banner
banner

चार जात छत्तीस वर्णको नेपाल

स्वयम्भुनाथ कार्की -
हुन त चार जात छत्तीस वर्ण भनाईलाई असावधानीवस गलत भनेको हो । चार वर्ण छत्तीस जात भन्नु सही हो भन्नेहरु पनि नभएका हैनन् । सनातनलाई वैदिक जोडेर त्यसको व्यापकता कम गर्न पनि यस्तै सोच लागिपरेको देखिन्छ । भारतीय मठाधिशहरुको अवधारणा अनुसार भनिने हिन्दुमा सनातन संकुचन गर्दा चार जात हैन वर्ण नै हो, ब्राम्हण, क्षेत्री, वैश्य, शुद्र । अनि छत्तीस जात चाही ती चार भित्रका थरहरु । तर त्यो संकुचनवाट वाहिर निक्लने वित्तिकै चार वर्णले गुरुता गुमाउछ, चार जात ब्राम्हण, क्षेत्री, वैश्य, शुद्र । जात व्यवस्था भित्र पर्ने यी चार र तीनीहरु अन्तरगतका थर गोत्र आदि सबै चार जातको व्यवस्था भित्रका हुन् । छत्तीस वर्ण चाही ती जात व्यवस्था भन्दा वाहिरका अनेकौ समुदाय, वर्ण आदि । छत्तीसले यहा संख्या जनाउँदैन धेरै भन्ने जनाउँछ ।
आधुनिक नेपालका निर्माताले यो मुुलुक पहिलेका मल्ल, सेन, शाह आदिले जस्तै आङ्खनो सम्पत्ति मानेनन् । त्यसैले उनले क्रमभंग गरे मुलुक राजाको वा शासकको अंश लाग्ने  सम्पत्ती होइन यो त जनता समेत सबैको साझा सम्पत्ति हो भनेर । त्यसै क्रममा नेपाल सवैको, वर्ण व्यवस्थामा रहेका र नरहेका सवैको साझा हो भन्ने मान्यता कायम गरे । चार जात छत्तीस वर्णको यही अवधारणा हो । नेपाल वैदिक कर्मकाण्डीको पनि हो र प्राकृत परंपरा मान्ने अवैदिकको पनि उत्तिकै हक लाग्ने गरेर साझा हो । यसलाई चार वर्ण छत्तीस जात भन्ने वित्तिकै त्यो विशालता, त्यो व्यापकता खुम्चिन जान्छ । र वर्तमानमा त्यही व्यापकता खुम्चाउने प्रयत्न कतैबाट भई रहेको छ । त्यसमा अनजान मै त्यो शाहवंश मान्नेहरुबाटै सहयोग भई रहेको छ ।
राजावादी भनिने, मानिने, ठानिने सबै कुनै न कुनै रुपले सनातनबाट संकुचन भएको हिन्दुको अवधारणाका अभियन्ता भएका छन । राप्रपा जस्ता राजाको पक्षमा मानिएका, ठानिएका दलहरु हिन्दुत्वको झण्डालाई अरु सबै भन्दा उग्र रुपमा उठाउछन । उनीहरुको एजेण्डामा हिन्दु राष्ट्र वनाउने कुरा प्रथम प्राथमिकतामा परेको छ । राजसंस्था या राजाको कुरा भने घुमाउँरो तरिकाले बुभ्mन पर्ने भएको छ । तर विडम्वना, निर्वाचनमा उनीहरुले प्राप्त गरेको मतलाई राजसंस्थाको समर्थनको रुपमा बुझिन्छ । जव कि यस्ता दलहरुलाई राजसंस्था समर्थकको सहानुभुति सम्म पनि छैन । यहा सबै समर्थकको कुरा गरिएको हैन बहुल समर्थक जो यस्ता नेताहरुको चिप्लो भाषण चिन्छन ।
कुरो यत्ति मै सिमित छैन, पाखा लगाईएका राजालाई पनि केवल हिन्दुको बनाईदैछ । पछिल्ला दश बाह्र बर्षमा उनको सार्वजनिक उपस्थिति केवल मठ मन्दिर अनि हिन्दु धार्मिक अनुष्ठान मात्र रहेको छ । अपवादमा एकदुई उपस्थितिहरु धार्मिक बाहेक अरुमा पनि भएको छ । तर त्यो उल्लेखनीय भएको भने छैन । यसमा स्वयं राजाको नै मनसाय भएको भन्न भने मिल्दैन । किनभने हरेक अभिव्यक्तिमा उनले जनतालाई महत्व दिदै आएका छन । अव उनलाई नेपालका जनता केबल हिन्दु मात्र हैनन भन्ने कुरा थाहा छैन भन्ने मान्न सकिन्न । तैपनि के कुरो उनलाई केवल हिन्दुको मात्र राजा हुन भन्ने छनक दिने वनाएको छ ? आधुनिक नेपाल निर्माता बडामहाराजको अवधारणा विपरित हुने यस्तो काम पक्कै उनीबाट जानेर भएको छैन । त्यसमाथी आफ्ना बुवाज्युले पनि नेपाल नेपालीको साझा अवधारणाको निमित्त काम गरेको देखेपछि त्यसको असर परेकै छैन भन्ने कुरा कसरी मान्ने ? यसको सिधा अर्थ हो कोही कतैबाट नेपालको गरिमामय राजपरंपरामा प्रहार गर्दैछ अनि राजावादीहरु त्यो उक्साहटमा फन्दामा पर्दैछन । 
गणतन्त्रले आफुले पाखा लगाएको राजालाई नेपालको सामान्य नागरिक भन्छ । त्यो सामान्य नागरिकले कानुनले, संविधानले दिएका सबै काम गर्न पाउँछ । चाहेमा राजनीति पनि विपक्षीले जस्तो सत्ताधारीको खोइरो खन्न पाउने अधिकार पनि त्यसमा पर्दछ । यस अवस्थामा उनलाई ऐतिहासिक, सांस्कृतिक स्थलहरुको भ्रमण गर्न कसैले रोक्न सक्दैन । मोरङको विराट राजाको दरवार भनिएको स्थल भ्रमण गर्न, झापाको किचकबध भ्रमण गर्न रोक्न सक्दैन । मुलुकका सबैजसो क्षेत्रमा यस्ता ऐतिहासिक सांस्कृतिक स्थलहरु छन । राज्यबाट उपेक्षित सरह रहेका यस्ता स्थानहरुको अवलोकन पहिले शासनमा हुँदा नभ्याएको क्षतिपुर्ति पनि हुन्छ । तर के यो सम्भव होला, राजावादीहरु त राजालाई केवल हिन्दुको बनाउन मेहेनत गर्दैछन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper