banner
banner

२०६३ वैशाख ११ को सम्झौताको पालना गर

विष्णुप्रसाद शर्मा -
बंगालको खाडीको बादल नेपालको शीर हिमालय पर्वतमा ठक्कर खाएपछि काठमाडौं उत्तर भारी वर्षा हुने कुरा शायद मौसमविद्हरूलाई थाहा हुन सक्दछ । उत्तर अनि दक्षिणले लखेटेपछि राजनीतिक लगाम कसरी कस्न सकिन्छ भन्ने कुरा स्व.श्री ५ महेन्द्रलाई मात्रै थाहा थियो, नेपाली कांग्रेसलाई यसको ज्ञान थिएन । भारतको कंग्रेस आई नेकांको पितृत्व हो भने दक्षिण–उत्तरका कम्युनिष्टहरू नेपालका कम्युनिष्टहरूका कूल देवता हुन् भनेर सफल नेपालका राजनेताहरूले पनि बुझेकै थिए । नेकांको पछिल्लो पुस्ता भनौं शेरबहादुर देउवाको नेतृत्व जे भने पनि यो कांग्रेसको पतनलाई जानाजानी सहयोग पु¥याउने पुस्ता हो । वीपीको कंग्रेस आईप्रति झुकाव र कम्युनिष्टको साम्यवादीप्रतिको निष्ठा राजा महेन्द्रको भूमिका अब जनताले बुझ्ने र आवश्यकताको महसूस गर्नुपर्ने समय आएको छ । दक्षिणी पीठ र उत्तरा टिठको महत्व के रहेछ ? अनि मध्यविन्दूको आवश्यकता किन रहेछ भन्ने कुरालाई चीनको राजनीतिक प्रवेशले एउटा ठूलो पाठ सिक्ने समय नेपाली जनताको शीरमाथिको घट्ट भएर उदाएको प्रष्ट भएको छ ।
हालका दक्षिणका शासक कम चतुर खेलाडी होइनन्, जुन समय दोक्लाङ विवादमा पहिला प्रयोग गरिएका सेना हटाएर नेपाली मूलका भारतीय सेनाका जवानलाई प्रयोग गरिएको घटनाले उनीहरू बीचको आपसी द्वन्द्व हटेर गएको कुरा ताजै हुनुपर्ने थियो । नबुझिएको राजनीतिमा हात हालेपछि पार लगाउन सजिलो हुँदैन र परादीक्षितताले मुलुक चलाउन पनि सकिंदैन । 
स्व.श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू दक्षिणका शासक र उत्तरका शासकमा देखिने भिन्नता अबका नेपाली जनताले प्रष्टसँग बुझ्न पाइने भएको छ । भाषा–धर्म र संस्कृतिले कहाँ–कस्तो असर पर्दो रहेछ भनेर पनि प्रष्ट देखिने छ । यो बीचको तरुल कोमल हुन्छ, सबैले बुझेकै छौं, तर तरुल चेपिंदा उसको कायम अस्तित्वका बारेमा आफैंलाई नपरी चेतना फुर्दैन, यो धुव्रसत्य नै हो । पञ्चायती व्यवस्थामा सूबथाले लामो अवसर पाएका थिए भने बहुदलीय पद्धतिमा गिरिजाले पाएकै हुन् । यी दुवै नेपालका हितैषी भने थिएनन् भनेर बुझ्ने कोशिश पनि कतैबाट गरिएन, किनकि जब खुट्टाको औंला ठोक्किएर फुटेपछि रगतको धारा देखिएपछि मात्रै चेतना आउने हाम्रो परम्परा नै हो । 
इतिहासमा पहिलोपटक अमेरिकाका राष्ट्रपतिले  भारतका प्रधानमन्त्रीलाई अदम्य स्वागत किन गरे ? जुन समयमा चिनियाँ कम्युनिष्ट नेपालका कम्युनिष्टहरूलाई प्रशिक्षणको तयारी गर्दै थियो । अचानोलाई तब चोटको महसूस हुनेछ, जब बञ्चरो अचानोमा नै बजारिने छ । नेपालमा राजनेता छैनन् भनेर धेरै मित्रराष्ट्रहरूले प्रष्टसँग बुझिसकेका छन् । शाहवंशीय राजाहरूले मात्रै राष्ट्र र जनता बुझेका र राजनेताको अभाव हुन नदिएको कुरा वर्तमान सरकारका गतिविधिबाट प्रष्ट भइसकेको छ । फूल फुल्नु, चिचिला लाग्नु ठूलो कुरा होइन । चिचिलाबाट दाना कस्तो–कत्रो बन्दछ,  त्यसले आकार र प्रभाव कस्तो बनाउँछ भन्ने कुरा महत्व हुन्छ । 
२०४६ सालको परिवर्तन खुकुलो र अप्राकृतिक हिसाबले भयो । त्यो परिवर्तनबाट राजनीति छाडा बन्यो र जनतामा अनुशासनबिहीनताको चरमतामा पु¥याउने काम गरायो । २०६३ पछि नेपालको राजनीति पूरै विदेशीको हातमा पुग्यो र दक्षिणी खेलको प्रभावमा कमजोरता देखियो । जसरी कंग्रेस आईले नेकांलाई खेलाए झैं कम्युनिष्टहरू पनि अधिनमा रहन्छन् भन्ने उसको बुझाई गलत सावित भयो । २०७२ को संविधान नामक बाइबलले त फ्रि तिब्बत समर्थकहरूलाई खुल्ला मैदान बनाउने काम गरेको थियो र यो चीनले अलि ढिलो बुझेको छ । नेपालमा चीनका उपल्लोस्तरका नेताको भ्रमणको मिति तय भयो र नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्तालाई प्रशिक्षण दिन चिनियाँ कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता नेपालमै आए । यो सरसर्ती हेर्दा ठूलो कुरा नलागेता पनि बाहिरबाट छिरेर राजनीतिक प्रशिक्षण र भ्रमणका क्रममा सेना तथा सुरक्षाकर्मीहरू समेत लिएर प्रवेश गर्न दिनु र गर्नुलाई सामान्य मान्न सकिन्छ र ? नेपालमा सेना र सुरक्षाकर्मीहरूको कार्यलाई कमजोर देखाउने काम गर्ने र गराउने अधिकार देशी–विदेशी दुवैलाई कदाचित छैन । 
भारत वा चीन कुनै पनि मुलुकका सेना र सुरक्षाकर्मीहरू नेपालको भू–भागमा प्रवेश गर्न पाउने सुविधा यहाँको सरकारले दिन्छ भने त्यो भन्दा ठूलो र अक्षम्य अपराध अरु केही हुनै सक्दैन । पाहुनालाई मेरो सुरक्षा हुने निश्चित विश्वास छैन भने उसले भ्रमण गर्ने कुरालाई विचार गर्न पाउने छुट उसैलाई रहन्छ, तर सेना वा सुरक्षाकर्मीसहित प्रवेश गर्ने अधिकार रहँदैन । साना–तिना गल्तीहरूले भयावह अवस्था सिर्जना नहोला भनेर अड्कल गर्नु नै दूरगामी भूल सावित हुनेछ । यो कदमले नेपाली जनताको मनमा संकट आयो र यो संकटले ठूलै धक्का दिन्छ भन्ने डर पलाएको मात्रै नभएर निराश नै बनाएकाले सत्ताधारीप्रति सशंकित हुनुपर्ने बनाइदिएको छ । 
नेपालका शासकहरूले हामीले देश चलाउन सकेनौं । हामीले राजनीति जानेनौं भनेर विदेशी प्रशिक्षक बोलाएका हुन् वा चीनको कम्युनिष्ट दलले राजनीति गर्न सिकाइदिन्छौं भनेर प्रशिक्षण दिन नेपाल छि¥यो । यो गम्भीर र शंकास्पद प्रश्न छ । नेपालको माटोलाई सुहाउने राजनीतिमात्रै आवश्यक छ, विदेशीले प्रशिक्षण दिएर चलेका राजनीतिक दलहरूको हैसियत के ? यसको उत्तर जनताले बुझ्न चाहन्छन् । अरुले माटो र बाटो जोगाएर राजनीति गरिराखेकोमा कलह, विद्रोह र आतंकको बाटोबाट प्रवेश गरेकाहरूलाई यत्ति ठूलो निर्णय गर्ने अधिकार कसले दियो ? जनताले सोध्न चाहेका छन् र यसको उत्तर सरकारमा बसेका प्रतिष्ठित व्यक्तिहरूबाट खोजिएको छ, तर उनीहरूले जनताको प्रश्नलाई सान्दर्भिक ठान्दैनन्, जनतालाई मान्दैनन्, किनकि साइँदुवा प्रवृत्तिले उनीहरूको राजनीति अघि बढेको छ । 
‘विनासकाले विपरीत बुद्धि’ नैतिकबिहीन अवस्थामा पुगिसकेको जो–कोहीले राम्रो वा नराम्रो के हो भनेर छुट्याउन सक्दैन । बाबाका भाइ काकाले सोध्नुहुन्थ्यो– ‘बिर्य दान गर्ने बाबु अनि गर्भाधान लिएर ९ महिना कोखमा बोकेर जन्म दिने आमा र दुवैको अथक प्रयासले योग्य र क्षमतावान् बनाइदिने मान्यवर हुन् कि ? धनार्जनको सहयोग दिएर दासताभित्रको हली र गोठालो बनाउने परको फिरङ्गी ठूलो हो ?’ अनायाशै आज यो पंक्तिकारलाई काकाको सम्झना गराउने काम शासकहरूले गराएका छन् । 
छिमेकी असल त्यो हो, ठेस् लागेर रगत बग्दा टिनचर आइडिन छर्किदिन्छ । परिआउँदा भारोपर्म, सरसापटी, दुःख र सुखमा सबैदिन सहयोग गर्नसक्ने छिमेकी हुन्छ । बाँकी सबैलाई समानताको रेडलाइनमा राख्दा उपयुक्त र खतरामुक्त होइन्छ, जुन काम स्व.श्री. ५ महेन्द्रबाट भएको थियो । पराधिनताको रिसल्ला चढ्नुभन्दा स्वदेशको गधाको बग्गीले आत्मसन्तुष्टी र गौरवता कायम रहन्छ । वीरताको चिनो, वीर गोरखालीको नाम आज इतिहासमा सीमित रहनु के उपयुक्त थियो ? साइँदुवाले बुझाउनु प¥यो । 
अगाडि सरेर अरुलाई नचलाऊ, तिमीलाई अरुले चलाउने प्रयत्न गर्दछ भने सीधा सम्झाऊ, माने उत्तम भयो, मानेन भने नछाड, यो हो, हाम्रा पूर्खाको नीति । अरुको सबै लिऊ, तर राजनीति, संस्कार, धर्म, परम्परा, संस्कृति कदापी नलेऊ, यो आफू र राष्ट्रका लागि कहिल्यै हितकारी हुनै सक्दैन । चेतना सबै प्राणीमा हुन्छ, तर विवेक सबैमा हँुदैन । मानवलाई चेतनशील प्राणी भनिन्छ, खै कसरी चेतनशील बन्यो त ?
कृष्णप्रसाद भट्टराईले भन्नुहुन्थ्यो– ‘मेरो विवाह भएको छैन, तर म कुमारै पनि छैन ।’ हो, विधिवत् कुरा तथ्यगतमा आधार लिन सकिन्छ । तर, कानूनी राज्य हो भने कानूनगत् नै चल्नु पर्दछ । आतंक र मिच्याइँको भरमा देशको काम हुँदैन र जनताले त्यसलाई मान्नु पर्दछ भन्ने पनि छैन । मुहानमा नै विमती छ भने बगेर आएका वा बीचमा पलाएका ऐंजेरुहरू प्रति उत्तरदायी बनिराख्नुपर्ने आवश्यकता छैन । त्यसैले म भन्छु– ‘तिमीहरूको ढिपी छाडेर सात दलसँग भएको र राजाले पनि स्वीकार गरेको ११ वैशाख २०६३ को सम्झौताको पालना गर्दै २०४७ को संविधानमा फर्क ।’ 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper