banner
banner

अमेरिका र चीनविरुद्ध अर्को वार

काठमाडौं । कोरोना चीनले नै फैलाएको हो भनेर अमेरिकाले चीनविरुद्ध मुद्दा हालेपछि ठूलै चर्चा उठेको छ । कोरोनाको मुख्य केन्द्र अमेरिका भइरहेको छ र ठूलो संख्यामा मानिसहरुलाई कोरोनाले चपाइरहेको छ । यो सब देखेपछि र अनेक सूचनाका आधारमा टेकेर मिसौरीराज्यको महान्यायाधिवक्ता एरिक स्मिटले अमेरिकाकै अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दामा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ पदाधिकारीलाई विपक्षी रहेको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस फैलाएको प्रमाण भेटिए चीनलाई कडाभन्दा कडा कारवाही गर्ने चेतावनी दिदै आएका छन् । सुरुमा चिनियाँ कोरोना भनेको सम्बन्धमा भने राष्ट्रपति ट्रम्पले आफ्नो भाषा बदलिसकेका छन् ।
कोरोना भाइरसका कारणले विश्वव्यापी महामारीको रुप लिएर दुईलाखभन्दा बढी मान्छे मरिसकेको र आर्थिक कारोवार ठप्पै पारेकोले कोरोना विपत विश्वयुद्धपछिको सबैभन्दा ठूलो समस्याका रुपमा लिइएको छ । वैज्ञानिक र अनुसन्धानकर्ताहरु रातदिन एक गरेर लागिरहे पनि कोरोना विरुद्धको खोप विकास गर्न सकिरहेका छैनन् । कोरोनाको कहरले आत्तिने अवस्था छ र यो अतासले गर्दा शक्तिराष्ट्रहरुवीच आक्रोश र मतभेदहरु पनि बढ्न थालेका छन् ।
कोरोना महामारीले विश्वशक्ति को हो भन्ने विषयलाई समेत रनभुल्लमा पारिदिएको छ । कोरोना चीनले फैलाएकोले चीनलेमात्र नियन्त्रण गर्नसक्छ भन्ने अमेरिकी दावीमा बैज्ञानिकहरुले केही बोलेका छैनन् । चीन पनि कोरोनासँग लडिरहेको छ र चीनले कोरोनालाई जितेका प्रसङ्गहरुले चकित पारेको छ । अमेरिकामा विश्वमै सबैभन्दा बढी संक्रमित हुनु र ज्यान जानुले समेत अमेरिकाको अर्थतन्त्र र जनजीवनलाई अस्तव्यस्त पारिसकेको छ । नेपालजस्ता साना मुलुकले समेत लकडाउन बढाएर रोगलाई नियन्त्रण गर्ने उपाय गरिरहेका छन् ।
कोरोना उपचारपछि निको हुनेहरु पनि पर्याप्त छन् । निको हुनेहरु भन्छन्– धैर्यता र साहस नै कोरोनालाई जित्ने ओखती हो । यसको अर्थ आत्तियो भने कोरोनासँग लड्न सकिन्न । यो सन्देश विश्वव्यापी त छ तर कोरोना भाइरस अप्रत्यासित बिस्फोटका रुपमा फैलिएकाले त्रासदीचाहिं फैलिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper