banner
banner

मेडिकल माफियाको राइँदाइँ

शिव सिग्देल -
कानुन, सरकारको नीति, निर्देशन मान्दिन भनेर मेडिकल शिक्षा दिने संस्थाका ठालुहरुले सरकारलाई चुनौति नै दिए । सरकार म्याद माथि म्याद थपिरहेको छ, छानबिनको नाममा नाटक गरिरहेको छ, पदासीन पदाधिकारीहरु कसले फिर्ता पाएन, उजुरी ल्याउ, हामी कारवाही गर्छौं भनेर फलाकिरहेका छन् ।
स्थिति के छ भने विद्यार्थीहरु जाँच समेत बहिष्कार गरेर सडकमा प्रदर्शन गरिरहेका छन् । सरकारको निर्देशनको पालना गरेर हामीसँग बढी लिएको रकम फिर्ता देउ भनिरहेका छन् ।
सरकार देख्दैन, मेडिकल माफिया सरकारभन्दा शक्तिशाली भएर मसल देखाइरहेका छन्, विद्यार्थीमाथि लाठीचार्ज गराइरहेका छन् । गुण्डागर्दीको स्तरमा झरिसक्दा पनि मेडिकल कलेजका पदाधिकारीलाई सरकारले किन भनेर सोध्नसमेत सकेन । दुई तिहाइको सरकार कता छ ? यो स्थिति भनेको लालटिन बालेर सरकार खोज्नुपर्ने अवस्था हो ।
यतिमात्र होइन, सरकारलाई मेडिकल माफियाहरुकाले त चुनौति नै दिएका छन् । विद्यार्थीहरु पहिलेदेखि लिएको बढी रकम फिर्ता गर भनिरहेका छन्, मेडिकल कलेज सञ्चालकहरु विद्यार्थीसँग शुल्क बढाएरमात्र होइन, शिक्षा कर पनि तिर भनेर उर्दी पो जारी गरिसकेका छन् । के हो यो, कानुन नभएको देश, सरकार नभएको देश, सरकारको नीति निर्देशन पालना गर्नु नपर्ने देश । मेडिकल माफियाहरुले जे गरिरहेका छन्, यो व्यवहारले नेपालमा सरकार छैन, जे छ माफियाहरु पो छन् भनेर देखाइदियो ।
माफिया मेडिकल कलेजहरुमा मात्र होइन, यो त राज्यका सबै अंग प्रत्यङ्गहरुमा फैलिएको छ । क्यान्सर न हो भ्रष्टाचारका भाइरसहरु ।
राज्यका कुनै पनि अंगमा सुशासन देखिदैन । सिंहदरवार गाउँपालिकासम्म पु¥याएको दावी पनि खोक्रो भयो, सिंहदरवार होइन, भ्रष्टाचार अनियमितता पुगेको छ गाउँसम्म । जनप्रतिनिधि भनेका त ठेकेदार बनेका छन्, ठेकेदारको काम मुनाफा कमाउनु हो । जनप्रतिनिधिहरु धमाधम तिल्के मारवाडी बनेका छन् यतिखेर ।
हुन त पार्टीका महासचिव नै बालुवाटारको जग्गा प्रकरणमा फसेका छन् र त्यही पार्टी सरकार चलाइरहेछ, अनि सुनकाण्डदेखि वाइडबडी काण्डसम्म सत्ताधारीको संलग्नता देखिएको छ । अहँ, छानबिनको नाटक गर्छ र फाइल दमपच पार्छ । यस्तो सरकारले सुशासन दिन्छ भनेर जनताले आशा गर्नु व्यर्थ छ ।
जनतासँग बिकल्प छैन, ५ वर्षका लागि चुनिएको यो सरकारको आधा समय बित्नलाग्यो, केही गर्न सकेन । जनताले बाँकी अवधि हेरेर बस्ने हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper