banner
banner

प्रचण्डसामु बोल्न नपाएको शैक्षिक मन्तव्य

डा. ज्ञान बस्नेत –
(चन्द्रागिरी नगरपालिका वडा नं. १५ को वडा अध्यक्ष शैक्षिक विकास कोषको दोस्रो वार्षिक उत्सवमा नेकपाका अध्यक्ष मुख्य अतिथि बनेर आएका थिए । प्रचण्डलाई सुनाउन तैयार पारिएको र सुनाउन नपाएको यो उपयोगी लेख यहाँ प्रस्तुत गरिएको छ । स.)
यस वडामा “वडा अध्यक्ष शैक्षिक विकास कोष” को स्थापनाले शिक्षाको अभियानमा, क्षेत्रमा नयाँ आयाम थपिएको छ, नितान्त नयाँ कुराको शुत्रपात भएको छ । यस अभियानको लागि वडा अध्यक्ष उत्तमवहादुर राउत धन्यवादको पात्र हुनुहुन्छ । उहाँ र उहाँको सहयात्रीहरुको लगन, प्रयास र समर्पणलाई म ह्रदयवाटै सलाम गर्न चाहन्छु ।
चीनमा एउटा भनाई छ “एउटा पुस्ताले विरुवा रोप्छ, अर्को पुस्ताले छहारी पाउँछ ।” यो शैक्षिक अभियानले अवश्यनै नयाँ विरुवा रोप्ने काम गरेको छ । वडा अध्यक्षले निस्वार्थ भावमा आफ्नो तलव, भत्तावाट शुरु गरेको यो शैक्षिक विकास कोषमा लाखौं रुपैया जम्मा भएको छ ।
खुशी यस कुरामा छु कि आज यो वडाले विभिन्न विषयमा विज्ञता हासिल गरेका (विद्यावारीधि) हरुको अस्तित्वको खोजी गरेको छ । राष्ट्र र सरकार नै निर्दयी र लाचार भैरहेको बेलामा स्थानीय स्तरमै भएपनि वुद्धिजिवीहरुको सम्मानको थालनी गरेको छ । 
म अत्यन्तै वेखुशी छु, त्यो कथित अविभावक राज्य हो, सरकारसँग । किनकि विभिन्न विषयमा विशिष्टता हासिल गरेकाहरुलाई राज्यले कहिल्यै सोधेन, खोजेन । बेवास्ता मात्रै ग¥यो । गर्दैछ । हाम्रो मामलामा राज्य, सरकार निरीह, निर्दयी र घोर पक्षपाती देखियो ।
केही व्यक्तिहरु जो पार्टीका, सत्ताका नजीक भएका वाहेक प्राय सबै पढेलेखेका विज्ञहरुलाई राज्यले, सरकारले सहयात्री हैन विरोधीको रुपमा लियो हिजो । आज पनि त्यही छ । यो प्रजातन्त्र र नागरिक स्वतन्त्रताको लागी नै खतरा हो ।
विद्यावारिधीहरुलाई ‘मुर्खहरुको झुण्डको संज्ञा दिने व्यक्तित्व नै अहिले देशको कार्यकारी प्रमुखमा विराजमान हुनुहुन्छ । अरु के भनौं ? के आस गरौं । एक्काइसौं सताब्दीमा पनि सरकार किन कठोर र दमनकारी वन्न खोज्दैछ ? अव प्रश्नै गर्न नपाउने त ? हामी कस्तो समाज निर्माण गर्दैछौं ? चौवाटोमा हामी किन रुमल्ली रहेका छौं आज ?
प्रजातन्त्र आउँदा म माध्यमिक तहमै अध्ययनरत थिएँ । अव प्रजातन्त्र संगै गणतन्त्र पनि पुरानो भइसक्यो । तर म जन्मेको, पढेको, भूगोलको अवस्था र समस्याहरु जस्ताको तस्तै छन् । म आफैलाई प्रश्न गर्छुः सरकार भन्ने चिज पनि छ र यो मुलुकमा ?
जनयुद्धजस्तो ठूलो हिंसा पछि व्यवस्था परिवर्तन भयो । धेरै मानिस मरे । सम्पत्तिको नोक्सान गरियो । तर सामान्य जनताको जिविकामा केही परिवर्तन आयो त ? जनताको शिक्षा र स्वास्थ्यमा केही परिवर्तन आयो ? १० वर्षे जनयुद्ध आवश्यक थियो ? थियो भने के को लागि ? १० वर्षे युद्धको नाइके हुनुभयो, फेरी पनि कार्यकारी प्रमुख वन्ने कोशीसमा हुनुहुन्छ होला । अहिले दुईतिहाई सरकार हाँक्ने पार्टीको अध्यक्ष हुनुहुन्छ । हिजो शिक्षा र स्वास्थ्य अनि सर्वसाधारणको उत्थानको लागि के गर्नु भयो ? आज के गर्दै हुनुहुन्छ ? उद्धेश्य त न्याय, सुसम्पन्नता र समानतामा आधारित समाजको निर्माण हो । अहिलेको समस्या व्यवस्थामा हैन हाम्रो मनोग्रन्थीमा देखियो । व्यवस्था परिवर्तन भयो तर हाम्रो वाँच्ने शैली र मनोदशा र मनोग्रन्थीमा परिवर्तन गर्न विर्सियौं हामीले ।
नेता र नेतृत्व नयाँ सम्राटको अवतारमा देखिनु भयो । तपाईहरुको जीवनशैली सम्राटको भन्दा फरक देखिएन । सडकमा हिड्दा सडक नै जाम, आकासमा उड्दा आकासै जाम । गणतन्त्रको नेता र नेतृत्वको जनतासँग झन् नजिकको सामिप्यता हुनुपर्ने हैन ?
माध्यमिक तहको पढाइपछि उच्चशिक्षाको लागि राजधानी छिरें म । कानुन पढ्ने इच्छा थियो । त्यही गरें ।  स्नात्तकोत्तर गरें । त्यसपछि वेलायतको एउटा प्रतिष्ठित विश्वविद्यालयमा पढ्ने मौका पाएँ । आफ्नै मुलुक फर्कनु पर्छ र समाजलाई केही दिनुपर्छ भन् । मैले त्यसै गरें । फर्किएँ नेपाल । केही साथीहरुले ‘मूर्ख काम भयो भनेर पनि भने ।
वेलायतवाट फर्केपछि विभिन्न संघसंस्थाहरु, कलेज र शिक्षणसंस्थाहरुमा सम्पर्क गरें, गएँ, भेटें । कामको खोजीमा । सहकार्यको संभावनाहरुको खोजीमा । म त्यतिवेला छक्क परें जव उहाँहरुलाई मेरो विज्ञता भन्दा मेरो राजनैतिक आस्था वा सोझै भन्दा कुन पार्टीको रहेछ भन्ने चासो वढि देखें । आज प्रश्न गर्छु ः विज्ञ विद्धानहरु कुनै पार्टी विशेषको हुनु जरुरी छ र ? आज म यस कुरामा अत्यन्तै दुःखी छु की म जस्ता हज्जारौं विज्ञहरु राज्यवाट तिरस्कृत छन् । व्यवस्था परिवर्तनले मात्रै कसरी हुन्छ र समाजको निर्माण ?
राज्य र समाज नै घोर—पलायनवादी मानसिकतावाट ग्रस्त देख्छु म । राज्यको नीति नै पलायनवादी छ । नयाँ पुस्ता, युवा—युवती, शिक्षित र हरेक कुरामा विशिष्टता हाँसिल गरेकाहरुलाई कसरी रोक्ने, यहीँ काम गरेर सम्मान जनक वाँच्न सक्ने वातावरणको निर्माण कसरी गर्ने भन्ने योजना नै छैन सरकार सँग । सरकार उल्टै श्रम सम्झौता गर्दै हिड्छ विभिन्न मुलुकसँग । हाम्रो राष्ट्र श्रमीक उत्पादन गर्ने कारखाना मात्रै किन ? हाम्रो शिक्षा पद्धति बेरोजगारको फौजी उत्पादन गर्ने औजार मात्रै किन हुदैछ ? लाखौलाख युवा युवती आज मरुभुमिमा कष्टकर रुपमा पसिना बगाउन वाध्य छन् । देशको कुना कन्दरा, पहाड, तराईको खेतवारीमा सिरु घाँस पलाएको छ । 
केही दिन अघि अमेरिकाको लागि डिभी खुले पछि राहदानी लिनेहरुको लावालस्कर, भीडको स्मरण गरौं । उदाहरण त्यही काफी छ । आज हरेक युवा –युवती जति सक्दो चाँडो देश छाड्न पाए हुनथ्यो भन्ने मनस्थितिमा देखिन्छन् । समाज पुरै अत्तालिएको अवस्थामा छ । घोर निराशावाट गुज्रिरहेको छ । सवैको एउटा मात्रै उद्धेश्य कसरी यो देशवाट भाग्ने वा पलायन हुने भन्ने मात्रै छ । वावु–आमाको मनोग्रन्थी पनि त्यही छ – कसरी छोरा छोरीलाई विदेश पठाइहाल्ने भन्ने ।
किन यस्तो भइराखेको छ भन्दा जनतालाई, समाजलाई राज्य र सरकार प्रति घृणा हुनु हो । आफ्नो अविभावक प्रति विश्वास नहुनु हो । सरकार वेकाम्मे भएको अनुभुति हुनु हो । एउटा अमेरीकन वा युरोपिएन नागरिक किन विश्वको कुनाकन्दरामा निर्धक्क घुम्न हिडँ्न सक्छ ? किनकी उसको पछाडी उसको अविभावक छ, सरकार छ । दुःख, कष्ट पर्दा तुरुन्तै उपस्थित हुन्छ । संयन्त्र छ । सरकार जनता संगै छ । तर हाम्रोमा खोई ? हाम्रोमा त सरकार कहिल्यै अविभावक हुन सकेन । शासक मात्रै भयो । हिजो त्यही थियो, आज गणतन्त्रकालमा पनि त्यस्तै छ ।
शिक्षा र स्वास्थ्यलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा लिएको छ । तर कार्यान्वयन हुँदैन । विकासको हलो भने पानीजहाज, रेलमार्ग, टावर र सुरुङ्गमार्गमा अड्किएको छ । यो नियति कहिले सम्म ? धेरै मरे, मारियो । व्यवस्था पनि उल्टियो । जनताको जीवन पद्धतीमा के परिवर्तन आयो ?
नैतिकवान समाजको निर्माण शिक्षाले गर्छ । चेतनशील र उत्तरदायीपूर्ण नागरिकको उत्पादन पनि शिक्षाले गर्छ । अशल शिक्षाले सत्यताको अन्वेषण गर्छ । तर हाम्रो शिक्षा पद्धति किन उल्टो दिशामा हिँडेको छ ? सरकार शिक्षा र स्वास्थ्यमा वजेट घटाउँछ । आयातीत पुस्तकहरुमा कर वढाउँछ । स्कुल र विश्व विद्यालयलाई पार्टीको अखडा वनाउँछ । एउटा क्याम्पस प्रमुखको नियुक्तिमा पार्टीको कार्यालयमा निर्णय हुन्छ । अव कसरी हुन्छ शिक्षाको प्रगती ? गुणात्मक शिक्षाको विकास कसरी हुन्छ ?
शिक्षामा छुट्टै अभियान, क्रान्तिको खाँचो छ । आजको पुस्ताले दुःख गरौं । वलिदानी गरौं । एउटा पुरा पुस्तालाई शिक्षीत वनाइ दिऔं । अर्को पुस्ता आफै बन्छ । २० वर्षको लागि शैक्षिक संकटकाल घोषणा गरौं ।
दोस्रो, अवको शिक्षा हाम्रो संस्कृति, इतिहास र परम्परालाई जर्गेना गर्दै आजको युगको माग र खाँचोलाई पुरा गर्ने हुनुपर्छ । आधुनिकताको नाममा हामी हाम्रो इतिहास, सँस्कृति र परम्परालाई विर्सदैं छौं, यो गलत हो । इतिहास र परम्परा हाम्रो धरातल हो । संस्कृति हाम्रो ठुलो सम्पत्ति हो । राष्ट्रियता भनेको भूगोल र सिमाना मात्रै हैन, जनता मात्रै पनि हैन । संस्कृति र इतिहास राष्ट्रवादको आधार हो । शिक्षाले यो जर्गेना गर्नुपर्छ ।
अर्कोतिर यो ज्ञानको युग हो, विचारको युग हो, प्रतिस्पर्धाको युग हो । विश्व अव सानो गाउँ जस्तो भइसक्यो । अवको शिक्षाको गुण, योजना, विश्वविद्यालयको खाका यस्तो शुरुवात गर्नुपर्छ ताकि हाम्रो विद्यालय तथा विश्वविद्यालयमा उत्पादित नागरिकले विश्वको जुनसुकै कुनामा पुगेर जोसुकै संग प्रतिस्पर्धा गर्न सक्षम हुन् । आफु र आफ्नो राष्ट्रप्रति गौरब गर्ने वातावरण वनोस् । आफ्नो राष्ट्र र समाजप्रति ऋणी छु भन्ने सकारात्मक भावनात्मक सम्वन्धको विकास हुन सकोस् । –१

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper