banner
banner

स्वस्थ पार्टीका अस्वस्थ प्रतिस्पर्धाहरु

राजन कार्की -
रावण अधर्मको प्रतीक हो । रावणका १० टाउका थिए, ती टाउका ४ बेद र ६ उपबेदका ज्ञानको प्रतीक पनि थियो । त्यस्ता विद्वान रावण त अधर्मीका प्रतीक बने र हरेक दशैंमा उनको प्रतिमूर्तिमा आगो लगाएर धर्मको आह्वान गरिन्छ ।
आधुनिक कालमा रावण भनेको निरंकूशता हो, शोषण, विभेद, असमानता र पूर्वाग्रह हो । यी सबै अवगुण हाम्रा राज्यसञ्जालका सबै तह र तप्कामा छन् । रावण त धर्मका ज्ञाता थिए, हाम्रो नेतृत्व त अधर्मका फोहरका डङ्गुर हुन् । तिनले आफूलाई चोख्याएको दिन, निर्मलीकरण गरेको दिन, उनीहरु रावणबाट रामावतारमा पनि आउनसक्थे । तर जो स्थापित छन्, तिनले आपूmलाई परिवर्तन गर्ने कालखण्ड पार गरिसके । उनीहरु संविधानको लक्ष्मण रेखामा बस्न नचाहनु र कानुन तोड्न सदैव प्रवृत्त रहनुले यो कुरा पुष्टि गरेको छ ।
अधुरो र अपुरो हुनु भनेकै असफलता हो । क्रान्ति अपुरो, अधुरो भन्नु गलत हुनेछ, किनभने जनयुद्ध र जनआन्दोलन मिसिएर परिवर्तन आयो । परिवर्तनपछि संविधान पनि बन्यो र संवैधानिक हिसावले चुनाव पनि भयो । तर चुनावपछिको २ वर्षमा के भयो ? चुनावले के दियो ? यति मिमांसा गर्ने हो भने जनतामा नैराश्यता छ, राष्ट्र असुक्षित देखिन्छ, स्थिरता छैन र जनता पनि लथालिङ्ग, भताभुङ्ग अवस्था छ । यो स्थिति भनेको अधुरो हो, अपुरो हो । यसको कारक तत्व भनेको संविधान हो । संविधानले संवैधानिक शासन गर्न निर्देशित त ग¥यो, कतै न कतै संविधानमा चुक छ र बिधिको शासन स्थापित हुनसकेन ।
यसकारण संविधान अधुरो र अपुरो छ । अधुरो र अपुरो संविधानले दिने भनेकै अराजकता हो । दोष कोरोना भाइरसलाई दिए पनि, दोष पुरानो व्यवस्था अथवा लामो राजतन्त्रलाई दिए पनि यथार्थमा १४ वर्ष शासन गर्ने नेताहरु असफल भएकै हुन्, तिनले निर्माण गरेको संविधान असफल भएकै हो । कानुनविद मैकिभरले उहिल्यै भनेका थिए– कानुनको पालनाको आधार भय होइन, काुनन पालना गर्ने इच्छा हो ।
संविधान बन्यो, जारी भयो, कार्यान्वयन भयो भन्नेहरु जो जति जिम्मेवार बर्ग छन्, पहिलो जिम्मेवार सरकार छ, तिनीहरु कसैले पनि कानुन पालना रेका छैनन् । शासन, सत्ता, शक्तिमा बसेका र राजनीति गनेृहरुमा कानुन पालना गर्ने इच्छा देखिदैन । उनीहरु कानुन पलपल, पाइला पाइलामा कानुन उल्लंघन गरिरहेका छन् । कानुन उल्लंघन गर्नु, कानुनका छिद्रहरुको लाभ उठाएर अपराधीलाई काखी च्याप्ने, यसैमा बहादुर सम्झने जुन प्रवृत्ति मौलाएको छ, त्यो भनेको संविधानको असफलता हो । प्रभाव र दबाबमा चलखेल गर्न सकिने कानुन केको कानुन ? आज कानुनप्रति जनतामा सम्मानको भावनामा ह्रास आएको छ । यसको मूल कारकतत्व भनेकै सोझालाई सुली र चोरलाई चौतारो हुनसक्ने कानुन हो । कानुन फितलो हुनु र कानुनको अपव्याख्या गरेर व्यक्ति, समाज, राष्ट्र प्रताडित हुनु र विदेशीले समेत हाम्रो कानुनको लाभ उठाउनु भनेकै संविधान कमजोर हुनु हो । संविधान दुर्घटना भइसकेको प्रमाण हो ।
सिसेरोले भनेका थिए– इच्छाको प्यास कहिले बुझ्दैन । व्यक्ति कहिले पनि सन्तुष्ट हुँदैन । हो, यस्तै प्यास लागेको छ हाम्रा प्रतिनिधि पात्रहरुलाई । उनीहरु ३० वर्ष अघि कहाँ थिए । उनीहरुको १४ वर्ष अघिको अवस्था कस्तो थियो । नयाँ नेपाल बनाउँछु भन्ने ती सबै नेता, प्रशासक र तिनका आफन्त, चाकरीदाहरु आज सम्पन्न, सम्भ्रान्त सामन्त बनिसकेका छन् । मोहनचन्द्र अधिकारीजस्ता एक्कादुक्का व्यक्तिहरु किनारा लागेर पीडित देखिन्छन्, ९९ प्रतिशत राजनीति गर्नेहरुले राजनीतिलाई व्यवसाय बनाएर, सत्ताको दलाली गरेर आपूmलाई श्री ३ को हैसियतमा पु¥याइसकेका छन् । जो सर्वहाराको राजनीति गर्छु, समाजवाद र राष्ट्रियताको राजनीति गर्छु भन्नेहरु थिए, ती सबै तिल्के मारवाडी बनिसकेका छन् ।
कानुन देशको नैतिक उन्नतिको ऐना हो । यही मान्यताको कसीमा हेर्दा देश अनैतिकताको भूमरीमा फनफनी घुमिरहेछ । हामी स्वतन्त्र छौं, कानुनको लक्ष्मण रेखा कोर्छौ तर मान्दैनौं । हामी बन्धन नमान्ने स्वच्छन्दकारी बनेका छौं । यही अनुशासनहीनतालाई हामी लोकतान्त्रिक गणतन्त्र नेपाल भनिरहेका छौं । 
प्रश्न उठ्छ, हाम्रो विवेकको मानक के हो ? प्रश्न उठ्छ, हामी लोकतान्त्रिक कि निरंकूश ?
जुका गाईको कल्चौंडोमै पुगे पनि जुकाले दुध होइन, रगत नै चुस्छ । रगत चुस्नु जुकाको प्रकृति हो, नियति हो । हामीले छानेका, हामीले विश्वास गरेका नेताहरु हामीमाथि शासन गरिरहेका छन् । हामीले तिनलाई विश्वास गरेको सुशासन देउ भनेर हो । राजनीतिलाई सेवाभावको साँचोमा ढालेर अघि बढ भनेर हो । तर हाम्रा नेताहरु हाम्रो मत लिन्छन् र हामीलाई जुका बनेर हाम्रो रगत चुस्छन्, देशको मासु लुछ्छन् भने यिनीहरुको नीति, नियति भनेको व्यापार हो । घर जलाएर आगो ताप्ने तत्व राष्ट्रवादी, जनवादी हुनसक्दैन । शेक्सपियरले लेखेका थिए– कायरहरु जीवनकालमा पटक पटक मर्छन् । वीरको आवरणमा यी कायरहरु जनता र राष्ट्र छातीमा पटक पटक मरिरहेका छन् । यिनमा राजनेता बन्ने इच्छाशक्ति र आत्मबल नै छैन ।
जनयुद्ध र जनआन्दालनको आगोमा खारिएर निस्केका नेता । राजाको निरंकूशता चाहिदैन भन्ने उत्सुकता जगाएका जाज्वल्यमान नेता, यिनले त देशमा समृद्धि र सुख ल्याउँछन् भन्ने जुन विश्वास थियो, १४ वर्षमा यिनले जे जसरी देशलाई लुटे, त्यो देखेका र बुझेका आम नेपाली भन्छन्– यी भन्दा त राजतन्त्रै बेश । हुन पनि त्यतिबेला एउटा राजा थिए, आज ७ सय ६१ सरकारमा झण्डै ४० हजार राजाहरु छन् । पार्टीका छोटे राजाहरु त कति कति ? यी सबैलाई पाल्ने जनताले हो । त्यसैले करमाथि कर थोपरिएको छ । यी राजाहरु मुगलकालका धनानन्द बनेका छन्, हामी जनता धनानन्दको दमन र शोषण खप्न बाध्य छौं ।
यस्तै बेलामा एउटा चाणक्य र एकजना चन्द्रगुप्त मौर्य चाहिने हो । जसले शोषणको अन्त्य र लोककल्याणकारी राज्यको परिकल्पना गरोस् । चाणक्य र चन्द्रगुप्त छैनन्, यही लाभ उठाएर यी शोषणका अशूरहरु आफूलाई अर्जुन हुँ भन्छन् । अर्जुन हुन अर्जुन दृष्टि, एकाग्रता र त्याग चाहिन्छ भन्ने यिनलाई भेउ नै छैन । गिदीमा गोबर भरिएकाहरु अर्जुनका अवतारमा देखिएकाले नै नेपाल र नेपालीको यो दुर्गति बढ्दै गएको हो ।
महात्मा गान्धीले भनेका थिए– खराव कानुन तिमीसँगै राख । म नांगिएर नाच्दिन । आज संघीयता फालिदिउँ भन्ने आवाज सत्ताधारीकै मुखबाट सुनिन्छ । संघीयता महगो भयो भन्ने सवाल सर्वत्र उठेको छ । यो अभिव्यक्तिको अर्थ भनेको राजनीति र नागरिक समाजमा संघीयता देशले धान्न सक्दैन भन्ने नै हो । जब संविधानमा लेखिएका विषयमा संविधान पालनाको पहिलो दायित्व भएकालाई नै अपाच्य छ भने त्यसलाई मान्न आमनागरिक किन बाध्य पारिदैछन् ?
अव जनताले भन्न सक्नुपर्छ– खराव कानुन तिमीसँगै राख, हामी नांगिएर नाच्न सक्दैनौं । जब अर्को क्रान्तिकारी छैन, अर्को चन्द्रगुप्त र चाणक्य छैन भने प्रत्येक व्यक्ति चाणक्य हुनुपर्छ, चन्द्रगुप्त र गान्धी बन्नुपर्छ ।
जनकल्याणको संरक्षण गर्न नसक्ने, अपराधीलाई दण्डित र पीडितलाई न्याय दिन सक्दैन भने त्यो संविधान संविधान होइन, कागजको खोस्टो हो । अव २०७२ सालको यो संविधानरुपी कागजको खोस्टो नच्यात्ने हो जनताले भने देश र जनताले अरु थुप्रै महगो मूल्य चुकाउनु पर्नेछ ।
अहिले त लिम्पियाधुरा, लिपुलेक कालापानी र २६ जिल्लामा ६७ हजार हेक्टर जमिन भारतले मिच्यो । संविधानलाई माफिया, तस्कर र विदेशीलेसमेत मिचिरहेका छन्, हरेक पद पैसामा किनबेच भइरहेको छ, हरेक अपराधी पैसाले टाउको उठाइरहेको छ । यदि जनताको भावना र अपेक्षा समेटिएको संविधान आएन, विधिको शासनका लागि कडा संविधान बन्न सकेन भने देशको अस्तित्व संकटबाट समाप्तितिर उन्मुख हुनेछ ।
आमनागरिक सचेत छन्, मात्र साहस छैन विद्रोह गर्ने । कारण आमनागरिकमा नेतृत्व छैन । जति पनि चेतनशील व्यक्तिहरु छन्, ती पार्टीका कार्यकर्ता बनेका छन् । कार्यकर्ता जो गलत बुझिरहेका छन्, गलत भयो भन्न सकिरहेका छैनन् । लोभ र लाभ हेर्ने यिनै सचेतहरुले देशलाई बिलापतिर घचेटेका हुन् ।
संविधानका कारण भयानक एउटा द्वन्द्व र संक्रमणकालीन न्याय अधुरो रहदै अर्को द्वन्द्व र संक्रमण सुरु भइसकेको छ । अझै पनि निषेध, विभेद र पूर्वाग्रह राख्ने हो भने ठूलै बिपत्ति भोग्नुपर्नेछ । चेतना रहोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper