banner
banner

फेरि उल्टो काम, सीमामा प्रहरी

काठमाडौं । सिमानामा सेना खटाउनु पर्ने आवाज जतिसुकै उठे पनि सरकारले फेरि उल्टो काम गरेको छ । गृह मन्त्रालयको विशेष बैठकले सेनालाई जेल, महत्वपूर्ण पदमा आसीन व्यक्तिहरु र अन्य क्षेत्रका महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी दिएर सशस्त्र र नेपाल प्रहरीलाई सीमामा खटाउने निर्णय गरेको छ ।
खुला सीमाको फाइदा उठाएर भारतबाट लुकीछिपी आवातजावत नरोकिएपछि कोरोना भाइरस समाजमा फैलिनसक्ने खतरालाई ध्यानमा राखेर कोरोना महामारी नियन्त्रण गर्न सीमामा थप सुरक्षाकर्मी परिचालन गर्न यस्तो निर्णय गरिएको हो । बैठकले सीमाबाट लुकिछिपी प्रवेश गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्ने निस्कर्ष निकाल्दै भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँगको छलफललाई तिव्रता दिने निर्णय पनि गरेको छ । छलफलबाट कोरोना संक्रमणको केन्द्र चीन, युरोप अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेकोले खुला सीमामा अझ कडाइ गर्नु पर्ने आवश्यकता रहेकोले नेपालले अरु विशेष सावधानी अपनाउन थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिइएको हो । साथै सीमावर्ती इलाकाका समुदायबाटै स्वयंसेवकहरु तैयार गरेर परिचालन गर्ने निर्णय पनि गरिएको छ ।
सीमाविदहरुले अहिले नै सीमामा सेना खटाउने र सदाका लागि सीमालाई नियमन गर्न सकिने सुझाव दिइरहेका छन् । सीसी टिभीका माध्यमबाट मुख्य र सहायक नाकाबाट के कति विदेशी आउनेछन्, तिनको नियमन सहजै गर्न सकिने उनीहरुको तर्क छ । तर सरकार कोरोना भाइरसलाई मात्र तारो बनाएर सीमामा सुरक्षाकर्मी परिचालन गर्ने नीति बनाइरहेको छ । नेपाल–भारतवीचको सबैभन्दा ठूलो समस्या नै सीमा नियमन गर्न नसक्नु हो । विश्वमा कुनै पनि दुईदेशवीच नेपाल भारतकोजस्तो नियमन र निगरानीबिनाका खुला सीमा छैन । खुला सीमालाई बिशेष सम्बन्धको जामा पहिराएर जतिसुकै व्याख्या गरे पनि नोक्सानी र आपराधिक घटना खुला सीमाबाटै भइरहेकाले सेना खटाएर अहिले नै नियमन किन नथाल्ने ? यस विषयमा सीमाविद र सुरक्षाविदहरुले पनि बोल्न जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper