banner
banner

नो वमन, नो क्राई – सिन्धिया श्रेष्ठ

‘हजुरलाई जे मनलाग्छ गर्नु, म केही भन्दिनँ, मलाई यसबारे आइन्दा नसोध्नु । म साथीसँग भोलि कलेजबाट टुर जाँदैछु ड्याड ।‘ यति भनेर कानमा इयरफोन अड्काएर म आफ्नो बाटो लागेँ । मैले ड्याडलाई फर्केर पनि हेरिनँ । म एकोहोरो हिँडिरहेँ । बत्तीसपुतलीबाट पशुपति पुग्न मलाई कत्ति पनि बेर लागेन । कानमा बब मार्ली मस्त झुमिरहेको थियो । आँखाबाट कालो पानी बगिरहेको थियो । हातले पुस्दै टाउको निहुर्याउँदै हुडीको टोपीले टाउको छोपी म मेरो वरिपरिको गतिविधिलाई इगनोर गरि हिँडिरहेँ ।
म मन्दिरभित्र गएँ सरासरी । विरुपाक्षको मूर्ति अगाडि गइ उभिएँ । म चाहन्थेँ कि विरूपाक्षले अहिले नै धर्ती टेकुन् । म चाहन्थे कि अहिले नै सारा संसार नाश होस् । न मलाई मेरो ज्यानको मायाँ थियो, न त मेरो सपनाको नै । म त्यहाँबाट गइ घाटको एक छेउमा बसेर जल्दै गरेको शरीरलाई एक तमासले हेरिरहेँ । दाउराहरू खरानी हुँदै थिए । सँगसँगै कसैको शरीर जलिरहेको थियो भने त्यो धूवाँमा कसैको सपना पनि उडिरहेको थियो । मैले एकोहोरो त्यो बल्दै गरेको आगोलाई हेरिरहेँ । शायद बिहान लगाएको गाजल अघि आँसुमा सबै बगिसकेछ, आँखाबाट केवल सेतो पानी बगिरहेथ्यो निरन्तर ।
आजकै दिन ठिक एकवर्ष अघि म यहीँ बसेर रोइरहेकी थिएँ । यही अगाडिको चितामा मेरो मामुको शरीर खरानी हुँदै थियो । ब्रेन ह्यामरेज भइ मेरो मामुको एकवर्ष पहिले आकस्मिक निधन भएको थियो । त्यसदिनदेखि शायद म कहिले पनि खुलेर हाँसिनँ, कसैसँग खुलेर कुरा गरेको मलाई थाहा छैन । म एउटै सन्तान थिएँ । त्यसैले होला बच्चैदेखि एकलकाँटे स्वभावकी मैले त्यसदिनदेखि आफूलाई झन् एक्लो महशुस गर्न थालेँ ।
मामुको ६ महिनाको काम सकिएपछि ड्याडले अर्को विवाह गर्ने कुरा गर्नुभयो, जुन मलाई मञ्जुर थिएन । म अरु कसैलाई पनि आमा अथवा मामु भनेर सम्बोधन गर्न चाहँदिन थिएँ । म बारम्बार ड्याडलाई त्यहि भन्थेँ, ‘आई ह्याभ वन्ली वान मम, ड्याड म अरु कसैलाई पनि त्यो इज्जत दिन चाहन्न ।’ ड्याड मलाई कति सम्झाउनु हुन्थ्यो, तर मैले कहिले समर्थन जनाइनँ ।
मनको बह पोख्नलाई मेरा नजिकका कोही थिएनन्, त्यसैले मैले यसै क्रममा दुईजना साथी बनाएँ– सृष्टि र अजय । धूँवाको नसामा रमाउने उनीहरू मलाई पनि धूँवामा धूँवा थप्न बोलाउँथे । मेरी आमाले दिनु भएको संस्कार बाहिर म कहिल्यै गइनँ ।
अहिले यही बाग्मतीको डिलमा बस्दा मलाई मेरा सारा पुराना दिन याद आइरहेछन् । मम–ड्याड मलाई मेरो प्रत्येक बर्थडेमा यहाँ लिएर आउनुहुन्थ्यो । म प्रत्येक चोटी आउँदा यहाँ दशौँ चिता जलिरहेका हुन्थे । मेरो बर्थडे कसैको डेथ–डे हुन्थ्यो प्रत्येक वर्ष । आज पनि श्राद्ध सकेर ड्याडले फेरि त्यही कुरा दोहो¥याउनु भयो । सुन्नासाथ म त्यहाँबाट उठेर हिडेँ ।
मलाई आज मेरो मामुको धेरै याद आइरहेको थियो । सेतो सानो मिठाइदेखि लिएर त्यो झिलिमिलि फिरफिरे सम्मले मलाई मेरो र मामुवीचको सामिप्यताको बोध गराइरहेको थियो । घर पुगेर कसैसँग केही नबोली म भोलिको लागि सामान प्याक गरेर सुतेँ । बिहान सबेरै उठेर म टुरको लागि निस्किएँ । गाडी चढेपछि मैले ड्याडलाई टेक्स्ट गरेँ– विल सि यु आफ्टर फाइभ डेज, टेक केयर ड्याड ।
जब म पाँच दिनको टुरपछि घर फर्किएँ मलाई मेरो आफ्नै घर नौलो लाग्यो । घरमा नयाँ मान्छेको आगमन भएको रहेछ । उहाँसँग मेरो कुनै सम्बन्ध थिएन । सि वाज जस्ट माइ ड्याडस् वाइफ । ‘सुलु, तिमी आयौ ? कस्तो भयो ट्रिप ?‘
‘मलाई मेरो मामुले बाहेक अरुले सुलु भनेको मन पर्दैन’ मैले भनेँ ।
‘म पनि त तिम्रो मामु हो ।‘
‘होइन, हजुर भ्रममा हुनुहुन्छ, यु आर नट माइ मम ।’
यति भनेर म आफ्नो रुममा गएँ । कसैसँग बोल्न मन लागेन । ड्याडदेखि पनि रिस उठ्यो मलाई । उहाँ कामको शिलशिलाले बाहिर जानुभएको रहेछ । मैले उहाँलाई म घर आइपुगेँ भनेर न कल गरेँ, न कुनै टेक्स्ट गरेँ– कारण त्यो अब मेरो घर थिएन । त्यो मेरो ड्याडको र उहाँको वाइफको घर थियो ।
रूममा आएर म भक्कानिएर रोएँ । मैले हतार हतार आफ्नो मोबाइल निकालेर मामुलाई मेसेन्जरमा टेक्स्ट गरेँ, गरिरहेँ । एकवर्षदेखि मेरो मनमा लुकेर बसेका सारा कुरा मैले मामुलाई टेक्स्ट गरेँ । जब मसँग शब्दको कमि भयो, मैले रूँदै सारा कुरा रेकर्ड गरेर भोइस मेसेज पठाएँ । जब बोल्दा बोल्दै धेरै रोएर म बोल्न नसक्ने भएँ, मैले मामुलाई भिडियो कल गरेँ । ‘नट रिचेबल, एक्टिभ अ लङ टाइम एगो’ देखाउँदा देखाउँदै पनि मैले मामुलाई सम्पर्क गर्न खोजिरहेँ ।
मैले उहाँलाई सधैँ नै मिस गरिरहेँ तर आज आइ मिस्ड हर लाइक नेभर बिफोर । म रुँदारुँदै कतिबेला निदाएँ पत्तै भएन मलाई । बिहान उठ्दा मेरो फोनकोे ब्याटरी डेड भइसकेको रहेछ । फ्रेस भएर म सृष्टिकोमा गएँ । दिनभरि उसकोमा बसेर साँझमा घर फर्किएँ । बाहिरबाट आवाज आयो ‘सुलु, खाना खान आऊ...‘मैले मतलबै नगरी बफरमा बब मार्ली घन्काएँ । आज पूर्णिमाको रात थियो । मलाई याद छ, म ठूली हुञ्जेलसम्म पनि मामु र म पूर्णिमाको उज्यालोमा मध्यरातसम्म छतमा बसेर गफ गथ्र्यौं । म मेरा सारा कुरा मामुलाई सेयर गर्थेँ, टिचरको मिमिक्रि गर्नदेखि लिएर आफ्नो क्रसको गर्लफ्रेण्डको कुरासम्म काट्थेँ । सि वाज माइ बेस्ट फ्रेण्ड, शायद त्यसैले पनि मेरा कोही साथी थिएनन् वा शायद मैले बनाउँदै बनाइनँ ।
बिहान सबेरै उठेर म कलेज जान तयार हुँदै थिएँ, अर्को रुममा आवाज आउँछ– ‘सुलु तिम्रो धुनुपर्ने लुगा निकालेर जाऊ है, म धोइदिन्छु ।’ 
‘हजुर किन बुझ्नुहुन्न म हजुरकी सुलु होइन भनेर र अर्को कुरा म मेरो लुगा आफैँ धुन सक्छु’ यति भनेर म निस्किएँ ।
साँझ घर आउँदा मैले मेरो कोठालाई पहिला जस्तो देखिनँ । बेड, कपबोर्ड सबै यताको उता सारिएको थियो । आइ निउ द्याट वाज हर । मैले सकी नसकइ मेरो रुम पहिलाको जस्तै पारेँ । मलाई त्यति घृणा थियो मेरो ड्याडको वाइफप्रति । न उहाँले मलाई बोलाको मन पथ्र्यो, न त उहाँले मेरा लागि केही गरेको नै । रुम मिलाइसकेर म बेडमा पल्टिएँ र केही पनि नखाइ रातभरि नसुती म बसिरहेँ, छेउमा मामुको फोटो राखेर ।
बिहानै म मेरो ड्याडको मेसेजले ब्यूँझिएँ । ‘ह्याप्पी बर्थ डे छोरी, विल बि होम् बाइ नून ।’
मैले घडी हेरेँ, बिहानको ५ बजेको रहेछ । आज त मेरो बर्थ–डे । म फ्रेस भएर सरासरी किचनमा गएँ र दुई कप चिया बनाएँ । एक कप मैले ड्याडकी वाइफलाई लगेर दिएँ ।
‘ह्याप्पी बर्थ डे सुलु‘ आज त तिम्रो ड्याड पनि आउँदै हुनुहुन्छ, भरे बाहिर खाना खान जानुपर्छ है ।“
म केही बोलिन ।
चियाको चुस्कि लिँदै भनिन्– ‘ओहो कस्तो मीठो चिया बनाको सुलु ।’ म फेरि पनि केही बोलिनँ । उठेर आफ्नो रुममा गएँ र सुतेँ एकछिन मजाले ।
१२.३८ मा मेरो निद्रा खुल्यो । फ्रेस हुँदै थिएँ, ड्याड आइपुग्नुभयो । हग गर्दै उहाँले मलाई एउटा अनभलोप थमाउनुभयो– ‘यो तिम्रो सरप्राइज गिफ्ट, आजकै दिन दिन्छु भनेर राखी छोडेको थिएँ ।’
हत्तारिँदै आफ्नो रुममा आएर मैले अनभलोप खोलेँ । एकैछिनमा म बेस्सरी रोएँ । गएर मैले मेरो ड्याडको वाइफलाई हेरेँ । चियाको कपमा केही चिया बाँकी नै थियो तर उहाँको धड्कन बाँकी थिएन । त्यो बाँकी चिया सँगसँगै उहाँको शरीर पनि चिसो भइसकेको थियो । ड्याड खै के गर्नमा व्यस्त हुनुहुन्थ्यो– मैले ध्यान दिइनँ । मेरो समझमा केही आएन । त्यो बाँकी रहेको चिसो चिया मैले सबै पिएँ र त्यो चिसो शरीरको छेउमा गएर मैले ती उग्रिरहेका आँखालाई हेरेँ । दाइने आँखाको तलपट्टि एउटा सानो कोठी रहेछ उहाँको, मेरो जस्तै ।
‘मामु’ अनायासमै मेरो मुखबाट यो शब्द निस्कियो ।
आफ्नो जन्मदिनमै मर्ने मान्छे भाग्यमानी हुन्छन् रे । शायद म मरेपछि मेरो भाग्य चम्किनेछ । त्यो अनभलोपमा सरोगेसी अग्रिमेन्ट लेटर थियो । मेरो ड्याड र उहाँको वाइफ मेरो बायोलोजिकल पेरेन्ट्स हुनुहुँदो रहेछ । मैले जन्मेदेखि जसलाई आफ्नी आमा मानेँ उहाँले मलाई मात्र आमा सरह मायाँ दिनुभयो ।
मेरो मुटु सहन नसक्ने गरि पोलिरहेको थियो । आँखाबाट आसु निरन्तर बगिरहेको थियो । मैले बुफरमा बब मार्लीको ‘नो वुमन नो क्राई‘ गीत बजाएँ र बाहिर त्यो चिसो शरीरसँग टाँस्सिएर बसेँ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper