banner
banner

बालयौन हिंसा भएको त छैन ?

देवी काफ्ले -
कतै तपाईंको वरपर पनि बाल यौन हिंसा भयको त छैन ?
बालबालिका बिशेष गरी १२ बर्ष उमेर मुनिकालाइ यौन हिंसा भनेको थाहा हुँदैन । बालयौन हिंसा बालकको नजिकको ब्यक्तिबाट हुन्छ । परिवारको सदस्य, परिवारको निकटतम ब्यक्ति, आफन्त, शिक्षक आदीबाट बढी हुन्छ ।
बलात्कार बालिकाको मात्रै होइन बालकको पनि हुन्छ । सुन्दा अचम्म लाग्छ तर वास्तविकतामा बालकहरूको बलात्कार अझ अमानवीय तरीकाले भएको हुन्छ ।
यद्यपि बालयौन हिंसा जघन्य अपराध हो र यस्ता अपराध हिजोआज समाजमा फैलिएका छन्, त्यसलाई हामी सबै मिलेर रोक्ने हो, संचेतनाले रोक्न सकिन्छ ।
यद्यपि बालकको बलात्कारलाई खासै ठूलो घटनाको रूपमा नलिएर हो कि बाहिर खासै ल्याईंदैन । जतिसुकै शिक्षित, राजनैतिक पृष्ठभूमिको परिवार भए पनि यस्ता घटना लुकाउँछन्। बाहिर आयो भने बेइज्जत हुन्छ भनेर ।
बालकहरू नजिकका आफन्त र विदेशी यौनपिपासुबाट यस्तो घटनाको शिकार बन्छन् भने बालिकाहरू आफन्तकै शिकार बन्छन् ।
एकजना अन्दाजी ६२–६५बर्ष उमेरको पाको मान्छेले आफ्नै सालीको सौताको छोरी ११ बर्षकी बच्ची बलात्कार गरे । उनी त्यो घरमा बारम्बार जाने गर्थे । त्यहाँ जाने क्रममा उनको मनमा पाप पलायो । नजिक बोलाउने, बालिकाको गाला चिमोट्ने, मुसार्ने गर्ने क्रम बढ्यो । बिस्तारै उनले यस्तो क्रियाकलापलाई बढाउँदै उसको शरीरमा मनपरी छुन थालेछन् । बालिकाले आफ्नो सौतेनी आमासँग भनिन् । तर सौतेनी आमाले केही हुँदैन उहाँलाई आउन रोक्यो भने हाम्रो खर्च चल्दैन भनेर बेवास्ता गरीन् । हुँदाहुँदै उनले बालिका बलात्कार नै गरे । धेरै पटक पछी जब असह्य भयो बालिकाले गाउँलेसँग गुहार मागेपछी बल्ल घटना बाहिर आयो । समाजले पुलिस कारवाहीको लागि बुझायो । घटनालाई साम्य पार्न मिलापत्रको प्रस्ताव भयो त्यसको लागि त्यहाँका भद्रभलाद्मी भनाउँदा ईज्जतका ठेकेदारहरू जम्मा थिए अन्ततः २–२.५०लाखमा बलात्कारी शुद्धिकरण भयो । बर्को ओढाएर ससम्मान बलात्कारीलाई सकुशल घर पु¥याए सामाजिक ठेकेदारले । पछी गाईगुँई कुरो चल्यो । १२ बर्षकी हुँदा पनि बिरोध नगरेर लठारिन गैछ कुलंगार । दोषी बालिका भइन् ।
आखिर शर्मिन्दा पिडित बालिका हुनुपर्यो । शर्मिन्दा हुनुपर्ने त पिडक हो नी  । कुलंगार त बलात्कारी हो नी ।
अर्को घटना करीब ७–८ बर्षको छोरा । आमा जागिर खान, दिदी खेल्न, परिवारका अन्य सदस्यहरू सबै आफ्नै काममा लागेको बेला सधैं जसो त्यो घरमा जाने बस्ने गरेको मान्छे । नजिकको छिमेकीको छोरा भएकोले शंका गर्ने ठाउँ नै थिएन । प्रयास धेरै दिनदेखि ग¥यो । बच्चाले भन्न डराएछ । बिरोध गर्दा लोभ लालच देखायो अन्तमा घाँटी थिच्न लागेपछि बच्चाले बिरोध गर्न सकेन । अन्ततः बलात्कारीले बलात्कार गरेछ । बेलुका बच्चा डराएको, नबोली बसेको देखेर सोद्धा आमालाई डराउँदै भन्यो । घरमा खैलाबैला भयो । पिडकको परिवार सहित भलाद्मीहरूको बैठक बस्यो  । एकपल्टलाई उसको गल्तीलाई माफी दिइयो । अपराध लुकाइयो ।
घटनाका प्रकृति फरक छन् तर घटना घटाउने कि त आफ्नै छन् कि त छिमेकी छन् । 
 हामी ठान्छौं आफ्नो घरभित्र हाम्रा बालबालिका सुरक्षित छन् । कसैले केहि गर्दैन । तर हाम्रा बालबालिका घरभित्रै असुरक्षित छन् । अभिभावकले बुझ्नुपर्ने हुन्छ । घरमा आइरहने मान्छेको बच्चा प्रतिको ब्यावहारलाई नियालेर हेर्नुपर्छ । बच्चीलाई नजिक लगेर काखमा राख्ने उसका अंग सुम्सुम्याउने गर्छन् । जसले गर्दा बच्चीलाई असहज हुन्छ तर उसले यसलाई मायाँ गरेको मात्रै ठान्छे । असहज भयो भने पनि यस्ता कुरा बाआमालाई कसरी भन्नु ? के भन्नु ? फेरी मलाई नै गाली पो गर्ने हो कि ? फेरी आइराख्ने ती मान्छेले के भन्ने हुन् ? यस्ता अनेक तर्कले अभिभावकलाई भन्न सक्दैनन् । घटना नभनेसम्म पिडक आउँछ सधैं झैं आफ्नो प्रबृति दोहो¥याउँछ जान्छ । जुन कारण बालिकालाई अझै बढी पिडा सहनु पर्छ ।
बाबा आमा बच्चाको सबैभन्दा नजिकको अभिभावक हुन् । त्यसैले बच्चासँग साथी जस्तो ब्यवहार गर्नु पर्छ । बच्चा यस्ता गम्भिर बिषयमा झूठ बोल्दैनन् । उनीहरुको कुरा सुनिदिनु पर्छ । कुरा गर्न शुरू गर्दा नै झपार्नु हुँदैन । यदी उनीहरूको पूरै कुरा सुनीदियो भने घटनाको न्यूनिकरण पनि हुन्छ दोषीले अरू अपराध गर्न पनि कम हुन्छ ।
 हामी हाम्रो ईज्जत भन्दै घटना जबसम्म बाहिर ल्याउन सक्दैनौं तबसम्म हाम्रा बालबालिका सुरक्षित हुंदैनन् । घटना लुकाउनु नै अपराधीलाई अवसर दिनु हो । जब अपराधीलाई कानूनी कारवाही हुन्छ तब न अपराधीको मनोबल घट्छ ।
खासगरी गरीव बालबालिकालाई मीठो खानामा लोभ्याएर बालयौन हिंसा बढेको देखिन्छ । यस्ता विकृति फैलाउन विदेशीहरु पनि नेपाल आउने गर्छन् । नेपाल प्रहरीले सडक बालबालिकालाई फकाएर होटलको कोठामा लाने र यौन हिंसा गर्ने विदेशीहरुलाई बेला बेलामा पक्राउ गर्ने गरेको छ । यस्ता अनगिन्ति प्रकरणहरु प्रहरीको फाइलमा छन् । तर ती यौनहिंसा गर्ने विदेशीहरु एकाधलाई केही कारवाही भए पनि अधिकांश छुट्ने गरेका छन् ।
पर्यटकका रुपमा आउने, लागू औषधको कारोवार गर्ने र बालयौन दुराचार फैलाउनेहरुलाई कडा निगरानीमा राखेर प्रहरीले कारवाही गर्नैपर्छ, समाजले पनि शंका लागेका बेलामा प्रहरीलाई खबर गर्नुपर्छ । यो हामी सबैको कर्तव्य हो ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper