banner
banner

देशभन्दा गणतन्त्र ठूलो ?

निगमकुमार कार्की - 
देशभन्दा गणतन्त्र ठूलो हुनसक्छ ? पद्धति देशलाई सुसञ्चालनका लागि अपनाइने हो । देश पद्धतिका लागि सती जान सक्दैन । गणतन्त्रवादीहरु कूशासन चलाएर गणतन्त्रको बखान र व्याख्या गरिरहेका छन् । जुन अतिशयोक्ति हो ।
कुनै पनि व्यवस्था आफैमा खराव हुँदैन । खराव यसका सञ्चालक हुन्छन् । सञ्चालकको असफलताले व्यवस्था बदनाम हुनेगर्छ । पञ्चायतमा पञ्चहरु नैतिकहीन निस्के, पञ्चायत गयो । बहुदलमा किन १२ वर्षे कूशासन भयो र यो समयलाई कालरात्रि भनिन्छ । सञ्चालकहरुको देशप्रतिको गद्धारीका कारण हो । अहिले लोकतन्त्र छ, यसलाई प्राप्त उपलव्धि मान्नेहरु स्वयम् भ्रष्ट बनेका छन्, कूशासनका कारक रहेका छन् र देशभन्दा गणतन्त्रलाई महत्व दिइरहेका छन् । यहीकारणले गर्दा देश कमजोर, देशवासी कमजोर बनेका हुन् ।
गणतन्त्र ठूलो कि राज्य ब्यवस्थापनको सुशासन ठूलो ? यो प्रश्न पनि समयले उठान गरेको छ । राष्ट्र र जनताको शासनमा चुकेंको गणतन्त्रमा सत्ता परिवर्तन वा जनआन्दोलनबाट राज्य ब्यवस्था परिवर्तन नहुने हो र ? गणतन्त्रकै नाममा देश र जनताको अस्तित्व र समृद्धि कहाँ साट्न सकिन्छ र ? गणतन्त्रकै नाममा राष्ट्र विलय हुने राजनीति गर्न र दिन सकिन्न, सबैलाई चेतना भया ।
राजा हुदैंमा निरंकुश हुने र गणतन्त्र हुँदैमा जनदमन अत्याचार, भ्रष्टाचार नहुने होइन । इमान र नैतिकतामा भर पर्ने विषय हुन् । नयाँ नेपाल बनाउनेहरु आज अनैतिक भएकै कारणले गणतन्त्र जनविरोधी व्यवस्था बन्दै गएको छ ।
काँग्रेसीको प्रशंसा गरे कांग्रेसी भइने, नेकपाको प्रशंसा गरे नेकपा भइने र राप्रपाको प्रशंसा गरे राप्रपा भइने र तिनका लागि असल ठहरिने परिपाटी देखिन्छ । गुण र दोषका आधारमा राम्रो र नराम्रो छुट्याउने चलन हटेको छ । राजाले नेपाल निर्माण गरे । राजाहरुले यो देशमा गरेको योगदान, राष्ट्र र जनताको हित, कुशल राज्य ब्यवस्थाको कुरा उठाउनेहरुलाई विभेद गरिन्छ । सत्य त यही हो कि राजाहरुले थेगिदिएका थिए र आजका शासकहरुले शासन गर्न पाएका छन् ।
जनताको आवाज सुन्नुपर्छ, जनताको अपेक्षा पूरा गर्नुपर्छ । गणतन्त्र त्यही हो । यही नभएकाले आज जनताले राजा जिन्दावाद भनेका हुन् । जनताको आवाजलाई गणतन्त्रको दुन्दुभी बजाएर दबाउन सकिन्न । जनताले परिवर्तन चाहे, ल्याए । परिवर्तन भयो । परिवर्तनले जनताका अपेक्षा पूरा गरेन, असन्तुष्टि पोख्न थालेका छन् । भोलि जनताले अर्को आन्दोलन र परिवर्तन ल्याउन सक्छन् ।
जनताको आवाज जसले सुन्छ, शासन उसैको हुन्छ । जनताले राजा भन्छन् र राजले म सन्तुष्ट पार्छु भन्छन् भने राजतन्त्रमा किन खरावी देख्ने । हालै जापानजस्तो सम्पन्न देशमा राजाको राज्याभिषेक भयो, के खराव भए यस्तो हुन्छ ?
आज पनि बेलायत वा थाइलेण्डमा राजतन्त्र छ । राजतन्त्रले देशको रक्षा र जनताको आवाज सुनेको कारणले त्यहाँ राजतन्त्र लोकप्रिय रहेको हो ।
राजतन्त्र फालेको थुप्रै राजा जन्माउनका लागि होइन । राजतन्त्र किनारा लगाएको जनतामाथि शोषण बढाउन र अत्याचार होस् भनेर होइन । जनताले अधिकाधिक सुविधा पाउँछन् भन्ने आशले जनताले गणतन्त्रको समर्थन गरेका हुन् तर आज गणतन्त्र दिवसमा जनता देखिदैनन् । गण नै नदेखिने व्यवस्था कसरी गणतन्त्र हुन्छ, यो नेपालको अचम्मको परिदृश्य बनेको छ ।
विश्वमा गणतन्त्र भएको मुलुक सिरिया, युगान्डा, सुडान, पाकिस्थान र अफगानिस्थानमा भईरहेको नरसंहारकारी घटना र अहिलेको नेपालमा आएको गणतन्त्रीय शासन र शासक नेताबाट भएको भ्रष्टाचार, हत्या, हिंसाको संरक्षणबाट नेपालको गणतन्त्र असफल शिद्ध भइसकेको छ ।
कूशासनका अनेक रुप छन् । तस्कर, माफिया, हत्यारा, भ्रष्टाचारीमाथि कारवाही कमजोर छ । असामाजिक तत्वहरु समाजमा हावी भएका छन् । राजनीतिक पार्टीहरु नै अपराधी लुकाउछन् । अपराधी बचाउँछन् । नेपाली समाज र शासन बिस्तारै राजनीतिको अपराधीकरणबाट ग्रसित भइरहेको छ ।
ठूला ठूला नेताहरु आफैं भूँमाफियाँ, दलाल बनेका छन् । ठूला ठूला नेता आफैं राष्ट्रको ढुकुटी लुट्न लागि परेका छन् । राजाले बनाइदिएको बालुवाटारको जग्गा होस् कि खुलामञ्च, राजनीतिक अपराधिकरणले खायो । जहाज खरिदकाण्डदेखि सुनकाण्डसम्ममा राजनीति नै अपराधिकरण हुनपुग्यो । यस्तो चर्तिकलाले लोकतन्त्र लुटिखाने व्यवस्थामा परिणत भएको छ । राम्रो काम भनेर लोकतन्त्रको १३ वर्षमा एउटा पनि उदाहरण देख्न पाइएन । लोकतन्त्र अपराधीको हातमा पुग्यो । राज्य शक्ति जनताको अपेक्षा र आकांक्षा पूरा गर्नुभन्दा पनि अपराध, भ्रष्टाचार, लुट, तस्करी गर्ने र आफ्नो पक्षका बचाउँ गर्नमै दुरुपयोग भइरहेका छन् ।
लोकतन्त्रलाई जनताको शासन भनिन्छ तर जनताले न्याय पाइरहेका छैनन् । समानता र सर्वहाराको भाषणको वर्षा हुन्छ, सिमान्तकृत, महिला, गरिब नै बढी शोषित पीडित भइरहेका छन् । गरिब अझ गरिब हुँदै जानुले लोकतन्त्र लोकका लागि होइन, धनाध्ये र नवधनाध्येका लागि हो भन्ने प्रमाणित भइसक्यो । ठगी धन्दा ब्याप्त छ । गरीवलाई जीवन धान्न कठिन परिरहेको छ महँगीमा । करको भार बढाउँदै तिर्न बाध्य पारिएका छन् । पहुँचवालाहरुलाई कर छुट हुनेगर्छ । कमिशन दिनरात चल्छ । दलाली दिनरात चल्छ । गरिब देश र गरिब जनता उठ्न सक्ने अवस्था रहेन । हाम्रा नेताहरु कम्युनिस्ट विचार दर्शन भाषणमै बिताउँछन् । सर्वहाराको सरकार छ, सर्वहाराका नेता हुँ भन्नेबाटै बढी भ्रष्टाचार, लुट, दमन, अपराध हुनु दुर्भाग्यपूर्ण यथार्थ हो । राष्ट्रियता कमजोर हुनुमा पनि कम्युनिष्टहरु नै बढी जिम्मेवार छन् । यिनले विदेशनीतिलाई समेत हावादारी बनाइदिएका छन् ।
छाना भत्काएर फाले । घामपानीको ओत बन्न सकेनन् यी नेताहरु । जनताबाट चुनिएको नाममा निरंकूशता लादिरहेका छन् । यो अति हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper