banner
banner

कोरोनाको कहर, आतंकको लहर

धर्मरत्न श्रेष्ठ -
कोरोनासँग आत्मबल चाहिन्छ । शरीरको रोगसँग लड्ने शक्तिका लागिसमेत आत्मबल जरुरी छ । तनावबाट मुक्ती पहिलो सर्त हो कोरोनासँग लड्न । यसकारण कोरोनाले नेपाललाई पनि गाँज्दै लगेको छ, कोरोना युद्ध नै हो । जुनसुकै तरिकाले कोरोना भाइरस आएको होस्, आइसक्यो । विश्व विज्ञान कोरोना भाइरसको कारण र निराकरण खोज्न लागिरहेको बेलामा मानव सभ्यता बचाउनका लागि समेत बाँच्न र बचाउन सबैले साथ दिनुपर्छ । साथ दिने भनेको घरमै बस्ने र भयभित नहुने हो । कोरोना विरुद्धका अनुशासनमा बसौं, एक भएर आत्मबलका साथ लडौं, यही आत्मबलले कोरोनासँग मुकाविला गर्न सकिन्छ । 
निश्चय नै विश्व हतास र निराश भइरहेका बेलामा हामीमा पनि त्यस्तो भयको सञ्चार भएको छ । यस्तो बाँच्ने कि मर्ने भन्ने बेलामा समेत सरकारले नैतिकता प्रदर्शन गर्न नसक्नु, इमानमा फेरि पनि प्रश्न उठ्ने खालका क्रियाकलाप गर्नु नागरिकका लागि दुःखको कुरा हो । सरकारलाई आमनागरिकको पूर्ण समर्थन र सहयोग रहेको बेलामा सरकारले जनताप्रति इमानका साथ युद्धस्तरमा काम गर्नुपर्ने हो । सरकारमा बस्ने नीतिनिर्माता, निर्णायकहरु चुकेका छन् । अझ हात सफा गर्ने नाममा हात साफ गर्ने भ्रष्टाचारमा समेत मुछिनु भनेको सरकारमा बस्नेहरुको जघन्य अपराध नै हो । यस्ता अपराधलाई जनताले देखेका छन्, हेरेका छन् र जनताले दण्डित गर्छन् भन्ने कुरा नबिर्सदा हुन्छ ।
ब्राजिलका हुन् कि इटलीका हुन् । नेता भनेका यस्ता हुन्छन् । जो जनताको पीडामा बरबर्ती आँसु खसाल्छन् । यस्ता हुन्छन् लोकनेता, जनताको जीवनका लागि चिन्ता गर्छन्, रुन्छन् । रुँदै डटेका छन्, जनताका पीडा हटाउन ।
यी नेता भन्छन्– हामी शारीरिक र मानसिक रुपमा मरिराखेका छौं । हामी मानसिक सन्तुलन गुमाइरहेका छौं । हाम्रो अन्तिम सहारा ईश्वर हो । ईश्वर हामीलाई बचाउ । यसरी ब्राजिल, इटलीका प्रधानमन्त्री, राष्ट्रपतिहरु जनताको स्वास्थ्यका लागि रुँदै आफ्नो जवाफदेहीताको निर्वहन गरेका देखिन्छन् ।
इटली, ब्राजिल, अमेरिकालगायतका १९९ देशमा फैलिसकेको कोरोना भाइरसले विश्वको अर्थतन्त्र ध्वस्त हुनेभो । अर्थशास्त्रीहरुले यो आपतलाई मानव सभ्यताको विनास र मानव अस्तित्वको युद्ध समेत भनेका छन् । आर्थिक स्थितिको दुरावस्था, मनदीभन्दा डरलाग्दो कुरा विश्भरिका मानव जातिलाई बचाउनु जरुरी छ । यसका लागि कडाभन्दा कडा कदम चाल्नैपर्छ र प्रत्येक मानिसकले यो संक्रमण फैलिनबाट रोक्न विश्व स्वास्थ्य संगठनले सुझाएका उपाय अवलम्बन गर्नैपर्छ । अलिकति पनि खेलाँचीले यो रोग फैलिन र व्यक्ति र समाजको अस्तित्व समाप्त पार्नसक्छ ।
नेपालको सन्दर्भमा यसप्रकारका देश, जनताको चिन्ता गर्ने नेता दुर्लभ प्राणीभित्र पर्दछन् । जति पनि स्वार्थ पूरा गर्न जे पनि गर्नसक्ने नेपाली नेताहरु यसकारण विवेकहीन र संवेदनाहीनतामा गनिन थालेका छन् । सबैचिज भएको मुलुक आज पनि मगन्ते छ । अव कोरोनाको कहरपछि यसको हालत के हुनेहोला । तथापि पहिलो सर्त हो बाँच्नु र बचाउनु । यसको जिम्मेवारी हामी जनतामा बढी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper