banner
banner

नेपाली समाज र नारी

शशी श्रेष्ठ –
समय कति बलवान छ । समयको तिब्रताले आज हामी ढुङ्गे युगबाट विकसित भएर विज्ञानको युगमा आईपुगेका छौं । आगो बोकेर हिँड्ने मान्छे मंगल ग्रहमा घर बनाउने सोच बुनिरहेछन् । धेरै परिवर्तन आईसक्यो समाजमा, धेरै विकास भईसक्यो तर पनि केही कुरा त्यस्ता छन् जसमा विकासले पनि भेद गर्छ । समाजमा त्यस्ता पात्र अझै छन् जसलाई मानव सभ्यताले स्वीकारे पनि यस नेपाली समाजले अझै पूर्ण रुपमा स्वीकारिसकेकोे छ जस्तो मलाई लाग्दैन र ती पात्र हुन् नारी । आधा आकाश ।
पुरुष प्रधान समाजमा नारी भएर हुर्कनु आफँैमा एउटा चुनौती हो । यस समाजमा एउटी छोरीको जन्म नै सुरक्षित छैन भने त्यसपछिको उसको जीवनमा कति घटना घट्छन्, सहजै अनमान लगाउन सकिन्छ । मृत्यु त सबैको निश्चित छ तर नेपाली परिवेशमा एउटी छोरीको, एउटी आमाको, एउटी नारीको मृत्यु कहिले र कसरी हुन्छ, केही भन्न सकिँदैन । जन्मिन नपाउँदै भ्रुण हत्या हुने ठाउँमा बलात्कार, यौन हिंसा र बेचबिखन त जन्मि सकेपछिका कुराहरु हुन् ।
आज पनि समाज नारी भनेपछि मौन रहन्छ । नारी जातिलाई सीमित परिधिभित्र खुम्च्याएर राख्ने यस संसारलाई थाहा छ, उसको यस समाजण् प्रतिको भूमिका त्यही पनि यहाँ किन मानिस नारी शब्दबाट तर्सन्छ वा भनोैँ अन्जान बन्न खोज्दछ ? किन दिनहुँ कैयौं आमाको गर्भबाट ती भु्रणहरु फालिन्छन् ? आफ्नै छोरी मार्ने मानिसको मन कस्तो होला ? अक्षर चिन्ने उमेरमा गाईवस्तुलाई घाँसपात खोज्दै डाँडापाखा धाउने विचरीको यस समाजप्रति कत्रो देन हुनसक्छ, कसैले यसबारे कल्पना ग¥यो ? अहँ गरेन । जीवित पात्रलाई इज्जत नदिने यो समाजले काल्पनिक पात्रहरु प्रति देखावटी आस्था देखाउँदैमा कुनै पुण्य प्राप्त हुन्छ जस्तो मलाई लाग्दैन । 
महिलाले आपूmमाथि हिंसा भएको बुझ्ने र बोल्न सक्ने भएपनि हाम्रो समाजमा हिंसा पीडितलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । प्रत्येक सामाजिक संरचना र संस्थामा हाबी भएका पुरुष जाति प्रमुख स्थानमा रहनाले पनि पुरुषको तुलनामा महिला बढी नै जोखिममा पर्ने गर्छन् । नारीको व्याख्या गर्दा महान नारी व्यक्तित्वको उदाहरण दिईन्छ । मदर टेरेसा, फ्लोरेन्स नाइटिङ्गल, इन्दिरा गान्धी, जुलियट गिलार्ड, एलिजावेथ, आदि इत्यादि । यस्ता सफल नारीहरुको नाम कण्ठ गर्दैमा, गराउँदैमा यहाँका नारी शिक्षित हुने होइनन् । शिक्षाको पहुँच नपुगेका अति दुर्गम क्षेत्रका कैयौं दिदीबहिनी आज पनि घरायसी काममा अल्झिरहेका छन् । आफ्नो भाग्य लेख्ने कलमले भन्ने कुरा उनीहरुलाई पनि थाहा छ तर गरीबीको कारणले उनीहरु निरीह छन् । शक्ति, पैसा र पहँचका भरमा उनीहरु बारबार लुटिन्छन्, पेटको लागि आफ्नो अस्मिता साट्छन् । 
यता समाजका केही संभ्रान्त ठालुहरु आफ्नो श्रीमतीको गर्भको पहिचान गरि छोरीको भु्रण हत्या गर्दछन् र शानका साथ छिमेकीको छोरी माँगेर कन्या पूजा गर्दछन् । मेरी छोरी मेरो जिन्दगीको एक मात्र खुशी हो भन्दै बाबुले छोरीलाई गर्वका साथ अँगाल्ने दिन प्रत्येकको घरमा आए देखि कति सुन्दर संसार हुन्थ्यो होला ? नारीको शरिरलाई लिलामीमा होइन मनमा राखेर पुज्ने दिन आओस् । आफ्नी श्रीमतीको हाँसोको कदर गर्न सिकुन् यस समाजका प्रत्येक पुरुषले । नारीलाई पनि पुरुष सरह अधिकार, समानता र अवसरहरु दिइएमा पक्कै पनि नारी अब्बल र सक्षम छन् भन्ने कुरामा कुनै दुईमत छैन । 
नारी विना पुरुष अधुरो छ, यो कुरा प्रत्येक घर परिवार र समाजले बुझोस् । सानो बालक जन्मने बित्तिकै पाइला सार्न उसलाई आफ्नी आमाको हात चाहिन्छ, बाल्यावस्थामा उसलाई सारा दुःख बाँड्न एउटी दिदीको साथ चाहिन्छ, युवा अवस्थामा आफ्ना सपना र लक्ष्यको कुरा गर्न एउटी सच्चा प्रेमीका चाहिन्छ भने बुढेसकालमा मायाँ र सद्भाव जगाउने एउटी असल श्रीमती चाहिन्छ । नारीलाई समाजले सहृदय स्वीकारोस् । उसको आवाजको, कलाको कदर गरियोस् अनि मात्र समाजमा विकास हुन्छ । महिला विना समाज शून्य छ । सामाजिक उत्थानमा महिलाको भूमिका अकल्पनीय छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper