो नरहेको बताएका थिए । सन् २०१४ सेप्टेम्वरमा चिनियाँ राष्ट्रपति सि जि पिंगको भारत भ्रमणको क्रममा दुबै मुलुकको परराष्ट्र मन्त्री स्तरमा भएको सहमति पत्रमा लिपुलेकलाई भारतको उत्तराखण्डमा पर्ने भन्दै कैलाश मानसरोवर यात्रा गर्ने भारतीय तीर्थ यात्रीहरुको निम्ति लिपुलेक पासबाट प्रवेश गर्ने भनी उल्लेख गरिएको छ । सन् २०१५ में १५ मा भारतीय प्र.म.मोदी चीन भ्रमणको क्रममा सहमति गरिएको ४१ बुंदे सहमति पत्रको २८ नं.बुंदामा लिपुलेक छियाँला(त्तगष्लनबि) भारत चीनबीच व्यापारी नाकाको रुपमा प्रयोग गर्ने भनिएको छ ।
भू स्थिति
लिपुलेक दुईतिर बोलिन्छ । अक्षांस( ३०८ ११’ ५०.१९ तथा देशान्तर( ८१८ ११’ ०५.१३ र ५३०८ मि. उचाइमा रहेको ओम पर्वतदेखि पश्चिमतर्फ स्थलगत रुपमा ६.०४ कि.मि. दुरीमा रहेको क्वींला लिपुलेक, त्यसको उचाई ५२०० मि. र अक्षांस (३०८ १३’ ५७.०६ तथा देशान्तर(८१८ ०१’ ४३.०३ मा रहेको छ । ओम पर्वत पूर्व करिब २ कि.मि.को दुरीमा टिंकर भन्झ्याँग छ, त्यसलाई टिंकर लिपुलेक भनिन्छ । त्यसको उचाई ५२५८ मि. रहेको छ । सीमा स्तम्भ त्यहीसम्म गाडिएको छ । भारतले क्विन्ला लिपुलेक समेत कÞब्जÞा गरेर ओम पर्वतसम्म आफ्नो सीमा अतिक्रमण गरेको छ । जबकि काली नदीको मुहान लिम्पियाधुराको फेदीलाई देखाउँदै आइरहेको छ ।
त्रिदेशीय विन्दु लिम्पियाधुरा
लिम्पियाधुरा भनेको क्विन्ला लिपुलेकदेखि पश्चिम स्थलगत रुपमा ६८.६८ कि.मि., अक्षा‘स(३०८ २६’ ५६.५६  तथा देशान्तर(८०८ ३२’ २७.१२ र उचाई अन्दाजÞी ६०६२ मि.मा अवस्थित रहेको छ । लिम्पियाधुराको फेदीमा करिब ३९२३ मि.उचाईमा कुटी गाउँ रहेको छ । अक्षांस (३०८ १८’ २७.५० तथा देशान्तर(८०८ ४५’ ३७.२३ मा अबस्थित उक्त गाउँको नजिकै एउटा कुण्ड छ । संभवतः त्यही कुण्ड कुटी(काली)दह हुन सक्छ । त्यसलाई पार्वती कुण्ड नामाकरण गरिएको छ । त्यस कुण्ड लगायत लिम्पियाधुरा फेदीको हिम नदीबाट निस्केको पानी जम्मा भएर बगेको नदीलाई स्थानीय व्यासी (शौका) भाषामा कुटीयाँदी भनिन्छ । कुटीको अर्थ काली र याँदीको नदी । त्यसैलाई भारोपेली भाषामा काली नदी भनिएको छ । उक्त नदी गुम्जी दोवान (५२.५७ कि.मि. सम्म पूर्व(दक्षिण दिशामा बगेको छ । करिब ३१७५ मि.उचाईमा रहेको गुन्जी दोवान, अक्षांस (३०८.१०’ १०.२५ तथा देशान्तर(८०८ ५१’ ४५.८७ मा अबस्थित रहेको छ । त्यही कुटीयाँग्दी (काली नदी) नै असली सिमाना रहेको देखिन्छ ।
नक्कली कालापानी
गुन्जी दोवानमा उत्तरको क्वीन्ला लिपुलेकबाट झरेको सानो लिपुखोला मिसिन्छ । गुन्जी दोवानदेखि काली नदी सिधा दक्षिणी दिशामा बगेको छ । गुन्जी दोवानदेखि उत्तर तर्फ स्थलगत दुरी २१.६५ कि.मि.को दुरीमा क्वीन्ला लिपुलेक रहेको छ । गुन्जीदोवानबाट खोलै खोला उत्तर लिपुलेक तर्फ उक्लिन्दा करिब ९ कि.मि.दुरीमा तुल्सी न्याराँग भन्ने ठाउँ छ । अक्षांस(३०८ १३’ ३७.५४ तथा देशान्तर(८०८ ५५’ ११.१९ मा अबस्थित रहेको तुल्सी न्याराँगको उचाई ३२७५ मि. रहेको छ । त्यही ठाँउको पूर्वी पाखो अर्थात ओम पर्वतको फेदीबाट छिपछिपे पानी झरेको छ । त्यही पानी जम्मा गरी बनेको पोखरीलाई काली दह र त्यस ठाउँलाई कालापानी नामाकरण गरी भारतीय सैनिक क्याम्प राखेको छ । भारतले त्यही पोखरीलाई काली नदीको मुहान भनी कालापानी पूर्वको ओम पर्वतको पाहाडलाई सिमाना बनाएको छ । यसरी ओम पर्वतदेखि लिम्पियाधुरासम्मको कुल ३७२ वर्ग कि.मि. भूमि भारतले अतिक्रमण गरेको छ ।
लिपुलेक रणनीतिक महत्वको नाका
४५९० मि.उचाई, अक्षांस(३०८६५’ र देशान्तर( ८१८४५’ चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर ताल अबस्थित रहेको छ । उक्त क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ । मानसरोवर भ्रमणको लागि दिल्लीबाट सबैभन्दा छोटो दुरी यही क्वीन्ला लिपुलेकको बाटो पर्दछ । त्यसका साथै सन् १९६२ मा भएको चीन भारतबीचको सीमा युद्धको भारतीय अनुभवबाट क्वीन्ला लिपुलेक अत्यन्तै महत्वको सामरिक नाका ठाने । त्यसले गर्दा भारतीय सैन्य रणनीतिकारहरु जसरी पनि क्वीन्ला लिपुलेक नियन्त्रणमा लिने उद्देश्यका साथ सन् १९६२ देखि क्वीन्ला लिपुलेक नियन्त्रणका लागि लिपुलेकदेखि दक्षिण तर्फ करिब १२ कि.मि.को दुरीमा रहेको कालापानीमा सैन्य क्याम्प राखेको देखिन्छ ।
यसर्थ उक्त अतिक्रमित भूमि फिर्ता लिनका लागि भारतसँग दह्रो कूटनीतिक पहल अनिवार्य देखिन्छ ।
लेखक साँसद, प्रतिनिधिसभाका प्रमुख सचेतक तथा पूर्वमन्त्री हुनुहुन्छ । डाँफेटीभीडटकमको सहयोगमा ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper