banner
banner

केजरीवाल आज पनि चप्पलमै छन्

धर्मरत्न श्रेष्ठ -
भारतको राजधानी दिल्ली, दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवाल । सन २०१३ देखि दिल्लीका शासक बनेका छन् । हरेकपटक उनी चुनाव जितिरहेका छन्, तेश्रोपल्ट उनले बेजोडको जित हासिल गरेका छन् । जनताले उनलाई रोजे ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतमा चक्रवर्ती महाराजको जस्तो शासन गरिरहेको भारतीय जनता पार्टी । त्यस्तो पार्टीलाई राजधानीमै मात दिने पार्टी हो आम आदमी पार्टी । अर्थात सामान्य नागरिकको पार्टी । यो पार्टीबाट तेश्रोपल्ट राजधनी दिल्लीका जनताको मन जितेर चुनाव जित्न सफल भए ।
साह्रै सानो पार्टी हो आम आदमी पार्टि । अरविन्द केजरीवाल ५१ वर्षका भए । उनी भ्रष्टाचारको बिरोधी अभियानमा लागे, त्यही अभियानबाट उदाएको आम आदमी पार्टीबाट उनी मुख्य मन्त्री बनेका हुन् । आश्चर्य के छ भने उनी भ्रष्टाचार विरोधी आन्दोलनका बेलामा चप्पलमा देखिन्थे, तेश्रोपल्ट चुनाव जितेर मुख्य मन्त्री हुँदा पनि सादगीमै छन्, चप्पल मै छन् ।
राजनीतिमा जनता निर्णायक हुन् । केजरीवालले शिक्षा, स्वास्थ्य, पानी, विजुलीमा यति धेरै काम गरे, जनतालाई यति धेरै सुविधा दिए कि उनीप्रति हरेक पार्टीका कार्यकर्ताको विश्वास जागृत हुनपुग्यो । दिल्लीमा ७० सिटका लागि भएको चुनावमा केजरीवालको पार्टीले ६२ सिट जित्यो, यो जितको श्रेय दिल्लीका सबै दलका आमजनतामा जान्छ । उनीहरुले व्यक्ति वा पार्टीलाई भोट दिएनन्, जनताका लागि गरेको राम्रो कामका लागि भोट दिए । राम्रो नेता छानेपछि राम्रो काम हुनसक्छ भन्ने उदाहरण हुन अरविन्द केजरीवाल । जनताको सम्मान आर्जन गर्ने भनेको जनताका अपेक्षाहरु संवोधन गरेर रहेछ ।
हरेक नराम्रा कुराको नक्कल गर्ने नेपाली नेताहरुले अरविन्द केजरीवालको तरङ्गबाट शिक्षा लिन जरुरी छ । मूल कुरो नेपालका जनता पनि हुन् । उनीहरुले राम्रो काम गर्नेलाई मतदान गर्नुपर्ने रहेछ, अनि जनताका अपेक्षा पूरा हुने रहेछन् भन्ने शिक्षा लिन जरुरी छ । बरु हात काटिदिने, राम्रो नेतालाई भोट हाल्दै नहाल्ने जुन खराव प्रवृत्ति मतदातामा छ, त्यसमा अव सुधार हुनुपर्छ । अन्यथा अर्को ५० वर्ष पनि नेताहरु जनताप्रति जवाफदेही हुनेछैनन् । नेताहरुलाई दण्ड र पुरस्कार दिने जनताले हो, जनता अचेतन रहने हो भने दण्ड पाउनुपर्नेले चुनाव जितिरहने छ । अपराधीले राजनीतिमा हालीमुहालीपन जगाइरहने छ ।
नेपालमा शिक्षा, पानी, बत्ती, खाना, नाना र छाना, यिनै कुराको अभाव छ । यी सवालहरुमा ठूला देखि साना दलहरुले चुनावका बेलामा घोषणापत्रमार्फत कबुल त गर्छन्, चुनाव सकिनासाथ हार्ने वा जित्ने दल वा नेताले घोषणापत्र बिर्सन्छन् । यही जवाफदेही नहुनाले काग कराइरहन्छ, पिना सुकिरहन्छको स्थिति भएको हो ।
हाम्रा चप्पले नेताहरु करोडका गाडी चड्छन्, महलमा बस्छन्, तिनको जीवन नै सम्भ्रान्त भइसकेको छ । जनता अभाव र रोगले झन झन ग्रसित भइरहेका छन् । करमाथि कर थोपरिएको छ । सुविधा केही दिइदैन । भ्रष्टाचार र नेता पर्याय बनेका छन् । यो स्थितिमा पनि तिनै आपराधिक प्रवृत्तिले चुनाव जित्नु भनेको मतदाताले आँखा चिम्लेको हो । नेतालाई सुधार्नुपर्ने मतदाता मूर्खलाई मतदान गरिरहन्छन् भने जनताले कसरी सुख र समृद्धि पाउन सक्छन् । अव जनताले सोच्नुप¥यो, कम्तिमा नैतिकवान र जवाफदेही नेतालाईमात्र मतदान गर्नुप¥यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper