banner
banner

नारी कहिलेसम्म पुरुषको सम्पत्ति ?

देवी काफ्ले -
स्वास्नी मानिस त पुरुषका सम्पत्ति हुन्छन् । स्वयं आफ्नो जीन्दगी त आफ्नो हुंदैन भने अरू के नै होला उसको ? त्यसैले उसको आफ्नो भन्नु केही हुंदैन ।
जन्मेदेखि बाबुको अधीन, दाजुभाईको अधिी, युवावस्थामा प्रेमीको अधीन, बिहे पछी लोग्नेको अधीन, छोरा जन्मेपछी छोराको अधीन । स्वास्नीमानिसको जीन्दगीको दोस्रो नामै अधीन त्यो पनि पुरुषको । अब स्वास्नी मानिस स्वतन्त्र कहिले त ? कहिलेसम्म उ पुरुष शासित समाजको पुरुषको सम्पत्ति बनेर रहनु पर्ने हो ?जवाफ छैन ।
महिला पुरुषको खेलौना हुन्, उनीहरूलाई खुशी पार्नु उसको दायित्व हो,जुनसुकै रूपमा पनि महिलाले पुरूषलाई खुशी पार्नु या उनीहरूको मन बहलाउनु पर्छ नै भन्ने मान्यता शताब्दियौं देखि चलेको रीत हो ।
प्रत्यक्षरूपमा नभय अप्रत्यक्ष रूपमा अथवा एक कामुक महिला हरेक पुरूषको वरिपरि मडारिएको हुनुपर्ने मान्यता राखेर होला उन्नाइसौं शताब्दीमा आजको जस्तो सुन्दरी प्रतियोगिता हुँदैनथ्यो तर तैलीय चित्र बनाइन्थे, मूर्तीहरू बनाइन्थे र त्यहाँ प्रष्ट कामुकता झल्काइन्थ्यो । त्यस्ता चित्र, मूर्तीहरू अहिले पनि प्रशस्त देख्न पाइन्छन् ।
स्वास्नी मानिस असाध्य सुन्दरी हुनु पर्ने, चटक्क मिलेको जिउडाल, घांटी , छाती, नितम्ब, खुट्टा, आँखा, ओठ सबै मापदण्ड अनुसार हुनुपर्ने । नत्र पुरूषको लागि कुरूप ठहरिने, घृणित हुने । यो छिःछीः र दुर दुरको ब्यवहारबाट उन्मुक्ति पाउन र सबैले राम्री, सुन्दरी भनेको सुन्ने लालसाले बजारका महंगा सौन्दर्य प्रशाधन प्रयोग गरेर सुन्दरताको बजारमा मोलिन महिला तँछाडमछाड गरिरहेका छन् । तीनै प्रशाधनका कारण कुनै घातक रोगको शिकार बन्नु परे पनि पुरूषको अगाडी कृत्रिम सुन्दरी बन्नैपर्छ । पुरूषले जतिसुकै महिलाले त्याग गरेकी भयता पनि उसैको मातहतमा रहनुपर्छ, पुरूष भन्दा एक कदम पनि अगाडी जान महिलाले छुट पाउनु हुन्न भन्ने सोंच्दछन् ।
आजको हाम्रो समाजमा बलात्कार जस्ता जघन्य अपराधको बढ्दो बिकाराल परिस्थितिको रूप पनि कतै पुरूषवादी सोंचको उँचो पराकाष्ठा त होइन ? जब एउटी नवयौवना या बालिका बलात्कृत हुन्छे उसले न्याय खोज्न परीवारबाटै शुरु गर्छे र परीवारबाटै ईज्जतको दुहाई दिएर रोक्न खोजिन्छ किनकी बलात्कृत महिलालाई समाजले स्वीकार गर्दैन र दोस्रो पुरूषले बिहे गर्र्दैन । ईज्जत नामको हतकडीले बाँधेर चुप लगाउन खोजिन्छ । न्यायको लागि परिवारबाट घटना बाहिरियो भने समाजका सभ्रान्तहरूले पुरूषकै बचावट गर्छन् । स्वास्नी मानिस किन उत्ताउली भयर हिंडेको  ? किन परपुरूषसंग बोलेको ? खुब मस्की होला उ बेला अहिले हुलहुज्जत गरेर हुन्छ ? ईज्जत त आइमाईकै जान्छ चुपचाप बस भन्ने आदेश दिन्छन् ।
समाजको निर्णयमा चित्त नबुझे पछी पुलिसकहाँ गई भने अझ ठूलो बलात्कारमा पर्छे उ । त्यहाँ पनि न्याय गर्न तिनै समाजका ठेकेदार पुग्छन् र भन्छन् ईज्जत जाने आइमाईको हो केही न केही गडबडी उबाट नभै पुरूष जाई लाग्दैन त्यसैले मिलापत्र भन्छन् । त्यहाँ पनि निर्णय पुरूषबाटै हुन्छ । अपराधीलाई ससम्मान लिएर हिंड्छन् । पीडितालाई तिनै न्यायमूर्ति बनेकाले गिद्धे नजर लगाउँछन् ।
यदि पिडिता न्यायको लागि अदालत गै भने त्यहा त झनै पुरूष वकिलहरूबाट चिरा चिरा पारेर शाब्दिक चिर हरण गर्छन् । लाग्छ त्यो बेला ती वकिलहरू एउटी बालिकाको शरिरमाथि स्वर्गिय आनन्द लुट्दै छन् । कठघरामा सोधिने प्रश्नहरूले जुनसुकै महिलाको चिर हरण हुन्छ । यस्ता घटना प्राय भारतमा हुनेगर्छ । पुरूषबाट हुने यस्ता घटनाले र बलात्कारका केशहरू ज्यादा पुरूष वकिलले हेर्ने हुनाले पनि होला महिलाले न्याय हैन आफ्नो अन्तर्आत्मा मार्छे । अन्ततः केहि महिला आत्महत्या गर्न बाध्य हुन्छन् किनकी उनीहरूलाई समाजले ब्यभिचारीणी र कुलंगार्नीको उपमा दिएको हुन्छ । एकपल्ट बलात्कृत भैसकेकी हो अब के फरक पर्छ र हामीलाई पनि चान्स दे भन्ने दुष्टात्माको कमि हुंदैन ।
पुरूषले बलात्कार किन गर्छ ?
शायद ऊ भित्रको अन्तर्आत्मा मरेको हुन्छ कुनै न कुनै बेला । नत्र सामान्य अवस्थामा त त्यस्ता दुब्र्यवहार सोचेको हुंदैन अवश्य पनि । जब उ भित्रको अन्तर्आत्मा  मर्छ अनि उसमा नकारात्मक सोंच आउँछ । न आफू बाबु भयको हेक्का राख्छ न त दाजु । जो भए पनि उसको अगाडीको स्त्री मात्रै देख्छ र आफ्नो यौन प्यास मेटाउने प्रयत्न गर्छ । न त उसले सामाजिक दायरा हेर्छ न त उसले नैतिकता सम्झन्छ । उसमा त त्यो बेला सिर्फ स्त्रीको छाती, योनी मात्रै देख्छ फलत आफ्नो मर्दानापन कुनै स्त्री जाती माथि थोपर्छ । यति हुँदाहुँदै पनि ईज्जत त्यो स्त्रीको जान्छ जसको अस्मिता अर्काले जबरजस्ती लुट्छ । त्यो अपराधी पुरूषको ईज्जत त झन माथि पो उकासिन्छ । अब ईज्जत अपराध गर्ने पुरूषको जाँदैन महिलाको जान्छ भने पुरूषको कुकृत्यको ईज्जतको भार महिलाको योनीले बोक्नु पर्ने ? ब्यभिचार गर्ने पुरूष, किन मानिस महिलाको मात्रै थाप्लोमा ईज्जतको भार बोकाउन चाहान्छ ?
पुरूषवादी सोंचले ग्रस्त हामी अझै पनि पुरूषलाई नै सर्बेसर्वा गराउन लागिरहेका छौं । किन ? बलात्कारको पाटो त छुट्टै भयो अर्को यो पुरूष अधिनस्थ महिलाहरूको पनि पुरूषलाई पुरूष बनाउन कम हात छैन । ती महिलाले आफूलाई त्यतिबेला स्वतन्त्र ठान्छिन् जब उसको पतिले या प्रेमीले होटलमा खान लैजान्छ,घुमाउंछ, इच्छा अनुसारको सामानहरू किनी दिन्छ । अनि उनलाई साथीहरूसँग खुलेर हिंड्न दिन्छ । तर महिलाले यो सोचेकी हँुदिनन् की मलाई यी कुराहरूले म भित्रको नारीत्वले आफ्नो स्वतन्त्रता गुमाइरहेको छ भन्ने ।आफूमा भयको क्षमता र शक्ति सामर्थ्य एउटा राम्री शब्दैमा बिलयमान गराईदिन्छन् । हुनत जन्मैदेखि नारीहरू कोमल हृदयका हुन्छन् त्यसैले त उनलाई पृथ्वीसँग तुलना गरीएको छ । जसरी हामी मानवले पृथ्वीमा जोत्छौं, खन्छौं, थुक्छौं, सारा बिकार फाल्छौं तर पृथ्वीले कहिले पनि गुनासो गर्र्दैन त्यसैगरी नारीले पनि पृथ्वी सरह पुरूषका सारा बिकार, उसको थिचोमिचो हाँसेर, कुनै गुनासो बिना नै सहनु पर्छ, नारी अन्या हो उसले कुनै बिरोध गर्नु या पुरूषभन्दा अगाडी छलांग मार्नु पाप हो भनेर पाप नामको हतकडी लगाएर बन्धनमा राख्न चाहन्छ । त्यो बन्धनलाई नारीले पनि सहर्ष रूपमा स्वीकार गरी दिनाले पनि नारी स्वतन्त्र हुन सक्दिन । नारी स्वतन्त्रताको लागि संघर्ष गरीरहन्छे तर स्वतन्त्रताको बास्तविक अर्थमा ऊ कहिले पुरूषबाट स्वतन्त्र हुन सक्दिन । कुनै न कुनै रूपमा उसमाथि दवाव रहिरहन्छ कि पुरूष नै सर्वेसर्वा हो । नारी स्वतन्त्र हुँदी हो त पुरूषले गरेका अत्याचारको, उसको कुदृष्टिको खुलेर बिरोध हुँदो हो । पुरूषले गरेको गल्तीको सजाय नारीले मात्रै भोग्नुपर्ने थिएन । गल्ती दुबैबाट हुन्छ भने सजायं पनि दुबैलाई हुनुपर्ने हो ।
 जुनसुकै पदिय दायित्व बोकेको भए पनि पुरूषले नारीलाई हेर्ने एउटा तुच्छ दृष्टिकोण छ । नातागोता, हाकिम कारिन्दा, मन्त्री, कार्यकर्ता जो भए पनि पुरूषको चाहना यौन सन्तुष्टि नै हो ।
पुरूषले एउटा मात्रै नारीलाई सम्मान गरेको हुन्छ ती हुन् आमा । हालसाल त त्यो पनि पापको भड्खालोमा हाल्न पछी परेका छैनन् । उच्च तहका ब्यक्तिहरूका पनि यौन घटना धमाधम बाहिर आइरहेका छन् तर सबैको दृष्टिकोण नारीमै समाहित छ  । सम्बन्धित महिला नै चरीत्रहिन हो, बेश्या हो, अथवा त्यो महिला मात्र दोषी हो । यदि महिला मात्र दोषी हो भने त्यहाँ सहभागी हुन पुरूष किन जान्छ ? के महिला एक्लै बेस्या हुन्छे ? पुरूषको सहभागिता बिना नै महिला कसरी बेस्या हुन्छे ?
तमाम प्रश्नको जालो फुकाउने क्षमता ममा छैन । नेतृत्व वर्गले यस बिषयलाई छलफलमा ल्याओस् । संविधानविद, मानवाधिकारवादीहरु यस विषयमा छलफल, बहस गरुन् । नारी स्वतन्त्रता या हक अधिकारका बिषयमा छलफल गरोस् । हरेक क्षेत्रमा उपहारका रूपमा या दान स्वरूप दिइएका आरक्षणले नारी स्वतन्त्र हुन कदापी सक्दिन । उनीहरूलाई साथको जरूरत छ, सहयोगको जरूरत छ र हौसललाको जरूरत छ । ता कि नारीले आफ्नो क्षमता अनुसार अघि बढ्न सकुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper