banner
banner

समृद्ध मधेश, सवल कांग्रेस

शेखर कोइरालाले नेतृत्व फेर्नका लागि अग्रसर त भए, उनले समृद्ध मधेश, सवल कांग्रेसको नारा पनि दिए । तर उनका लागि फलामको च्यूरा चपाउनुभन्दा गाह्रो छ, शेरबहादुर देउवाको नेतृत्व परिवर्तन गर्नका लागि । किनकि देउवा गुट यति बलियो र चलाख छ कि यो गुटले कांग्रेसको सभापति कोइराला परिवारमा जानै दिनेछैन । कोइराला परिवारले टाउको फुटाए पनि के लाग्छ र ?
एक दिन कार्यकाल बाँकी छँदा ४० भन्दा बढी विभागमा आफ्ना मान्छे फिट गर्नसक्ने देउवाबाहेक कसको हिम्मत थियो । यो कार्य भनेकै देउवाले पुनःसभापति जित्ने ग्यारेण्टी हो ।
हो, चिच्याउन त कृष्ण सिटौला, रामचन्द्र पौडेल र सशांक कोइरालाहरु व्यापक चिच्याए । काग कराउँदै छ, पिना सुक्दैछ । नेपाली कांग्रेस जबदेखि ३ गुटमा विभाजित भयो, त्यसबेलादेखि देउवा झन झन बलियो हुँदै गए ।
देउवालाई अधिवेशनमा सभापति पदबाट खगार्नका लागि कोइराला परिवार, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तिनै शक्ति एक भए पनि गाह्रो छ । किनकि अहिले नै देउवाले आफ्नो पक्षलाई बलियो पारिसकेका छन् । देउवा कम बोल्छन्, छोटो भाषण गर्छन् तर आफ्नो पक्ष कसरी बलियो पार्ने भन्ने विषयमा उनी जानकार छन् ।
यहीकारणले त कांग्रेस पार्टीभन्दा बढी गुटमा विभाजित छ । यद्यपि देशका हरेक परिवर्तनमा कांग्रेसको हात रह्यो । भूमिका देखियो । तर जब देशमा राजतन्त्र फालियो, हिन्दुधर्म फालियो र कांग्रेस नेतृत्व प्रचण्डका पछि लागे, त्यसपछि पछाडि परेको कांग्रेस आज त पुच्छरमै पुगेको छ । भोलिका दिनमा पनि कांग्रेस शक्तिमा पुग्ने सम्भाबना न्यून बनेर गएको छ ।
भन्नका लागि देउवाले नै भनेका हुन्– कम्युनिष्टले चुनाव जित्यो भने बोल्न, रुन पनि पाइनेछैन । नभन्दै स्थिति त्यस्तै आयो र कम्युनिष्ट निरंकूश बन्दै गयो, कांग्रेस रोइरह्यो ।
१४औं महाधिवेशन निकट हुँदै आएको छ । पार्टी र आम निर्वाचन जितेका सशांक कोइराला सभापतिका उमेदवार बन्लान् भनेको त शेखर कोइराला जो चुनाव हारेका हुन्, उनले पो उमेदवारी घोषणा गरे । उनी पार्टीमा केन्द्रीय सदस्य छन्, केन्द्रीय सदस्य रहे पनि उनको मजबुत हाँगो देखिन्न । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले सहयो गरेमा उनी अलिकति बलिया त होलान् तर चुनाव नै जित्नेर देउवालाई नै फाल्ने हैसियत राख्लान् भनेर कसैले पनि विश्वास गरेका छैनन् । उनीभन्दा सशांक कोइराला बढी प्रभावशाली र बलियो उमेदवार हुनसक्थे । उनले खुट्टा कमाएका हुन् कि देउवालाई सभापतिबाट हराउने कुनै रणनीति भित्री रुपमा छ, यसबारे अहिलेसम्म केही सार्वजनिक भएको छैन । सिटौला र पौडेल देउवा हराउ अभियानमा छन्, देउवाको निरंकूशताको विरोध गरिरहेका पनि छन् । अव के हुन्छ, भन्न सकिन्न । तर विश्लेषकहरु भन्छन्– देउवाले चाहना गरुन्जेल उनलाई सभापतिबाट डेग चलाउने ताकत कसैमा पनि छैन । उनी त्यसप्रकारले आफ्नो गुटलाई इन्ट्याक्ट गराएर राख्न सफल सभापति हुन् ।
शेखर कोइरालाले उमेदवारीका लागि सबै तैयारी पूरा गरिसकेको जानकारी दिदै भनेका छन्– अव म व्याक हुन्न । अवको सभापति मै हुँ । म सबै कांग्रेसजनलाई एकढिक्का पारेर अघि बढ्छु, म सभापति भएपछि नेपाली कांग्रेस कांग्रेसजस्तो हुनेछ, कांग्रेसमा अहिलेजस्तो गुटबाजी रहनेछैन ।
शेखर कोइरालाले भनेका छन्– म महाधिवेशन केन्द्रित भएर देशभरि घुमेको छु । आम नेता तथा कार्यकर्ताहरुसँग साक्षात्कार गरेको छु । उहाँहरुकै माग र आग्रह बमोजिम अब आउने महाधिवेशनमा सभापतिमा उम्मेद्धवारी दिन्छु । म आधिकारिक उम्मेद्धवार हुँ । कसको साथ छ भन्ने प्रश्न गर्नुपर्दैन मलाई सबैको साथ छ । देश दौडाहमा जाँदा तपाईको आवश्यक छ भनेर साथीहरुले भन्नुभएको छ । कांग्रेसलाई बुझ्नेहरु भन्छन्– सशांक कोइरालामा देउवा इतरको सहमति बन्न सक्छ । अधिवेशनको समयसम्ममा रामचन्द्र पौडेल र कृष्ण सिटौलाहरुले सशांकसँग सहमति गर्न सक्छन् । सशांक वीपी पुत्र भएकाले समेत वीपीवादीहरु र कांग्रेसभित्रका युवा जमातको समर्थन सशांकको पक्षमा देखिन सक्छ ।
आजको आवश्यकता समृद्ध मधेश, सबल कांग्रेसको नारा भन्दा समृद्ध देश, सवल कांग्रेसको नारा उपयुक्त हुनसक्छ, सशांक यसैगरी प्रजातन्त्रको झण्डा बोकेर अघि बढ्न सक्छन् । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper