banner
banner

कोरोना जैविक होस् कि भाइरसः लड्नुको विकल्प छैन

गंगा दाहाल -
कोरोना भाइरसले झण्डै २ सय मुलुक आक्रान्त छ । नेपालमा पनि कोरोनाको प्रकोप देखिन थालेको छ । मानव सभ्यताकै विनास बोकेर आएको कोरोनालाई परास्त गर्न सकिएन भने के हुन्छ ? विश्व स्वास्थ्य संगठन भन्छ– अस्तित्व रहने कि नरहने भन्ने संकट आयो । यो भाइरससँग विश्व एकभएर लड्नुपर्छ ।
चीन र अमेरिकावीच व्यापारिक युद्ध चलेको थियो । गालीगलौजमा समेत उत्रेका थिए । अमेरिका र उत्तरकोरिया झण्डै झण्डै तेश्रो विश्वयुद्धको मुखैमा पुगिसकेका थिए । अव ती वीच पनि वार्ता हुनथालेका छन् । सामरिक विश्वयुद्ध त ट¥यो तर कोरोना भाइरस तेश्रो विश्वयुद्धकै महामारी बोकेर फैलिएको छ ।
हामी यही कोरोना भाइरससँग लडिरहेका छौं । आज सारा संसार कोरोना भाइरससँग लड्नका लागि एकतावद्ध भएका छन् । ठूलो जनधनको क्षति गराइसकेको यो भाइरसको उपचार निस्केको छैन । वैज्ञानिक, अनुसन्धाताहरु रातदिन खटिएका छन्, यसको उपचारविधिको खोज सफल होला । खोज हुन्जेल कति मान्छेल ज्यान गुमाउने हुन्, भन्न सकिन्न । यसकारण घरैमा बसेर कोरोना संक्रमण बिस्तारलाई रोक्ने अभियान विश्वभरि फैलिएको छ । चीन, कोरिया, ताइवान, हङकङ कोरोना नियन्त्रणमा सफल भइसके । नेपाल पनि लकडाउन गरेर कोरोना भाइरसविरुद्ध लडिरहेको छ । सिंगो नेपाली समाज एक भएका छन् ।
तर्क अनेक निस्केका छन् । एकथरिले भनेका छन्– यो जैविक हतियार नै हो । जैविक हतियार भए पनि कसले छोड्यो थाहा छैन । जसले छोडे पनि यसविरुद्ध उपचारविधि आउनैपर्छ । नआए विश्व तहसनहस हुनसक्छ । अहिले नै कोरोना भाइरसले विश्वअर्थतन्त्रलाई डावाँडोल पारिसक्यो । जीवन नै खतरामा पार्ने आतंक जो फैलिसकेको छ, त्यो आतंकलाई हिम्मतले परास्त गर्ने चुनौती छ ।
रुघाखोकी, ज्वरो, मुखसुक्नेजस्ता अनेक लक्षण नदेखिए पनि कोरोना लागेका घटना अमेरिका, बेल्जियम, नेदरलेण्डमा देखिएका छन् । यो भाइरस हावाबाट होइन, थुकबाट सर्नसक्ने बताइन्छ । यसकारण मास्क र कुनै बस्तु छोए सावुन पानीले हात धुने र सेनिटेजर प्रयोग गर्नुपर्ने प्रचार भइरहेको छ । डिसेम्बरमा चीनको हुवईबाट सुरु भएको भनिएको कोरोना भाइरसले ३० हजार भन्दा बढीको ज्यान लिइसक्यो, ६ लाखभन्दा बढी संक्रमित भएका छन् र यो भाइरस नियन्त्रणभन्दा पनि फैलिने क्रम जारी रहेकाले हामीलाई त्रसित पार्दै लगेको छ । पहिले चीनबाट देखिएको यो भाइरसले यतिबेला युरोप र अमेरिकाको सातो खाएको छ ।
हो, झण्डै डेढलाख निको पनि भएका छन् । अधिकांश मानिसहरु घरमै बसेकाले यसको संक्रमण फैलिनबाट रोकिएको पनि छ । यद्यपि कोरोनाको कहरले मानसिकको मन मस्तिष्कलाई नराम्रो असर पार्दै लगेको छ । 
समाचारअनुसार ‘२०१९ नोवल कोरोना भाइरस’ भनिने तर आधिकारिक रूपमा ‘सार्स–कोरोना भाइरस–२’ नामक भाइरसले गराउने यो कोभिड–१९ रोगको प्रकोप चीनको उहान सहरस्थित सामुद्रिक खाद्य वस्तु तथा जंगली जनवारको मासु बेच्ने बजारबाट सुरु भएको भनिएको छ । तथापि यकिनका साथ त्यो भाइरस कसरी, कहिले र कुन जनावरबाट मानिसमा स¥यो र संक्रमण फैलाउँदै अघि बढ्यो भन्ने विषयमा अनुन्धान चलिरहेको छ । योभन्दा पनि महत्वपूर्ण सवाल कहिलेसम्म यो भाइरसको उपचार फेला पार्न सकिएला भन्ने प्रश्न नै हो ।
प्रसिद्ध जर्नल ‘नेचर मेडिसिन’को एक लेखले धेरैलाई चौकाएको हो । यसमा  ‘सार्स–कोरोना भाइरस–२’ प्राकृतिक इभोलुसनको कारण भनिएको छ भने कतिपयले कुनै वैज्ञानिकले बनाएर छाडेको भनिएको छ । जुनसुकै कारणले भाइरस फैलियो, फैलिसकेकोले आधुनिक विज्ञानका लागि यो चुनौती र मानव सभ्यता बचाउने संकट हो भन्नेमा शंका छैन । वैज्ञानिकहरुको खोजले यसको उपचार निकाल्नुपूर्व बाँचौं, बचाऔं र यसका लागि अपनाउनु पर्ने स्वास्थ्य निर्देशिका अनुशासनका पूर्ण पालना गर्नुको विकल्प छैन । बन्दाबन्दीको पूर्ण पालना गरौं ।
सबैभन्दा बढी प्रकोप देखिएको अमेरिकाका वैज्ञानिकहरुले भनेका छन्– सँगै बस्दा वा हिँडडुल गर्दा मानिस–मानिसबीच कम्तीमा ६ फिटको दूरी राख्नुपर्ने छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार कुनै ठाउँ वा वस्तु (जस्तैः टेबल, कुर्सी) मा रहेको ‘ड्रेस्पिरेटरी ड्रपलेट’मा कोभिड–१९ गराउने भाइरस छ र कसैले त्यो छोएर आफ्नोे मुख, नाक, वा आँखा छोएमा सर्छ ।
यसकारण फोहोर हातले आफ्नो मुख, नाक, कान नछुने र कुनै वस्तु छोएपछि हरेक पटक कम्तीमा २० सेकेन्डसम्म साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेपर्छ । हालै विश्वप्रसिद्ध जर्नल ‘न्यु इन्गल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित, अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ साइन्सेसका वैज्ञानिकले गरेको अनुसन्धानअनुसार यो भाइरस हावामा कम्तीमा ३ घन्टासम्म बाँच्छ र संक्रमण फैलाउन सक्षम हुन्छ । यसकारण पनि गम्भीरता जरुरी देखिन्छ ।
प्रकाशमा आएका तथ्यहरु यस्ता छन्– प्लास्टिक र स्टिलमा ३ दिनसम्म बाँच्ने यो भाइरस तामाबाट बनेका वस्तुमा भने ४ घण्टाभन्दा बढी बाँच्न सक्दैन । अर्को कुरा यो भाइरस ‘कम्युनिटी स्प्रिड’ (कुनै क्षेत्रमा मानिस संक्रमित हुने तर कसरी र कहाँबाट संक्रमित भए भन्ने थाहा नहुने) पनि हुन सक्छ । स्मरणीय कुरा के छ भने यो भाइरस बिलकुलै नयाँ भएकाले यसको सर्ने तरिकाबारे भन्न सकिन्न ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार कोभिड–१९ को ‘इन्क्युबेसन पिरियड’ अर्थात् भाइरस संक्रमण र रोगको लक्षण देखापर्ने बीचको समय सामान्यतः १ देखि १४ दिनसम्म रहेको छ । यसकारण संसर्गमा रहेकालाई १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ भनिएको हो । धेरैजसोमा ५ दिन आसपासमा लक्षण देखापर्छन् । केही व्यक्तिमा भने २८ दिनसम्म पनि भाइरस पाइएको तर कुनै लक्षण भने नदेखिएको अवस्था पनि रहेको छ । सीडीसीका अनुसार कोभिड–१९ का लक्षण भनेको मुख्यतः ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने नै हो ।
विश्व स्वास्थ्य संगठनको भनाइअनुसार सबै उमेर समूहका मानिसमा कोभिड–१९ लाग्ने सम्भावना उत्तिकै छ । यस भाइरसले कुनै जाति, वर्ग र लिंग भन्दैन । तर वृद्धवृद्धा र मुटु, फोक्सोका समस्या भएका (कुनै पनि उमेर समूहका) मानिसमा भने कोभिड–१९ को जोखिम उच्च छ । उत्तिकै जोखिम कुनै पनि उमेरका मधुमेह भएका मानिसलाई पनि छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका क्यान्सरका बिरामी पनि यसको गम्भीर जोखिममा छन् । सामान्यतः ७० वर्षभन्दा बढी उमेर भएका र गम्भीर स्वास्थ्य समस्या भएका मानिसमा कोभिड–१९ को मृत्युदर बढी देखिएको छ । हालसम्मको तथ्यांक हेर्दा अपवादबाहेक स्वस्थ बालबालिकामा भने कोभिड–१९ बाट हुने मृत्युदर शून्य छ ।
नेपाल सीमानाका बन्द गरेर लकडाउनको घोषणा गर्दै कडा अनुशासनमा अघि बढेको छ । जसरी पनि कोरोनाको महामारी नफैलियोस्, नियन्त्रण गर्न सकियोस् भनेर सरकारले लक डाउन गर्दै जाँच र उपचारमा व्यापक बन्दोबस्ती गर्दैछ । अत्यावश्यक सेवा बाहेक सबै बन्दाबन्दी गरेर सरकारले कोभिड १९ बाट बच्ने उपायहरु गरिरहेको छ । यसमा सबैले साथ दिनुको विकल्प छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper