banner
banner

गणतन्त्र हात्ती कि हात्तीछाप चप्पलजस्तो

राजन कार्की -
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए– प्रभूजी मलाई भेडो बनाउ । २०४६ सालपछिको ३० वर्षे शासनको कहालीलाग्दो तस्वीर हेर्दा महाकविको लेखन र वर्तमान उस्तै देखिन्छ ।
सन १८५० मा जंगबहादुरले बेलायतमा नेपालको राष्ट्रियताको झण्डा गाडेका थिए । आज त्यति सम्मान पनि लोकतान्त्रिक सरकारले कायम राख्न सकेन । भारतले जम्मु काश्मिरलाई दुई राज्यमा ल्याएपछि जारी भएको नक्सामा नेपालको कालापानी, लिम्पियाधुराक्षेत्रका ३ सय ७२ बर्गकिलोमिटर क्षेत्र भारतमा गाभिएको देखाइएको छ । यति हुँदा पनि नेपाल सकार बोल्न सकेन । गतहप्ता परराष्ट्रमन्त्रीले विज्ञ, विशषज्ञ र ठूला पत्रकारलाई बोलाएर बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ भन्ने विषयमा छलफल गराए तर त्यति महत्वपूर्ण छलफलमा कालापानी, लिम्पियाधुरा, लिपुलेकका विषयमा कसैले सोधेनन्, न त सरकारले नै कुरो उप्कायो । नेपाल सरकार छ, सिंहदरवारमा छ । सीमामा छैन । जनजीवन र जनचासो, जनअपेक्षा र जनविश्वासमा सरकार छैन । सरकार भ्रष्टाचार, अनियमितता, अधिनायकत्वमा छ, बिधिको शासन र सार्वभौमिकताको रक्षा सुरक्षामा छैन ।
राजा महेन्द्रले स्थापित गरिदिएको दौत्य सम्बन्धको बिस्तारित संख्या १४७ भन्दा बढी मुलुकमा पुगिसकेको छ । तर यो संख्यात्मक संख्यामात्र हो, गुणात्मकता घट्दै्र गएको छ । राजा महेन्द्र, वीरेन्द्रकालमा नेपालको आवाज राष्ट्रसंघमा कान थपेर सुनिन्थ्यो । नेपालले के बोल्छ भन्ने जिज्ञासा हुन्थ्यो । आज नेपाल सरकारका प्रधानमन्त्री अथवा परराष्ट्रमन्त्री राष्ट्रसंघको महासभामा सहभागी त हुन्छन्, अमेरिकी राष्ट्रपतिसँग सेल्फी फोटो खिचेर फर्कन्छन् । कम पढेका राजा महेन्द्रले त अमेरिकी संसदमै भाषण गरेका थिए । त्यो कूटनीतिक ओज र ओजन आज छैन । नेपालको प्रभाव शून्य छ ।
अमेरिका, भारत, चीन, इयुदेखि स्केण्डिनेभियन मुलुकहरु नेपालमा इण्डोप्यासिफिकदेखि अनेक नीति, रणनीति लिएर नेपाली भूमिको सामरिक महत्वको उजागर गरिरहेका छन्, नेपाल भने नगरबधुको छुनुकमुनुकमा छिल्लिरहेको छ । कहाँ छ नेपालीत्वको गम्भीरता ?
लोकतन्त्रमा त नेपालको महत्व झन बढ्नुपर्ने हो । प्रचण्ड, देउवा, ओलीजस्ता होनहार नेताहरुले प्राविधिक चुनाव जित्छन्, जनताको विश्वास जित्न सकेनन् । राष्ट्रको अभिभाकवत्व ग्रहण गरेर राजनेता बन्न सकेनन् । जनताको सेवक हुनुमा लज्जाबोध गर्ने नेताहरु विदेशीको भरिया बन्ने तत्परताका कारणले नेपालको इज्जत विश्वमञ्चमा क्षयीकरण हुँदै गएको हो ।
१९०३ असोज ६ गते रातिको कोतपर्व भएको थियो । कोतपर्वबाट जंगबहादुरको उदय भएको हो । त्यतिबेला तलवार, राइफल, खुकुरीले ३० देखि ४० जना काटिएका थिए । काटिनेमा प्रधानमन्त्री फत्तेजंग शाह, काजी दलभञ्जन पाण्डे, काजी अभिमान सिंह राना मगर, काजी वीर केशर पाण्डेलगायतका थिए । मार्न लगाउने जंगबहादुर राना र उनका समर्थकहरु बमबहादुर कुवर, भक्तवीर कुवर, बद्री नरसिंह कुवर, जयबहादुर कुवर, जगत शमशेर कुवर, धीर शमशेर कुवर, राना महेर अधिकारी, भोटु घनेको टोली थियो । १ सय ४ वर्षे राणा शासन अन्ततः ढल्यो, राजा र जनताको जागरुकताले ढाल्यो ।
ती राणाहरु ००७ सालमा तितरबितर हुनपुगे । ०१७ सालको परिवर्तनमा मान्छे काटिएनन्, ०३७ सालको जनमत संग्रहमा पनि मान्छे काटिएनन्, न त ०४६ सालमा नै मानिस काटिए । राज्यविप्लवमा लागेका केही सजायका भागी भए, जुलुस, नाराबाजी र भीडभाड भयो, बिद्रोहको ठूलै स्वरनिस्के पनि ठूलो नरसंहार हुनपाएन ।
२०५२ साल फागुन १ गतेदेखि माओवादी जनयुद्ध सुरु भयो र २०६३ साल मंसिर ५ गते बृहद शान्ति सम्झौतासम्मको १० वर्ष ९ महिना ५ दिनमा जे जति मानिसहरु काटिए, मारिए, त्यो नेपालको इतिहासको कालो कालखण्ड हो । जनयुद्धको यस अवधिमा २०५५ मा ओखलढुंगामा उज्जनकुमार श्रेष्ठ, २०५८ मा हेडमाष्टर मुक्तिनाथ अधिकारी, २०६० सालमा डेकेन्द्र थापा, २०६१ मा सम्पत लाल चौधरी, २०६३ मा प्रेमबहादुर थोकर, २०६२ सालमा माडीमा सार्वजनिक बस बिस्फोटलगायतका हत्याकाण्ड भुल्नै नसकिने नरसंहार हुन् । जनयुद्ध र जनआन्दोलनका महारथीहरुको हातमा शासनसत्ता आयो । तिनीहरु न बिधिमा बस्न सके, न बिधि बसाल्न सके, न निधि नै बन्न सके । फलतः जनता मारिने क्रमको निरन्तरता कायमै रह्यो ।
यो नरसंहारको जगमा लोकतन्त्र आयो, लोकतन्त्र कम हुकुमी शासनको जन्म भएको छ । यति ठूलो क्रान्तिबाट आएको पद्धति, बनेको संविधान र संवैधानिक सरकार, हिन्दी उखानजस्तो– खोदा पहाड निकला चुहा भएको छ । जुन जोगी आए पनि कानै चिरिएका । 
’हिस्ट्री अफ नेपाल, ट्रान्सलेटेड फ्रम पर्वतीया’ भन्ने उक्त पुस्तकमा डेनियल राइटले लेखेका छन्– राजा लक्ष्मीनरसिंह मल्ल (१६२०–१६४१) को समयमा काजी भीम मल्ललाई अकारण भीम मल्ललाई मृत्युदण्ड दिएपछि सती जानु अघि उनकी श्रीमतीले दरबारमा कहिल्यै पनि विवेक नहास् भनेर सराप दिएकी थिइन् । पछि पछुतो मानेर राजा पागल भएर मरे । त्यो सरापबाट आज पनि नेपाल मुक्त हुन सकेको देखिदैन ।
प्र्रmेन्च दार्श्निक रेमन्ड आरोनले १९५५ मै बुद्धिजीवी वर्गलाई सचेत गराउन दी ओपियम अफ दी इन्टलेक्चुअल भन्ने पुस्तकमा लेखेका छन्– धर्मलाई अफिम ठान्ने मार्क्सवाद स्वयं अफिम जस्तै हो । नेकपा सत्ता, शक्ति र सम्पत्ति अफिममा लठ्ठिएको देखिन्छ ।
जे होस्, लोकतन्त्र आयो । २०६३ पछिका घटना हुन्, रौतहटको ज्यूँदै मानिस इटाभट्टामा पोलिएको । बलात्कार, हत्याका घटना पनि भएका छन् । जनयुद्धकाल अघि, जनयुद्धकाल र जनयुद्धपछिको वर्तमान स्थितिमा पनि मानिसको मूल्य बिधिको तराजुमा तौलने मानवाधिकार युगमा प्रवेश गरेकै छैन । राष्ट्रको निधारमा राजा फालेर लोकतन्त्रको साइनबोर्ड झुण्ड्याइएको छ, यो लोकतन्त्रमा न बिधिबिधान छ, न लोकाचार, न लोकले देख्ने र अनुभूति गर्ने लोक सरकार नै छ ।
यहीकारण हो, बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छ्यानब्यान गर्न सकेनन् । यसमा सबैभन्दा ठूला दोषी नागरिक समाजका अगुवा र बुद्धिजीवीहरु पनि छन् । तिनले आमनागरिकको प्रतिनिधित्व गरेर विवेकपूर्ण दबाब दिन सकेका भए आज पीडितले न्याय र पीडकले सजाय पाइसक्थे । विश्वले नेपाल दण्डहीन मुलुक भनेर भन्न सक्ने स्थिति रहने थिएन ।
आमनागरिकका तर्फबाट वकालत गर्ने कोही नभएकाले राजनीतिक बर्ग छाडा साँढे हुन पाएका छन् । तिनले जवाफदेहीता निभाउन परेको छैन । जसले सजाय पाउनु पर्ने थियो, उनीहरु नै सत्तामा छन्, कानुन हातमा लिएर बिधिको शासनलाई खेलौना बनाएर खेलाइरहेका छन् । देशको दुर्गतिको मुख्य कारक नागरिक समाज र बुद्धिजीवी हुन्, जो लालच र स्वार्थका लागि दल र नेताका गर्नै नहुने अपराधहरुलाई जे खायो पचायो गरिरहेका छन् ।
सबैभन्दा असफल राष्ट्र इथिओपिया थियो । केही वर्षमै इथिओपियाले काँचुली फेरिसक्यो । हुनुपर्ने नैतिक आचरण, हामी पद्धति फेरेर दुर्गति भोगिरहेका छौं ।
२०३२ सालमा गलैंचा काण्ड भएको थियो, छानबिन अधिकारी थिए अनिरुद्रप्रसाद सिंह । उनी भन्थे– घूस खाने र अपराध कर्म उज्यालोमा गरिदैन । २०७६ सालमा आउँदा घूस खाने र अपराध कर्म दिनदहाडै हुनथालेको छ । यो लोकतान्त्रिक नयाँ नेपाल हो कि जंगलीराज ? केही वर्षअघि जापानमा लकहिड कमिशन काण्ड भयो, भारतमा बोफोर्स काण्डको पर्दा खुल्यो । दुबै देशमा प्रधानमन्त्री दण्डित हुनपुगे । नेपालमा जहाज खरिद काण्ड, फोरजी काण्ड, एनसेल काण्ड, बालुवाटार जग्गा काण्ड, टुँडिखेल भाडामा लगाउने काण्ड, सुनकाण्ड, बलात्कार हत्याकाण्ड, जिउँदै मान्छे पोल्ने काण्डदेखि केमात्र भएन । यति ठूला ठूला काण्ड भइरहेका छन्, एकजनालाई दण्डित गरिएको छैन । ७ महिनाको बालिकादेखि ७० वर्षकी बृद्धासम्म बलात्कारमा परिरहेका छन् । भ्रष्टाचार शासन, प्रशासनमामात्र होइन, विश्वविद्यालयमा समेत महामारीका रुपमा फैलिएको छ । बेइमानीको आगो दन्किरहेकै छ, अलोकतान्त्रिक डढेलो निभाउन छाडेर लोकतन्त्रको बाजा घन्किरहेकै छ । मानौं नेपालमा निरो अनैतिकताको संगीतमा लीन छन् ।
फ्रान्समा लुइस चौधौं राजा, म नै स्टेट हुँ भन्थे । आज नेकपाको सरकार म नै स्टेट हुँ भनेर मुलुकबासीलाई अरिंगालले टोकिरहेछ, बोल्नेजतिलाई छौंडा छाडेर सताइरहेछ ।
प्रतिपक्षमा नेपाली कांग्रेस छ, प्रत्येक असामाजिक, अराष्ट्रिय प्रकरणहरुमा मुछिएको छ । त्यसैले चुनाव हा¥यो र प्रतिपक्षसँग राष्ट्रिय मुद्दा उठाएर लोकतन्त्रको गरिमा र महिमा कायम गराउने नैतिक बल देखिदैन । नेपाली कांग्रेस भारतको भवानीपुरको भीडबाट जन्मिएको हो र आज पनि त्यही भीडभन्दा अगाडि बढ्नसकेको छैन । नेकपा विचारको सैद्धान्तिक आदर्शमा अधारित पार्टी रहेन । नेकपाका सञ्चालकहरुले राजनीतिलाई धन्दा बनाए । २०६३ सालको १९ दिने जनआन्दोलनदेखि राजाको विरोध भयो, राजालाई निरंकूश भने, राजतन्त्र फाले, आजका दिनसम्म पनि राजनीतिको मुद्दा किनारा लाग्न सकेन । राजनीति हिन्दुराष्ट्र र राजसंस्थाको वरिपरि नै छ । राजसंस्था र हिन्दुराष्ट्र फालेको कारण, यसको बैधानिक आधार देखाउन न कांग्रेसले सक्यो, न नेकपाले ।
लोकतन्त्र तर्साइ खाने गल्लीको सान्चा पहलमानको मुखुण्डो बनेको छ ।
लोकतन्त्रमा कानुन बलियो हुनुपर्छ । कानुन कुल्चने नेता र तिनका तलुवाचाट बलियो हुनु भनेको डरलाग्दो जहाँनियाँ शासन हो । त्यसकारण पनि नेपाली एकता र राष्ट्रियता जगेर्ना गर्नका लागि एउटा जंगे त चाहियो, चाहियो । नेताले सकेनन्, अव जनताले केही गर्नुप¥यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper