banner
banner

समस्या जनतामा छ...

शाश्वत शर्मा -
पछिल्लो समय मुलुक सेक्युरिटी प्रेसमय भएको छ । कतिपय बुझ्नेहरु आफूले आफैलाइृ धिक्कार्दैछन्– कस्तो सरकार बनाएछ भनेर । हामीले पीडकलाई दण्ड दिनै सकेनौं ।  जानेनौं  अरु त अरु गत दुईवर्ष अघिका संघीय र प्रदेश चुनावताका गरिएका बाचाहरुलाई पनि सम्झिन सकेनौं, सम्झाउन सकेनौं । लखनौ लूट मच्चिएको छ शासनमा, राष्ट्रको सिमाना खुम्चिदो छ, हामीहरु मौन छौं । लोक मौन बसेपछि ब्वाँसाहरुले लुट्ने नै भए । लुटिरहेका छन् ।
अर्काथरि भन्छन्– सफ्ट कुको तैयारी हुँदैछ भनेर गोप्यता खोल्दै हिडेका छन् । सफ्ट कु गर्ने कसले ? किन गर्ने ? त्यो भन्न सक्दैनन् । हावा हो, फैलिरहन्छ । सत्ताधारी र प्रतिपक्षी चोर चोर मौसेरा भाइको स्थिति छ । प्रतिपक्षी वा नागरिक समाजले गर्ने भनेको माइतीघर मण्डलामा एकदुई दिन चिच्याउने र घरघर गएर थकाइमार्ने मात्र हो । नौटंकी चलेको छ राजनीतिमा ।
डिल भइरहेको सेक्युरिटी प्रेस खरिदको मामिला खुस्केकाले मात्र सरकार गोकुलमय देखिएको हो । कमिशन मिलेको भए यो अवस्था देखिने थिएन । यस्तै हो झण्डै डेड खर्बको स्याटेलाइट खरिद, सेक्युरिटी प्रेस खरिद, फोरजी सेवा बिस्तार, अप्टिकल फाइवर बिछ्याउने ठेक्का अथवा मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम र सामुदायिक विद्यालयहरुमा ल्याव स्थापना र वडा स्वास्थ्य संस्थाहरुमा इन्टरनेट परियाजनाहरु । गोकुल वास्कोटाको ह्याउले भ्याउने कुरा थिएन यति ठूला ठुला डिल । यसका पछाडि शक्तिशाली सबै लागेका छन्, पोल खुल्यो, खुल्दै जालान् । पोलिने पोलिन्छन्, जोगिनेले जोगाउँदै जानेछ । खेल यस्तै चलिरहन्छ यहाँ ।समझदार छन् नेपाली, बुद्धिजीवी पनि छन् तर विवेक छैन । विवेक भएका भए सही र गलत छुट्याउने, भन्न सक्ने ताकत हुन्थ्यो । ताकतबिहीन छन् लोकहरु । यसकारण त अत्याचारी, भ्रष्टाचारीहरु अत्यधिक मत ल्याइरहेका छन्, जितिरहेका छन् र लोकमाथि शासन गरिरहेका छन् । जनताको स्तर यही हो, कहिले बदलिएला ? जनता अचेत भएपछि नेता छाडा हुने नै भए ।
धेरैले अझै ओली र प्रचण्ड, मार्काहरुको जयजयकार गरिरहेकै छन् । तिनमा परिवर्तन धान्ने कुन खाका छ र जयजयकार गरेको हो, भन्न सकिन्न । राजनीति स्वार्थी छ, नेता स्वार्थी छन् र तिनका कार्यकर्ताहरु पनि स्वार्थ लम्पट बनेका छन् । जनता बिकल्प देख्दैनन् र हरेक गुण्डागर्दीलाई लोकतन्त्र भनेर मान्न बिबश छन् । अझ ०४६ साल अघि पञ्चेहरुले देश लुटे भन्ने नाराले ल्याएको परिवर्तनपछि १२ वर्ष लाउडा, धमिजा काण्डहरु भएका थिए । जनआन्दोलनका नाममा देशी विदेशी गुण्डागर्दी भयो, भ्रममा परेका जनताले पनि साथ दिए । परिवर्तन आयो । परिवर्तनले सरकारी सम्पत्ति केही नरहने भयो । सिंहदरवारदेखि गाउँपालिकासम्म भ्रष्टाचार व्याप्त भयो ।  संघीयता भन्ने घाँडो लोकका गर्धनमा भिडाएर कार्यकर्ता पाल्ने पास्ने गजबको तरकिव निकालिएको छ । हिजो जनयुद्ध, जनआन्दोनलमा जुन जुन नारा थिए, ती सब फ्याकिए । आज कसको चासो छ गण्डकी, कोशी, १९५० को सन्धिका बारेमा । निरंकूशको आरोप लगाएर राजतन्त्र फालियो, निरंकूश लोकतन्त्र आएर जनतालाई सकसमात्र बढ्यो, भयो के ? निरंकूशता झन झन बढेर गयो ।
जनआन्दोलन, जनयुद्धका लक्ष्यहरु संविधानमा अटाएनन् । परिवर्तनपछि चप्पलछापेहरु आलिशान महलमा पुगेका छन् । करोडौं, अर्वमा खेल्न थालेका छन् । तिनैले चुनावमा जित्छन् भने जनता कति विवेकी रहेछन् त ? आश्चर्य लाग्छ । अहिले सेक्युरिटी प्रेसमय बनेको छ राजनीति, केही समयपछि अर्को काण्ड मच्चिन्छ मच्चिन्छ । नेपालीको क्षमा दिने र बिर्सने बानी छ । गोकुल बास्कोटा छानबिनमा पर्लान् नपर्लान्, सजाय होला नहोला, हेर्दैजाउँ । यिनले सफाइ पाए भने पुनः यिनले चुनाव जित्छन् । जनताले जिताउँछन् । यस्ता जनताबाट के आश गर्ने ? समस्या जनतामा छ...।
सप्तरीबाट जयप्रकाश गुप्ता, गोरखाबाट चिरञ्जिवी वाग्लेलाई चुनावमा जान पाउने गरिदिने हो भने चुनाव जित्छन् । भ्रष्टाचार गरेको, अकूत सम्पत्ति कमाएको कुरा जनता बिर्सन्छन् । ललिता निवास, वाइडबडी के भयो खोई ? मातातीर्थको १ सय ३७ रोपनी जग्गा, राजा वीरेन्द्रका जग्गामा यती समूहको हालीमुहाली, जनता मौन छन् । राजनीति मिलिजुली हजम गरिरहेका छन् ।
यी बाहेक सीमा अतिक्रमण प्रकरण, सुन काण्ड, बलात्कार हत्याकाण्डहरु कति छन् कति कसले हिसाव राख्ने ? एउटा हिन्दु धर्म र अर्को राजतन्त्र फालेपछि देशमा लुटालुट चलेको छ । अभिभावकविहीन बनेको छ मुलुक । कम्तिमा कानुन त कारगर हुनुपथ्र्यो, कानुन पनि दयनीय बनेको छ । यसकारणले पनि मुलुक लुटिदैछ । समस्या जनतामा छ, जनता जागरुक हुनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper