banner
banner

सीमाको मुद्दा ओझेल पारिदै

शाश्वत शर्मा -
मुद्दा ओझेलमा पार्ने षडयन्त्र हुँदैछ । केही हप्ता अघि छिमेकी भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्ने बित्तिकै त्यसको असर भारतका छिमेकी सबै मुलुकमा प¥यो । पाकिस्तानको भारतसँग काश्मिरको मामिलामा चित्त दुखाइ छ भने तत्कालका लागि नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकको मुद्दा उठेको छ । त्यसो त पूर्वमा एक नम्बर प्रदेशदेखि पश्चिमको सात नम्बर प्रदेशसम्मका नेपाली भूभाग मिचिएका छन् । भारतसँग टाँस्सिएका भूभाग २३ जिल्लाका ७१ स्थानमा भारतले अतिक्रमण गरेको छ । यही क्रममा भारतले कालापानी क्षेत्र आफ्नो नक्शामा पारेको हो । यही मुद्दाका कारण नेपालीले नेपालमा विरोधको आगो फुकेका छन् । यो मुद्दामा चीनले वार्ताबाट समाधान खोज्न नेपाललाई आग्रह गरेको छ । चीनले आफूले नेपालको कुनै पनि भूभाग नमिचेको स्पष्ट पारेको छ । यति बोल्न भारतले सकेको छैन ।
भारतलाई खुशी पार्नका लागि सीमाक्षेत्रमा चीनले नेपाली भूभाग मिचेको छ भन्दै चीनसम्बद्ध केही सामग्री जलाइएपछि चीनले यस्तो जवाफ फर्काएको हो । त्यसो त धेरै नेपालीको भर चीनमाथि छ । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन, नेपालको भूभाग मिच्दैन, ठूल्दाइको व्यवहार गर्दैन भन्ने विश्वास व्याप्त देखिन्छ । तथापि प्रायोजित रुपमा चीनसँग सीमा विवाद रहेको देखाएर चीनको बिरोध गरेर भारततिरको उग्रविरोध मत्थर पार्न खोजेको सहजै अनुमान लगाउन सकिन्छ । यस्तो चलखेलबाट नेपालीलाई प्रभावित बनाउन खोजिएको छ ।
हो, यो चाहिं आश्चर्य नै हो कि चीनको विज्ञप्तिमा नेपालको लिपुलेकबाट भारत र चीनले व्यापार गर्ने सहमति कसरी गरे, चीनले स्पष्ट पारेको छैन । यस मामिलामा चीनले पहिले नै गल्ती हो भने सच्याउन चीन तैयार रहेको जनाउ दिएको बताइन्छ, नेपाल सरकार नै उदासीन रहेको समस्या हो त्यो । कुनै बेला नेपालमाथिको कुनै पनि हमला चीनविरुद्ध ठानिने छ भनेर प्रतिक्रिया दिएको चीनले यसपाली कमलो विज्ञप्ति निकाल्नुले पनि नेपाल चीन सम्बन्ध चिस्सिएको रुपमा पनि बहस सुरु भएको छ । यद्यपि नेकपा सम्बन्ध बलियो छ भन्छ ।
सत्तासीनहरु कालापानी क्षेत्रमा भारतीय दावी निरस्त्र पारेर जसरी पनि गुमेका भूभाग नेपालीकै कायम गराउने बताइरहेका छन् । यसकारण नेपाली सडकमा उम्लिएको भारतविरोध र सरकारको आलोचना केही कम हुन थालेको छ । केही विश्लेषकहरु भन्छन्– हेर्दै गए हुन्छ, नेपालीको स्मरणशक्ति कमजोर छ, केही हप्तामै यो सब बिर्सनेछन् । प्रतिपक्षीको स्वरमा सत्रापक्षले स्वरमा स्वर मिलाइदिएको मात्र हुन् । नेपाली राजनीतिक क्षेत्र सीमा समस्याप्रति संवेनशील छँदैछैन । सत्तापक्षको उदासीनताको उदाहरण हेर्दा यो तर्क सहीजस्तो लाग्छ ।
सरकारले गम्भीर पहल गर्न चाहेको छैन, गरेकै छैन । वार्ताका लागि नेपालले अनुरोधसम्म गर्न सकेको देखिदैन । भारतले पनि यसबारेमा मुख खोलेको छैन । नेपाली नेताहरु भारतलाई चिढाएर आफूले आफ्नो पदीय महत्व किन कमजोर पार्ने, राजनीति किन बिगार्ने भन्ने मनस्थितिमा देखिन्छन् । भारतसँगै हात फैलाएर नेता भएकाहरुको यो मनस्थितिले गर्दा नेपालीको राष्ट्रवादलाई कमजोर पार्ने ठानिदैछ । तथापि जनतामा अपूर्व देशभक्तिको भावना देखिन्छ ।
जतिसुकै राष्ट्रिय सहमति बनोस्, जनएकता देखियोस्, सबै पार्टीको एकमत बन्यो भनेर फलाके पनि बहिर त्यस्तो देखाएर भित्र भित्रै यो मामिलालाइृ सामसुम पार्ने षडयन्त्र नेतागण नै गरिरहेका छन् । कतै तरुण, विद्यार्थी आन्दोलन मत्थर हुनुको कारण यही त होइन ? राजनीतिक रुपले देशमाथि घात गरिदैछ ।
देशको भूभाग खण्डित भयो भने यो ऐतिहासिक सराप बन्नेछ लोकतन्त्रमाथि, संविधानमाथि । यतिकुरा संवैधानिक सबै पार्टीले बुझ्न जरुरी छ । देशको माटोको सुरक्षा ओझेलमा पर्नु भनेको लोकतान्त्रिक पद्धतिमा खिया लाग्नु हो । मुलुक राम भरोसे हुनसक्दैन । देश जनताको हो, नेता जनताले चुन्ने हुन् । जनता सचेत छन् । जागरुक नेपाली नजाग्ने हो भने त्यो दिन टाढा देखिन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper