banner
banner

बुख्याँचा लोकतन्त्र

देवी काफ्ले - पुस १ गते कालो दिवस मनाउनेले मनाए । बढी मान्छेले यो त एकता दिवस भनेर पनि मनाए । सरकार मौन बस्यो । यो सरकारले भन्न सकेन– राष्ट्र निर्माता को हो ? एकता चाहिन्छ कि चाहिदैन ?
– यो सरकारलाई प्रेस स्वतन्त्रता चाहिदैन, त्यसैले पार्टीको नाममा पत्रकारलाई बालुवाटार लगेर सपथ खुवाउँछ । सरकारले गजब काम गरेको छ, मुटु भएका पत्रकार छैनन्, लेख्दैनन् भनेर लेख्नकै लागि बालुवाटारमा सपथ ख्वाएको हो कि ? अव तिनैले लेख्छन् ।
– एमसीसी ठिक कि बीआरआई । दुबैका विषयमा संसदमा बहस भएकै छैन, सरकार दुबैमा सही गर्छ र अहिलेको सरकार पास हुन्छ भन्छ । सही किन भयो, पास किन गर्ने ? लोकतान्त्रिक सरकार लोकलाई भन्दैभन्दैन ।
– बलात्कारको प्रयास गरेका व्यक्ति जेल चलान भए । मान्छे मारेका व्यक्ति सभामुख बन्न सफल भए । उनका विरुद्ध एकजनाले पनि उमेदवार दिएनन् । नेकपाभित्रको मुटु झलक्कै देखियो ।
– आइतवार सभामुखको चुनाव । आइतवार नै दिनेश त्रिपाठीले हालेको मुद्दाको मुद्दाको पेशी । प्रधानन्यायाधीशले मुद्दा श्रीहरिप्रसाद फुयाँलको फाँटमा पारिदिए । यसअघि अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा वादीको तर्फबाट बहस गरेका थिए । मार्ग खुल्यो, अग्नि सभामुखमा चयन भए ।
– अग्नि सापकोटालाई सभामुख बनाउन उपसभामुख शिवमायाँलाई राजीनामा गराइयो । नेकपाले सफल उपसभामुख र महिलालाई एउटा सभामुखमा पनि विश्वास गरेन । आफ्नै मान्छे चाहिने रोग हो यो ।
– आइतवार नै दुई लात्ती र एक झापटमात्र हानेको हुँ भन्ने गण्डकी प्रदेश सांसद राजीव गुरुङ ६ हजार धरौटीमा रिहा भए । कुट्ने र खानेहरु अदालतबाट यसैगरी धरौटीमा रिहा हुने गरेका छन् ।
– नेकपाका अध्यक्ष प्रचण्ड, अध्यक्ष र प्रधानमन्त्री केपी ओली र प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवावीच संक्रमणकालीन मुद्दा मेलमिलापमा टुङ्ग्याउने सहमति भएको छ । यो सहमतिको छेउटुप्पो महराको जेल जीवनदेखि अग्निको सभामुख राजसम्म जोडिएको छ । राजनीतिभित्रको राजनीति बुझ्नेहरुले बुझेका छन्– बीआरआई कहाँसम्म हो, एमसीसीले कति झलमल्ल पार्नेहो ?
– पुराना पत्रकार लेख्छन्– नेकपाभित्र प्रचण्डलाई युध्द अपराधमा फँसाएर रहे सहेका माओवादीलाई आफनो कब्जामा लिने रणनीति पाक्दैछ भने त्यसलाई अस्वाभाविक मान्न मिल्दैन । महरा यौन काण्डमा फँसेपछि सभामुख पदमा प्रम ओलीले सुवास नेम्वाङ्गलाई र प्रचण्डले अग्निलाई खोज्नुको ठूलो अर्थ छ । त्यो अर्थ राजनीतिमा अव देखिदैजाला ।
– ०६५ सालको परिवर्तनपछि ०७६ सालको माघमा आइसक्दा पनि दलहरुमा एकरत्ति राजनीतिक संस्कार देखिएन । सबैलाई सत्ता र पैसा, शक्ति र प्रभावकौ नशा छाइरह्यो ।
– पहिले हिमालमा यती बस्थ्यो, ओली शासनमा यती भ्रष्टाचारको मुहान बनेको छ, देश यतीमय भइसक्यो । हुन त प्रधानमन्त्री निवासको जग्गा खाने नेकपाको महामन्त्री बनेका छन् ।
– महालेखाको रिपोर्टमै भ्रष्टाचार दर्ज भएका मुद्दाहरु, सांसदले भ्रष्टाचार देखेका प्रकरणहरु प्रधानमन्त्रीले मजाले दराजमा कोचिदिएका छन् ।
– राजनीति सन्यासी हुनका लागि होइन भनिन्थ्यो, राजनीति त खर्बपति हुन पो गरेको देखियो ।
– लोकतन्त्रमा लोकलाई कुल्चेर शासन गर्नेहरु गाउँपालिकादेखि सिंहदरवारसम्म आशन जमाएर बसेका छन् । संविधान देखाउने कागज हो, असली शासन त प्रशासनदेखि अदालतसम्म राजनीतिक भागबण्डा गरेर चलाइएको छ । यो सुशासन हो कि कुशासन ?
– कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बिधिबाट चलेको छैन, केही व्यक्ति र पार्टीको ह्वीपमा चलेको छ । नेकपा नै राज्य, राज्य नै नेकपा र नेकपाको सेटिङ बनेको छ । बुख्याँचा पनि तर्साउन राखिने हो, लोकतन्त्र नामको बुख्याँचाले पनि तर्साउनु तर्साइरहेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper