banner
banner

कोरोनाको महामारीमा पनि नारीको अपमान ?

देवी काफ्ले -
आखिर कोरोनाको चपेटामा बन्दीजीवन बिताउन बाध्य हामी मानिसहरु अन्य जघन्य अपराध गर्न पनि पछि परेनौं ।
अहिलेको लकडाउनको समयमा पनि दिनहुँ जसो बालिका बलात्कार  र महिला हिंसाका घटनाहरु रोकिएन । बरु झन् प्रश्रय पायो यस्ता घटनाले । भारतको मध्य प्रदेशमा त यति सम्म क्रुरता देखाए अपराधीले कि सुन्दा पनि आङ् नै सिरिङ्ग हुन्छ । एउटी ६ बर्षिया बालिकालाई बलात्कार पछि हात भाँचेर बलात्कारीलाई नचिनोस् भन्नाका खातिर आँखा समेत फुटाएर सुनसान ठाउँमा फालिदिएको छ । बालिकाको उपचार हुंदैछ भन्ने समाचार स्रोतले जनाएको छ । हाम्रो समाज पनि बलात्का र महिला हिंसा बढेर गएको जानकारी नेपाल प्रहरीले दिएको छ । प्रहरीका अनुसार नेपाल झन् अछुत रहन सकेन । दिनहुं सामुहिक बलात्कार अनि बलात्कारका घटनाले तिब्र रुप लिएको छ । सप्तरीमा १२ बर्षिया बालिकालाई दिशा गर्न घरबाट निस्केको मौका पारी स्थानीय युवाले बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै रौतहटमा पनि १० बर्षिया बालिकालाई ५५ बर्षिय छिमेकीले दिशा गर्न निस्केको बेला बलात्कार गरेको घटना फेरि सार्वजनिक भयो ।त्यसै गरि बर्दियामा एउटा १५ बर्षे बालकले ४ बर्षिया नाबालिका बच्चीलाई बलात्कार गरेको तथ्य फेला पर्यो । कैलालीमा त एकदिन पूरा नबित्दै दुईवटा सामुहिक बलात्कार भए ।
यो सबै गतिबिधिले के कुरा पुष्टि गर्छ भने बलात्कार गर्ने अपराधी हाम्रै वरपर मडारि रहेको छ । हाम्रो वरपर हुने बलात्कार जन्य घटना हाम्रो आफन्तबाट र हाम्रो सबैभन्दा नजिकका ब्यक्ति  र हामीले आफ्नो अभिभावक वा भरोसा मानिएको ब्यक्तिबाटै बढि हुदोरहेछ ।
हाम्रो समाजमा बलात्कारीलाई भन्दा पिडितलाई दोषि देख्ने चलन छ । जब बलात्कार हुन्छ अनि पिडित माथि अनेक लान्छना लगाईन्छ ।छोटा लुगा लगाएर, उत्ताउली भएर, परपुरुषसंग मस्केर बोलेर, बैंसले उन्माद चढाएर आदि चाहिदा नचाहिदा आरोप लगाईन्छ । अब यदि बलात्कार हुनुका कारण नै यिनै हुन् भने चार बर्ष्कि बालिकालाई कस्तो बैँस चढ्छ ? उनले लगाउने लुगाको साईज कत्रो हुनुपर्ने हो ? अनि त्यो बच्ची कसरी उत्ताउली हुने हो ? कसरी परपुरुषसंग मस्किने हो ? के उसको त्यो अबोध हाँसो नै पुरुषलाई उत्तेजित पार्ने आपराधिक कारक तत्व हो त ?
हामीसँग अनेक प्रश्न छन् तर जवाफ जति पाईन्छ सबै चरित्र मै आघात पुर्याएर मात्र पाईन्छ ।
अहिले लकडाउनमा सबै आआफ्नो घर भित्र बन्दी छन् । यस्तो अवस्थामा टाढाको ब्यक्तिबाट बलात्कार या हिंसा हुनु नपत्याउने कुरा हो । जतिपनि हिंसा भएका छन् नजिककै ब्यक्तिबाट भएका छन्  । यो अबस्थाले त के देखिन्छ भने पुरुष यति कुण्ठित भैसकेको छ कि उसले आफ्नो कुण्ठा पोख्न मात्रै  एउटा स्त्री अंग भए पुग्छ । जुन आफ्नै सन्तानको समेत किन नहोस् । किन यसरी कुण्ठित हुन्छन् पुरुषहरु स्त्रीको त्यो अंगदेखि ? आफ्नो न अर्को, उमेर, मानवता केही नहेरी यसरी स्त्रीलाई किन आफ्नो उन्माद पोख्छन् पुरुषहरु ? किनकि उनिहरु आफ्नो उन्मत्त बिर्य फाल्ने एउटा भाँडो ठान्छन् । यो प्रवृतिले नारीत्व जोगाउन कसरी सकिन्छ ? आफ्नै बाउ, दाजु, मामा, काका, छिमेकी, शिक्षक, सुरक्षाकर्मी जो सुकैबाट पनि अपराध हुन्छ । अहिले यो लकडाउनमा भएका घटनाले हामी हाम्रा नजिकका आफन्तहरु सँग  सचेत हुनुपर्ने अवस्था देखिन्छ । किनकि दण्ड सजाय भन्ने कुरा त नेपालको कानुनले दिनैसक्दैन ।
हाम्रा बालबालिकालाई यस्ता घटनाका सम्भावित अवस्था बारे निर्धक्कसँग बुझाउँ उनीहरुलाई सचेत गराऔं । आफ्ना छोरीहरुसँग साथीको ब्यावहार गर्दै सचेत गराईएन भने तपाईं हाम्रा वरपर यस्ता घटना फेरि घट्नेछन् । यदि हाम्रा घरमा या टोलछिमेकमा यस्ता घटना घटेका छन् भने ती घटनालाई भित्रै गुपचुप पार्ने काम नगरौं । नत्र घटना अझै वृद्धि हुनेछन् । सबै सजग बनौं ।
लकडाउनका कारण बलात्कारका घटना मात्रै हैन महिला बिरुद्ध घरेलु हिंसा पनि बढेको तथ्यांक सार्वजनिक भएका छन् । लकडाउन त हाम्रो स्वास्थ्य सुरक्षाका लागि हो हिंसा गर्न हैन । मानवता बचाउन गरिएको लकडाउनमा महिलामाथि खेलबाड ? पुरुषहरु सम्म तल झर्न सक्छन् ? यति नै बेलाका अपराधीलाई कडा दण्ड दिनसके भोलिका दिनमा नारीजाति सुरक्षित हुनसक्थे कि ? खै बुझेको?संगै जीवन बिताउने कसम खाएर बिबाह बन्धनमा बांधिएका पतिपत्नीको एक महिना सँगै घरमा बस्दा नै सम्बन्धले हिंसात्मक रुप लिन्छ भने त्यो सम्बन्धलाई के नाम दिनु । घरायसी हिंसा त भए भए त्यै सम्बन्धलाई लिएर मानिसहरु ट्रोल बनाउँदै छन्, जहाँ स्त्रीको मजासँग खिल्ली उडाईएका छन् । यो हिंसा हो ।
यी हिंसाका सारा पात्र महिला नै किन हुन्छन् ? हामी किन बिद्रोह गर्न सक्दैनौ ? के हामीमा पनि पुरुषवादी ब्यवहार हावी भएको हो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper