banner
banner

अवला कसरी, सरकार जवाफ छ ?

देवी काफ्ले -
माघ महिना श्रीस्वस्थानी देवीको महिना अर्थात् धार्मिक महिना । पौष शुक्ल पुर्णिमाको दिनदेखि हातगोडाका नङ् काटेर, नुहाएर, चोखा कपडा लगाएर, एक छाक त्यो पनि अति शुद्ध भोजन गरेर मध्यान्न कालमा नित्य श्रीमहादेवको पूजा गर्नु भनेर अह्राइएको छ । यसरी सबै बिधीपूर्वक पूजा गरेमा मनले चिताएको पुग्नेछ । साथै श्रीमहादेवको पूजा गर्दा स्वस्थानी कथा वाचन गर्नुपर्छ । उक्त कथा वाचन गर्ने आफूले पनि सुन्ने र अरूलाई पनि सुनाउनु पर्छ । सुन्ने र सुनाउने दुबैले चिताएको वर पाउँछन् । कथा वाचन गर्दा सुन्ने मान्छे कोही नभय पिर्का, खाटलाई भय पनि सुनाउनु पर्छ । कथाका अनुसार काठमाण्डौको साँखुस्थित शालीनदीमा पौषशुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म अप्सराहरू समेत आएर श्रीस्वस्थानी देवीको पूजा गरी ब्रत बस्छन् र ब्रत सकेपछी स्वर्ग नै जान्छन् ।
कथामा श्रीमहादेव अविवाहित थिए । दक्षप्रजापतिका तेत्तिसकोटी छोरी सबै देवताहरूलाई बिहे गरीदिने भए । छोरा नभएका कारण जेठी छोरी सतिदेवीलाई आफ्नो हेरचाहको लागि राखे । यो कुरा महादेवले थाहा पाएर माग्न गए तर दक्षले दिएनन् । भगवान श्रीबिष्णु समेत मिलेर जालझेल गरी महादेवले बिहे गरी ल्याए ।
जब सतिदेवीले आफ्ना पति महादेवको अपमान सहन सकिनन् अनि अग्नीकुण्डमा हामफालेर प्राण त्याग गरीन् । त्यसपछी उनी हिमालय पर्वतकी पत्नी मेनकाको गर्भमा बास गर्न पुगिन् । उनी पार्वतीको रुपमा जन्मेपछी श्रीमहादेव नै स्वामी पाऊँ भनेर स्वास्थानी ब्रत गरीन् । पार्वती बिहे गरीसके पछी महादेव श्लेष्मान्तक वनमा वनबिहार गर्न आए । उनले एउटा किराँत बनेर किराँतिनीतिरै सल्किन थाले । सुन्दरी भएकीले किराँतिनीसँग भुतुक्कै भए ।
जालन्धरले पार्वतीलाई देखे पछी उ भुतुक्कै भयो । कसरी पार्वतीलाई आफ्नो बाहुपासमा ल्याउने भनेर ध्यानदृष्टिले हे¥यो, बिचार ग¥यो । आखिर उसले पार्वतीलाई झुक्याउन महादेवको रूपधारण गरी कैलाशपर्वत गयो । जब पार्वती देख्यो जालन्धर ठाउँको ठाउँ ढल्यो । जालन्धर आफूलाई छल गर्न आएको कुरा थाहा पाएर पार्वतीले बिष्णुलाई गुहारीन् । भगवान बिष्णु र श्रीमहादेव बसेर अब त्यो राक्षस जालन्धरलाई कसरी मार्ने भन्ने सल्लाह गरी युद्धको तयारी गरे । घनघोर युद्ध भयो । सृष्टिकर्ता श्रीमहादेवको केही लागेन र अन्यमा जालन्धर पत्नी बृन्दाको सतित्व हरण गरेपछी मात्रै जालन्धरको मृत्यु हुने थाहा पाएपछी श्रीबिष्णु र श्रीमहादेवको सल्लाहमा भगवान बिष्णुले बृन्दाको सतित्व डसे, उता महादेवले जालन्धर मारे । फेरी स्वर्गका राजा ईन्द्रले शिवभट्ट ब्रहमाणले गरेको दानधर्मले आफ्नो राज्य नै जान्छ की भनेर डराउँदै श्रीमहादेवकहाँ पुगे । महादेवले ईन्द्रको कुरा सुनी शिवभट्ट ब्रह्माणकहाँ पुगे र उनकी नाबालक छोरी गोमालाई जोगीको भेषमा श्राप दिए, तेरो सात बर्षमा सत्तरी बर्षको बुढोसँग बिहे होस् भनेर ।
सोही श्राप अनुसार कन्यादान गर्ने हेतुले वर खोज्न हिँड्छन् गोमाका पिता । खोला किनारमा बसेको सत्तरी बर्षे बृद्धलाई देखेर किन यसरी यहाँ बसेका होलान् भनेर सोधीखोजी गर्दा गोमाका पिता धर्मसंकटमा पर्छन् किनकी तिम्री छोरी मलाई देऊ नत्र आत्महत्या गरी मर्छु भनेर शिवशर्मा बुढाले धम्की दिन्छन् ।  शिवभट्टले आत्महत्याको पाप बोक्नु भन्दा छोरी कन्यादान दिनु उचित ठान्छन् र सात बर्षकी छोरी गोमालाई सत्तरी बर्षको बुढोलाई सुम्पिन्छन् ।
श्रीमहादेव अझै सन्तुष्ट भएनन् गोमालाई पिडा दिएर । उनले बिहे गरी बिदाई भएर हिँडेपछी धेरै टाढा गाँउको छेऊमा एउटा खरको झुपडी निर्माण गरी गोमालाई गर्भवती बनाएर त्यही झुपडीमा एक्लै छाडी कैलाशतिर लागे ।
स्वयं भगवान श्रीमहादेव नै पति पाउँदा पनि गोमाले कति दुःख कष्ट सहनु पर्यो । अन्तमा गोमाको छोरालाई लावण्यदेशको राजा बनाईदिएर सारा पाप कटानी गरे र ठूलो गुण लगाएको ब्याख्या पार्वतीसँग गरे महादेवले ।
उल्लेखित कथामा कुनै ठाऊँमा पनि नारी प्रमुखता पाइँदैन । कथामा पुरूष पात्रहरू श्रेष्ठ छन् । पुरूष पात्रले जे गर्दा पनि पाप लाग्दैन । शिवजीले छलकपट द्वारा सतिदेवीलाई पाए । छलकपट गरेर पनि बिहे गरेपछी अनेक परिक्षा लिए सतिदेवीको । आफू निष्प्राण भाङ खाएर हप्तौँ दिन सुत्ने, मलाई नखुवाई एक्लै खाइस् भनेर मानसिक यातना दिने गरे । तै पनि सतिदेवीले उनका गोडा धोइदिनु, बिषभाङ् धतुरो तयार पार्दिने स्त्री धर्म निभाइरहनु पर्ने ।
पार्वतीले तपस्या गर्दा ईन्द्रको रूप लिएर परीक्षण गर्न उनै महादेव गए । बिहे गरीसके पछी उनै शिवजी पार्वतीलाई एक्लै छोडेर वनबिहार गर्दै किराँतिनीसँग लठारिन थाले । उनको परिक्षा कसले लिने तै पनि उनलाई पाप लागेन किनकी उनी पुरूष हुन् ।
जालन्धर पत्नी बृन्दाको सतित्व डगाएर मात्रै उसको मृत्यु सम्भव भयो । यहाँनेर पतिको प्राण पत्नीको यौनांगमा राखेको पाइन्छ । किनकी नारी अन्या हो । त्यसरी बृन्दाको सतित्व डगाए पछी पनि शिवजीलाई पाप लाग्ने कुरै भएन  । बिष्णुलाई उक्साउने त उनै हुन् । आफ्नो स्वार्थको लागि पनि नारीको अस्तित्व डगाउँने पुरूषलाई यहाँ पनि पाप लागेन ।
ईन्द्र जस्तो पुरूष पात्रको कारण निर्दोष सात बर्षिया गोमाले भोगेका दुख कष्टका पहाडको त बयान गरी साध्य छैन । स्वर्गको राजा अथवा एउटा पुरूष पात्रको लागि शिवजीले निर्दोष शिवभट्टका परिवारलाई कष्टको भूमरीमा हाले । सत्तरी बर्षकोबृद्धले सात बर्षकी बालिकाको चिर हरण गरे । उनलाई पाप लागेन  । किनकी उनी पुरूष पात्र हुन् । सात बर्षकी गर्भिणी बालिकालाई एक्लै छोडे तैपनि उनलाई पाप लागेन ।
अन्तमा गोमाको छोरोलाई एउटा राज्यको राजा बनाईदिएर उनले पाप मुक्त भय । जय शम्भो ।
अब समिक्षा गरौँ । धार्मिक किताबहरूमा किन पापको भागिदार नारीलाई मात्रै गराइन्छ ? ब्रत नारीले मात्रै बस्नु पर्ने हो ? पुरूषले ब्रत बसेर आमा बा स्वास्नी छोराछोरीको आयु बढ्दैन ? पतिलाई नदिई खाँदा पत्नी कुकुर्नी हुन्छे भने पतिले एक्लै खाँदा ऊ परमेश्वर नै ?
नारी रजश्वला नभैकन बच्चा उत्पादनको लागि तयार हुन्नन् । यो प्राकृतिक नियम हो  । तर रजश्वला हुनुलाई पापको कुण्ठा किन बनाइन्छ ?
समग्र जवाफ पुरूषवादी सोँच नै समस्याको जड हो । पुरूषवादी सँस्कार ग्रस्त यहाँ पुरूष मात्रै होइन महिला पनि धेरै मात्रामा छन् ।त् यसैले त स्त्रीले खाँदा, सास फेर्दा, थुक्दा, बिकार फाल्दा, रजश्वला हुँदा, टेक्दा, डिँड्दा जहाँ पनि पापिनी बन्नु परेको छ । धार्मिक आस्था राखौँ तर सबै पापको भारी हुने गरी होइन ।
नारी जातीले अझै पनि पाप कटानीको माध्याम हैन कि एउटा पुरूष सरहको मानव बनौँ भन्ने सोँचले अगाडी बढ्ने हो की ? जय श्रीस्वस्थानी माता ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper