banner
banner

समाज सेवा

शशी श्रेष्ठ -
मानिस एक सामाजिक प्राणी हो । घुमन्ते जंगली जीवनबाट क्रमशः सुरक्षा, सहयोगको आवश्यकता महशुस गरि क्रमश समूह र झुण्डमा बस्ने परम्पराको विकास भएको हो । सामूहिक रुपमा रहेको अवस्थामा जंगली जनावरको आक्रमणबाट बच्न सजिलो, खाना खोज्न तथा एक अर्कालाई साह्रो–गाह्रो पर्दा सहयोग पुगेको अवस्थाबाट समाजको उत्पत्ति भएके देखिन्छ । समाजसँगै सामुहिकता र सेवाभावले महत्वपूर्ण स्थान पाउँदै आएको देखिन्छ ।
समाज मानव मात्रको नभई अन्य प्राणी जगतको पनि हुन्छ । उनीहरुका आफ्नै बोली, व्यवहार र कार्यप्रक्रिया रहने गरेको पाईन्छ । तिनीहरुमा पनि एकलाई साह्रो–गाह्रो पर्दाको अवस्थामा विभिन्न हाऊभाऊ तथा क्रियाकलापबाट अर्कोले मद्दत गर्ने गरेको देखिन्छ । प्राणी जगतको सर्व श्रेष्ठ प्राणी र सामाजिक प्राणीको रुपमा हामी मानव जाति अग्र स्थानमा आउने गरेका छौं । समाजमा रहँदा, बस्दा मानिसलाई अनेकन समस्या तथा अप्ठ्यारा अवस्थाको सामाना गर्नुपर्ने भयो । त्यस्तो विषम परिस्थितिमा एकले अर्कालाई आफ्नो बलबुताले भ्याएसम्मको सहयोग गर्न थाले । व्यक्तिगत उदारका र सहयोगी भावबाट विकसित हुँदै समाजसेवा विषय आजसम्म आईपुग्दा विस्तृत र व्यापक बन्न पुगेको छ ।
विश्वमा गएका ठूला भुकम्प, बाढी, पहिरो, महामारी, आतङ्क जस्ता भयावह अवस्थाले समाजसेवा भन्ने भावलाई अगाडि बढाएको छ । मानव आफैले गरेको विध्वशंत्माक नरसंहार देखि प्राकृतिक संकटसम्म जुध्न र पीडित पक्षलाई उचित उद्धार, सहयोग र पूर्नस्थापनासम्म गर्ने लक्ष्य समाजसेवाको रहेको हुन्छ । देश, काल र परिस्थिति अनुसार गाउँ, समाज र देशका समस्या भिन्न हुने गरेका छन् । पछिल्लो समयसम्म आईपुग्दा त्यस्ता विषयलाई समाधान गर्नका लागि सामाजिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहबाटै विभिन्न संघ, संगठन क्रियाशिल रहेको पाईन्छ । सामाजिक तहबाट विभिन्न समूह, क्लब रहेका हुन्छन् भने राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि विभिन्न यस्तै सहयोगी निकायको निर्माण हुने गरेको छ । सेवा नै धर्म हो भन्ने मूल–मन्त्रका साथ आज विश्वमा स्काउट, रेडक्रस जस्ता अनकौं संस्था खुलेका छन् । सेवा र गैह्र नाफामुखी चरित्रले यस्ता संस्थाको छवी उच्च रहेको छ ।
विश्वमा दिन प्रतिदिन नयाँ नयाँ समस्याको श्रृङ्खला थपिदै गएको वर्तमान अवस्थामा तिनको समाधान कुनै एक मात्र व्यक्ति र निकायबाट प्राय असम्भव छ । समाज पिच्छे समस्या भिन्न छन् । कतै मानिस रोगले ग्रसित छन् त कतै प्राकृतिक विपत्तिले, कतै युद्धले पिडित छन् त, कतै अभाव र अनिकालले । यस्तो जटिल अवस्थाको सामना गर्न सबै पक्ष र निकायको सयुक्त प्रयत्न आवश्यक छ कुनै समय युद्धको समयमा स्काउटका जन्म दाता वेडेन पावेलले युद्धमा घाईतेको उपचारमा पु¥याएको सहयोग होस् वा अरुलाई सहयोग गर्न नथाक्ने लाल्टिन बोकेकी महिला नामले परिचित प्लोरेन्स नाईटिङगेल समाजसेवाको क्षेत्रमा अविस्मरणीय नाम हुन् । यस्तै व्यक्तित्वको असल नेतृत्व सदा आवश्यक छ । 
समाजसेवा आजको संकटग्रस्त विश्वको महत्वपूर्ण पक्ष हो । हामी मानवले अशक्त, असक्षम वर्गलाई आफ्नो हैसियत र क्षमता अनुरुपको सहयोग गर्दै सर्वश्रेष्ठ प्राणी हुनुको पुष्टि गर्नुपर्छ अरुको दुखलाई केहि हदसम्म हाम्रा सहयोगी हातबाट हटाउन सकिन्छ र त्यो नै साँचो सेवा र धर्म हो । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper